आन्तरिक झगडाकै कारण कांग्रेस समाप्तितिर उन्मुख
काठमाडौं । देशकै पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा इतिहासकै सबैभन्दा ठूलो क्षति बेहोरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु देउवालाई कुटपिट गर्नुका साथै घर तोडफोड र आजगनी गरेका थिए । त्यो आगजनीका क्रममा देउवाको घरबाट पैसा जलेको भिडियो सार्वजनिक भएको थियो ।
सो विषयलाई लिएर कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले पार्टी सभापतिले तुरुन्त राजीनामा दिनुपर्ने र विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरेका थिए । त्यसपछि देशभरका ५४ प्रतिशत कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षेर संकलन गरेका थिए । तर, विशेष महाधिवेशनको विषयलाई बेवास्ता गर्दै सभापति देउवाले कार्यवहाकको जिम्मा तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई दिएर आफू उपचारको लागि सिंगापुर गएका थिए । यता, पूर्वबहादुर खड्काले नियमित महाधिवेशन गर्ने तयारी गरिरहेका थिए ।
तर, पार्टी सदस्यता नविकरण र नयाँ सदस्य वितरणमा विवाद सिर्जना भएपछि नियमित महाधिवेशन वैशाखमा गर्ने भनेर सारिएको थियो । त्यसै विषयलाई लिएर महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि नै विशेष महाधिवेशन गरेर भएपनि नेतृत्व परिवर्तन गर्ने अडान लिएपछि २०८२ पुस २७–३० मा विशेष महाधिवेशन सम्पन्न गरेको थियो । सो महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेको थियो । त्यसको आधिकारिकताको लागि निर्वाचन आयोगमा बुझाएपछि तत्कालीन सभापति देउवा पक्षले आधिकारिकता नदिन निर्वाचन आयोगमा उजुरी दिएको थियो । तर, निर्वाचन आयोगले काग्रेसको चारतारे झण्डा र रुख चिन्हसहित थापालाई आधिकारिकता दिएको थियो ।
थापा सभापति भएपछि गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको टिकट उनैले वितरण गरेका थिए । छोटो समयमा टिकट वितरण गर्दा सभापति थापाले तत्कालीन संस्थापन पक्षलाई बाइपास गरेर आफ्ना पक्षलाई बढी प्राथमिकता दिएका थिए । विशेष महाधिवेशन र टिकट वितरणकै कारण देउवापक्ष रुष्ट हुन पुगेको थियो । त्यसले गर्दा तत्कालीन संस्थापन पक्ष र थापा पक्षबीच भित्रभित्रै घम्साघम्सी चलेको थियो । देउवा र थापा पक्षको भिडन्तले गर्दा डा. शेखर कोइराला पनि निर्वाचनमा नराम्रोसँग पराजित हुन पुगे ।
कांग्रेसभित्र विगत लामो समयदेखि संस्थापक्ष र इतरपक्षबीच दुई गुट भए तापनि यसपटक विशेष महाधिवेशनले गर्दा पार्टी फुटेको जत्तिकै असर परेको थियो । संस्थापन पक्ष र इतरपक्षको समूह पनि तितरवितर भएको थियो । एकातिर जेनजी आन्दोलनमा भ्रष्टाचार कुशासनको आरोप कांग्रेसले खेपिरहेको थियो भने अर्कोतिर विशेष महाधिवेशन गरेर आन्तरिक झगडा चर्किएको थियो । त्यस्तो अवस्थामा निर्वाचनमा जाँदा विशेष महाधिवेशनबाट नयाँ जोशजाँगरसहित आएका सभापति थापा र उपसभापति शर्माले कांग्रेसलाई मिलाएर मात्रै निर्वाचनमा जानुपर्ने थियो । त्यसको लागि निर्वाचनलाई केही समय पर सारेर भएपनि पार्टीलाई एकढिक्का बनाउन जरुरी थियो ।
तर, ५४ प्रतिशतको दम्भमा देउवा पक्षलाई बाइपास गरेर निर्वाचनमा होमिँदा थापा आफै नराम्रोसँग पराजित भएका छन् । थापा आफू मात्रै पराजित भएनन् कि सिंगो कांग्रेस नै ध्वस्त बनाएका छन् । सभापति थापाले कांग्रेसलाई त नामेट बनाए नै त्योसँगै निर्वाचन सकिएको १५ दिन हाराहारी बितिसक्दा पनि नैतिकताको आधारमा सभापतिबाट न राजीनामा दिएका छन् न त मतदाता र शुभेच्छुकलाई धन्यवाद नै दिएका छन् ।
उल्टै आफू चुपचाप बसेका छन् भने कांग्रेसकै नेता÷कर्ताहरु कसैले राजीनामा दिनुपर्ने विषय उठाएका छन् त कसैले राजीनामा दिनुपर्ने तर्क गरिरहेका छन् । पार्टीभित्रको बेथिति र विकृतिभन्दा पनि विशेष महाधिवेशनकै कारण आज कांग्रेस यो अवस्थामा गुज्रिन पुगेको छ । उता, तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशनको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको आधिकारिकताबारे सर्वोच्चमा रिट दायर गरेको थियो । त्यो रिटको सुनुवाइ अझै भएको छैन ।

