सम्पत्ति छानविन पूर्व नेता र कर्मचारी गर्ने की बहालवाला मन्त्रीहरुको गर्ने ?

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणा तानिएका छन् । पटक पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाइरहँदा हालैमात्र सार्वजनिक भएको मन्त्रीहरुको सम्पत्ति विवरण र तोलाका तोला सुनले स्वर्णपूर बनेका मन्त्रिपरिषद्का सदस्यहरुबाटै यो शुद्धीकरण अभियान चाल्नुपर्ने आवाज समेत उठ्न थालेको छ । देउवा पाँच पाँच पटक त प्रधानमन्त्री बने । उनी २५ वर्षमै कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अध्यक्ष बने । गृहमन्त्री भएकै बेला ४५ वर्षको उमेरमा आरजु राणासँग विवाह भयो । उनीहरुलाई भेट गराइदिने चाहिँ अमेरिकन राजदूत थिए । त्यस पछि देउवा जति पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुगे, त्यति नै पटक आर्थिक मामिलामा विवादित बन्दै गए । राज्यका हरेक नियामक निकायहरुमा नियुक्तिहरुमा बोलकबोल नै चल्यो ।

पछिल्लो समय छोरा जयवीरको नाममा धेरै जग्गा जमिन जोडेको पाइएको थियो । आरजुको नाममा कैलाली र बर्दियातिर जग्गा भेटियो । त्यो सँगै देउवा दम्पत्ति ६० सालदेखि बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ पञ्चकन्या टोलमा घर बनाएर बस्दै आएका थिए । जेनजी विद्रोहको क्रममा सो घरभरी जलेको नोट भेटिएपछि नै देउवा दम्पत्ति सम्पत्ति शुद्धीकरण विभागको घेरामा परेका हुन । पटक पटक लाभका पदमा पुगेकाहरुको अर्बाै सम्पत्तिको बिषयमा प्रश्न उठिरहेको समयमा शनिवार राती सार्वजनिक भएको सरकारका मन्त्रीहरुको सम्पत्ति विवरणले थप संशय पैदा गराएको छ । सो विवरण अनुसार, प्रधानमन्त्री बालेन शाहसँग सबैभन्दा धेरै १९० तोला सुन रहेको भनिएको छ भने सबैभन्दा कम कृषिमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको उल्लेख छ । मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग सबैभन्दा बढी १९० तोला सुन रहेको छ, जसको स्रोत उनले पैतृक सम्पति रहेको बताएका छन् ।

त्यस्तै, मन्त्री गौरीकुमारी यादवसँग १८० तोला सुन, २ किलो चाँदी र २ सेट हीरा रहेको देखिएको छ । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको सँग १८० तोला सुन रहेको छ । जुन उनले रुसमा व्यापार गर्ने क्रममा आर्जन गरेको उल्लेख गरेकी छिन् । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन हुँदा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको विवरणमा उल्लेख छ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको विवरणमा उल्लेख छ । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहेतासंग ३०–३० तोला सुन रहेको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला सुन मौज्दात रहेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग पनि १८ तोला सुन रहेको विवरणमा उल्लेख छ । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री विराज भक्त श्रेष्ठ १५ तोला सुन हुँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग पनि १५ तोला सुन रहेको देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग ११ तोला सुन रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासंग करिब सात तोला सुन रहेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यो त सुनको विवरणमात्र भयो ।

अहिलेसम्म कुनै राजकीय पदमा नपुगेका व्यक्तिहरुका नाममा करोडौं, अर्बौको सम्पत्ति रहेको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री शाहसँग काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नामा ५ आना र धनुषामा १ दशमलव २ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, भैँसेपाटीमा ५ करोडको जग्गामा बनेको घर, काभ्रेको धुलिखेलमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र बन्दीपुरमा २ करोडको जग्गा रहेको उल्लेख छ भने परराष्ट्रमन्त्री शिशिर खनालसँग तनहुँको भानु नगरपालिकामा पैतृक सम्पत्तिबाट १५ रोपनी जग्गा, पूर्वनवलपुरको देवचुलीमा १३ रोपनी जग्गा खरिद गरेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको काठमाडौँमा दुई वटा घर छन् । वीरेन्द्रभक्त श्रेष्ठको नाममा काठमाडौँ महानगरपालिका–२४ मा २ आना तथा विकास श्रेष्ठको नाममा काठमाडौँ–१३ मा ४ आना जग्गामा घर रहेको छ । उनीसँग विभिन्न बैंकमा गरी ७८ लाख ९८ हजार ५४४ रूपैयाँ ३३ पैसा नगद छ । गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रूपैयाँ मूल्यको सेयर रहेको छ । यस्तै आफ्नो नाममा धनकुटाको कार्कीछापमा ५ मा १९ रोपनी १५ आना, पिताको नाममा चितवनको भरतपुर १८ मा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी रहेको छ । यो हदबन्दी भन्दा धेरै जग्गा हो । नेपालको कानुन अनुसार हदबन्दीभन्दा बढी जग्गा राखेको पाइए सरकारले जफत गर्न सक्छ ।

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालसँग जमुना लम्सालका नाममा रूपन्देहीमा १ कट्ठा १० धुरमा बनेको घर छ । जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कट्ठा १५ धुर जग्गा र बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी छ । यता, कानुनमन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा दुई वटा घर रहेको विवरणमा उल्लेख गरेकी छिन् । रवि लामिछाने निकट रहेर पत्रकारिता गर्दै राजनीतिमा लागेकी सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेको विवरण सार्वजनिक गरेकी छिन् भने स्वास्थ्यमन्त्री निशा मेहतासँग काठमाडौँको सौखेलमा ७ आना जग्गा छ । उता शिक्षामन्त्री सस्मित पोखरेलको परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा छ ।

बैंक खातामा ४ लाख ४७ हजार ९९४ रूपैयाँ मौज्दात छ । उनको कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख उल्लेख छ । स्मरण रहोस उनको बुवा नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी हुन । यो कुन स्रोतबाट आर्जन गरेका हुन भन्दै प्रश्न उठाइन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी चौधरीको काठमाडौँ महानगरपालिका ९ मा तीन तले घर छ । यस्तै काठमाडौँ महानगरपालिका १० मै तीन ठाउँमा १४ आना, ७ आना र ९ आना बढी जग्गा छ ।

महोत्तरीमा पनि चार ठाउँमा उनकै नाममा जग्गा रहेको विवरण सार्वजनिक भएको छ । उता श्रममन्त्री रामजी यादवसँग सप्तरीको राजविराज नगरपालिका ९ मा ११ कट्ठा १३ धुर जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनीहरुमात्र होइन रास्वपाबाटै सभामुख भएका डोलप्रसाद अर्यालकै काठमाडौं र भक्तपुरसमेत १२ स्थानमा जग्गा, काठमाडौंमा घर, १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको उल्लेख छ । यसरी पूराना राजनीतिक दलका सम्पत्तिको स्रोत खोज्दै उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा चलाउने सरकार, त्यसका नेतृत्वले आफूहरुले आर्जन गरेको सम्पत्तिको स्रोत देखाउन सक्छन कि सक्दैनन्, अहिले प्रश्न उठ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *