काठमाडौं । नेपाली कांग्रेसभित्र विगत लामो समयदेखि संस्थापन पक्ष र इतरपक्षबीच लडाईं चल्दै आएको थियो । सो लडाईं अहिले झन् झाङ्गिँदै गएको छ । कांग्रेसको आन्तरिक झगडाले गर्दा भ्रातृ संघ, संगठनदेखि सरकारसम्म बद्नाम हुँदै गएको छ । कांग्रेसको आन्तरिक झगडाले पार्टी बद्नाम भएकै थियो उता सरकारसमेत लज्जित भएको छ । कांग्रेस पार्टी पुरानो भए तापनि सरकार सञ्चालनमा सधैं आलोकाँचो जस्तो देखिन्छ । कांग्रेस र एमाले दुई ठूला दल मिलेर बनेको सरकार वर्षदिन पुग्न लाग्दा कांग्रेसबाट मन्त्री बनेकाहरु धमाधम बद्नाम हुँदैछन् । कांग्रेसबाट मन्त्री बन्नेहरु विवादमा पर्नुको मुख्य कारण संस्थापन पक्ष र इतरपक्षको झगडा नै हो । कांग्रेसभित्रको झगडा प्रतिपक्षी पार्टीभन्दा कडा हुँदै गएको छ । त्यसले गर्दा एमालेले नेतृत्व गरेको सरकार दिनप्रतिदिन बद्नाम हुन पुगेको छ ।
कांग्रेस इतरपक्षबाट उर्जामन्त्री बनेका दीपक खड्काले विद्युत प्राधिकरणभित्र मच्चाएको भाँडभैलोले गर्दा सरकार आलोचित भएको छ । उर्जामन्त्री खड्काले विद्युत प्राधिकरणभित्रका ठूला–ठूला आयोजनाहरुको ठेक्कादेखि विद्युतको पीपीए गर्दा अर्बौं रुपैयाँ असुलेको स्रोतले बताएको छ । मन्त्री खड्काले सो पैसा पार्टीको महाधिवेशन र ८४ को आमनिर्वाचनलाई लक्षित गरी उठाएको स्रोतको दावी छ ।
त्यसैगरी संस्थापन पक्षबाट परराष्ट्रमन्त्री बनेकी डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले पार्टीको महाधिवेशन र ०८४ को आमनिर्वाचनलाई लक्षित गरेर अर्बौं बटुल्न थालेको आरोप लागिरहेको छ । त्यही मेसोमा परराष्ट्रमन्त्रालयमा कर्मचारी दरबन्दी थप र एयरपोर्टको भिजिट भिषा कान्ड मच्चिएको स्रोत बताउँछ । करिव ८० हजार नेपालीहरुलाई भिजिट भिषामा विदेश पठाएबापत एक अर्ब रुपैयाँ असुलेको बताइन्छ । यो असुलीधन्दामा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको कांग्रेस इतरपक्षका नेताहरु डा. शेखर कोइराला, सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईँले बताइरहेका छन् ।
तर, कांग्रेसले भने भिजिट भिषा काण्डमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ । उता प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् । तर, सत्तासाझेदार दल नेकपा एमालेले भने गृहमन्त्री लेखकको बचाउ गरिरहेको देखिन्छ । गृहमन्त्रीको बचाउँ गरे तापनि कांग्रेसी नेताहरुको क्रियाकलापकै कारण सरकारको नेतृत्व गरिरहेको एमाले दिनप्रतिदिन बद्नाम हुँदै गएको छ । पार्टी बद्नाम हुँदै गएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आमसर्वसाधारण खनिन थालेका छन् । उता सत्तासाझेदार दल कांग्रेसले एमालेको काँधमा राखेर बन्दुक पड्काउने काम गरिरहेको छ । त्यसैगरी कांग्रेसबाट मन्त्री बनेकाहरुसँगै अधिकांश कांग्रेसी सांसदहरु भ्रष्टाचारका विभिन्न काण्डमा मुछिँदै गएका छन् ।
पार्टीका उपसभापति तथा सांसद धनराज गुरुङ सहकारी ठगी कान्डमा मुछिएका छन् भने पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा सांसद मोहनबहादुर बस्नेतको टेरामक्स काण्डमा मुछिएपछि सांसद पद नै निलम्बनमा परेको छ । राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा पनि विभिन्न विवादमा मुछिएकै छन् । उता, तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थीमा फसेका छन् । त्यसैगरी महामन्त्री गगन थापालाई बाख्रा पालनको नाममा हिनामिना गरेको काण्ड लागेकै छ । नेपाली कांग्रेस पुरानो र विश्वले पत्याको लोकतान्त्रिक पार्टी भएतापनि पछिल्लो समय नेताहरुकै कारण कांग्रेस दिनप्रतिदिन बद्नाम हुँदै गएको छ ।