काठमाडौं । लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’अहिले प्रभावकारी रूपमा प्रत्येक महिनाको २२ गते वितरण हुँदै आएको छ ।
नगरपालिकाका २४ वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिँदै आएको छ । आईतबार वडा नम्बर २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई पोषण प्याकेज हस्तान्तरण गरेका हुन् । यो कार्यक्रम गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धता अनुसार सुरु गरिएको छ ।
नगरपालिकाभित्र उल्लेख्य दलित र विपन्न समुदाय रहेकाले उनीहरूलाई लक्षित गर्दै कार्यक्रम बनाइएकोले हाल जनस्तरमा सकारात्मक प्रभाव पारिरहेको र आगामी दिनमा अझ व्यापक बनाइने र यो योजनाले महिलाहरुमा स्वास्थ्य सचेतना समेत बढाएको नगरपालिकाले जनाएको छ ।

