काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेको अस्ति १३ गते एक महिना पार गरेको छ । नयाँ सरकार बनेको महिना दिनभित्रै सर्वसाधारणदेखि कर्मचारी, पत्रकार, लेखापढी व्यवसायी, व्यापारी, उद्योगी र भूमिहिन सुकुम्वासीलाई उठिवास लगाउने काम भएको छ । विचौलियाको आरोप लगाएर मालपोत, नापी, कम्पनी रजिष्ट्रार, यातायात, उद्योग, जिल्ला प्रशासनलगायतका कार्यालय आसपासमा बसेर लेखापढी गर्ने कानुन व्यवसायीहरुलाई काम गर्नबाट बञ्चित गराउने काम गरेको छ । लेखापढी व्यवसायीहरुले माथि उल्लेखित कार्यालयहरुको काममा सर्वसाधारणलाई सहयोग गर्दै आएका थिए ।
सेवाग्राहीलाई आवश्यक सहयोग गरेबापत पारिश्रमिक लिएको निहुँमा लेखापढी व्यवसायीलाई विचौलियाको संज्ञा दिएर सरकारले धरपकड गरेको थियो । सरकारले विचौलियाको संज्ञा दिएपछि लेखापढी व्यवसायीहरु सरकारी कार्यालय आसपास बस्न छाडेका छन् । त्यसले गर्दा सेवाग्रहीहरुलाई अप्ठ्योरो परेको छ । कतिपय सेवाग्राहीहरुले सरकारी कामको भेउ नपाउँदा अलमलिएका छन् । त्यसले गर्दा सर्वसाधारण सेवाग्राहीहरुले झन् सास्ती खेप्नु परेको छ । लेखापढी व्यवसायी कार्यालय परिसरमै हुँदा सेवाग्राहीले सर्वसुलब ढंगले सेवा पाउने गरेका थिए । लेखापढी व्यवसायी कार्यालय परिसरमा नहुँदा सेवाग्राहीहरु अलमलमा पर्ने र काममा ढिलासुस्ती हुने गरेको एक पीडितले बताएका छन् ।
किन कि लेखापढी व्यवसायीले गर्ने काम कर्मचारीले गर्न सक्दैनन् । कानुनी प्रक्रियाको जानकारी पनि हुँदैन । त्यसले गर्दा सर्वसाधारण सेवाग्राहीहरु लेखापढी व्यवसायी खोज्न वाध्य हुन्छन् । त्यसले गर्दा लेखापढी व्यवसायीको कार्यालयसम्म पुग्नुपर्ने हुन्छ । कार्यालयमा पुग्दा शुल्क पनि महंगो हुने गर्दछ । माथि उल्लेख गरिएका कार्यालयहरुबाट हुने काममा सेवाग्राहीलाई झन् झन्झट थपिएको छ । एकै दिनमा हुने काममा ढिलासुस्ती हुँदा सेवाग्राहीको खर्च पनि बढेको छ । यी कार्यालयहरुबाट हुने काममा कानुनी प्रक्रिया अनुसारको काजगात जुटाउन सेवाग्राहीलाई समस्या परिरहेको छ । अर्कोतिर हप्ताको दुई दिन बिदा दिएर कर्मचारी र सर्वसाधारणलाई झन् सास्ती थपिएको छ ।
एकातिर महंगीले गोजी रित्तिएको छ भने अर्कोतिर काममा ढिलासुस्ती हुँदा झन् खर्च बढेर गएको छ । दुई दिन बिदाले गर्दा शुक्रवार नभ्याइएको कामको लागि सोमवारसम्म कुर्नुपर्ने हुन्छ । त्यसले गर्दा दूरदराजका सर्वसाधारणहरुलाई जिल्ला सदरमुकाम आएर होटलमा बस्नुपर्ने समस्या त्यत्तिकै छ । त्यस्ता सेवाग्राहीहरुलाई शुक्रवार नभ्याएको काम गर्नको लागि थप तीन दिन कुर्नुपर्ने वाध्यता त्यत्तिकै छ । उता, कर्मचारीहरुलाई भने दुई दिन लगातार बिदा हुँदा हाइसन्चो भएको छ । एकातिर हप्तामा दुई दिन बिदा गरिएको छ भने अर्कोतिर १५÷१५ दिनमा तलब खुवाउने योजना ल्याएर कर्मचारीलाई कामको झन्झट थपिएको छ । किन कि सरकारी कर्मचारीहरुले प्रायःजसो हरेक महिनाको २५÷२६ गतेभित्र तलब पाउने गरेकै थिए । त्यसमा १५÷१५ दिनमा तलबको पेयरोल बनाउनुपर्ने झन्झट सरक ारले थपिदिएको छ । अर्कोतिर दुई दिन बिदा दिइएको छ र १५÷१५ दिनमा तलब दिएर कर्मचारीहरुको फजुल खर्च बढाउने काम भएको छ ।

