बालेन सरकारद्वारा चौतर्फी आक्रमण
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिकाको तत्कालीन मेयर हुँदा नै नदी किनार र सार्वजनिक जग्गा अडपेर बसेका सुकुम्वासीहरुलाई हटाउने काम थालेका थिए । केन्द्रीय सरकारमा शाहको पहुँच नपुग्दा काठमाडौंका सुकुम्वासीहरुलाई हटाउन असफल भएका थिए । तर, प्रतिनिधि सभा निर्वाचनमा भोट माग्ने क्रममा देशैभरि घुमेर सुकुम्वासीलाई हटाउने होइन, व्यवस्थापन गर्ने भन्दै सुकुम्वासीलाई नै भोट बैंक बनाएका थिए । देशभरका सुकम्वासी र सर्वसाधारण जनताले रास्वपालाई दुई तिहाई मत दिएका थिए । उता, शाह आफू पनि झापा ५ बाट निर्वाचित भएका थिए । शाहले झापाका २० हजार हाराहारी सुकुम्वासीको मत पनि पाएका थिए ।
्प्रतिनिधि सभामा निर्वाचित भएपछि शाह देशको प्रधानमन्त्री बने । तर, प्रधानमन्त्री बनेको महिना दिनमै देशैभरका सुकुमवासीहरुको घर टहरा भत्काउने अभियानमा जुटेका थिए । यतिबेला देशैभरका भूमिहीन सुकुमवासीहरुको घर, टहरा भत्काएर उनीहरुलाई घर न घाटको बनाएका छन् । मेयर हुँदा भत्काउन नसकेको काठमाडौंको थापाथली, सिनामङ्गल, शंखमुल, गैरीगाउँ, हनुमन्ते खोला, विष्णुमति, बागमती र टुकुचा आसपासमा बसोबास गरेका सुकुमवासीहरुलाई अस्ति शनिवार र आइतवारमा हटाएका छन् । नेपालजन्ग, बुटवल, नारायणघाट, हेटौंडा, वीरगञ्ज, बारा, रौतहट, सर्लाही, महत्तोरी, धनुषा, सिराह, सप्तरी मोरङ, सुनसरी र झापाका सुकुम्वासीहरुलाई हटाउने काम बालेन सरकारले गरेको छ ।
पहिला मोफसलमा आक्रमण गर्दा कुनै विरोध नआएपछि हौसिएर शाहले काठमाडौं उपत्यकाभित्रका सुकुमवासीहरुको बस्तीमा डोजर चलाएर उठिवास बनाएका छन् । वस्तीमा डोजर चलाएपछि सुकुमवासीहरु रास्वपा कार्यालय घेर्न पुगेका थिए । चुनाव अगाडि रास्वपाका सभापति रवि लामिछानेले ‘यदि सुकुम्वासी क्षेत्रमा डोजर चलको खण्डमा म छाती थाप्न आउँछ किन चिन्ता गर्नुहुन्छ ?’ भनेका थिए । तर, आज रास्वपा सरकारले सुकुम्वासी वस्तीमा डोजर चलाउँदा प्रधानमन्त्री शाहले आफूसँग छलफल नगरेको भन्दै सामाजिक सञ्जालमार्फत ‘पानीमाथिको ओभानो’ बन्न खोजेका छन् । उता, पीडितहरु भने ‘चुनाव अगाडि डोजर चलेमा छाती थाप्नु भन्ने रवि लामिछाने कहाँ छौं ?’ भन्दै आक्रोशित भएका थिए ।
रास्वपाबाट प्रधानमन्त्री बनेको दोस्रो दिनबाट अन्य दल र सर्वसाधारण जनतामाथि आक्रमण सुरु गरेका शाहले महिना दिन पुग्दानपुग्दै काठमाडौं उपत्यकाभित्रका सुकुम्वासीहरुलाई उठिवास लगाएका छन् । सुकुम्वासीसँगै कर्मचारी, विद्यार्थी, वकिल, पत्रकार, उद्योगी, व्यापारीलगायतलाई पनि विभिन्न बहानामा दुःख दिने र तर्साउने काम गरिरहेका छन् । उता, प्रधानमन्त्री शाहले दलनिकट विद्यार्थी युनियन खारेज गर्ने भनेपछि विद्यार्थीहरु विभिन्न क्याम्पसमा राँके जुलुसहित आन्दोलन सुरु गरेका छन् । रास्वपा सरकार बनेपछि महंगी, भ्रष्टाचार र कुशासनको अन्त्य भई देशमा सुशासन कायम हुने आश गरेका सर्वसाधारण जनता यतिबेला प्रधानमन्त्री शाहको चौतर्फी आक्रमणको शिकार बन्न वाध्य भएका छन् ।

