सेवासुविधा कटौती हुँदा कर्मचारीको निदहराम

राजनीति समाचार

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले निजामती कर्मचारीलाई दिँदै आएको सेवासुविधामा भारी कटौती गर्ने भएको छ । पहिलाका सरकारहरुले उपसचिव, शाखा अधिकृत र नासुसम्मलाई पदअनुसारको सवारी साधन दिँदै आएको थियो । तर, रास्वपा सरकारले मुख्यसचिव, सचिव र सह–सचिवबाहेक अन्य कर्मचारीहरुले प्रयोग गर्दै आएका सवारी साधनहरु कटौती गर्ने भएको छ । सरकारले मुख्यसचिव, सचिव र सह–सचिवलाई मात्रै सवारी साधन, ड्राइभर र इन्धनको व्यवस्था गरेको छ । अन्य कर्मचारीहरुले पाउँदै आएको सवारी साधनको सुविधा पुरै कटौती गरेको छ । कर्मचारीका सवारी साधन कटौती गरेसँगै सवारी चालकहरुको पनि जागिर धरापमा पर्ने भएको छ ।

त्यसैगरी अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको पनि जागिर जाने सम्भावना बढेको छ । सरकारको यस्तो निर्णयले कर्मचारीभित्र रुवावासी सुरु भएको छ । एकातिर कर्मचारी यो अवस्था छ भने अर्कोतिर सरकारले कर्मचारी टे«युनियन खारेज गर्ने भनेपछि दलनिकट कर्मचारी संघ, संगठनका नेताहरुको पनि सेवासुविधा खोसिने भएको छ । त्यस्तै कर्मचारीहरुले अध्ययन, तालीम, सेमिनार, गोष्ठीको नाममा गर्दै आएका विदेश भ्रमण पनि सरकारले रोकिदिएको छ । तत्कालीन अवस्थामा उच्च पदस्थ कर्मचारीहरु विभिन्न बहानामा विदेश भ्रमण गर्ने, विदेशमा छोराछोरी पढ्न पठाउने, उनीहरुलाई भेट्न जाने, अध्ययन बिदामा विदेश गएर वर्षौंसम्म नफर्किने र पछि आएर फेरि जागिरमा जोडिने गर्दै आएका थिए । त्यस्ता कर्मचारीहरुको रास्वपा सरकारले निदहराम गराइदिएको छ ।

त्यस्तै विभिन्न दलनिकट संगठन बनाएर आफू नेता बनी देश विदेश भ्रमण गर्ने, कार्यालयमा काम नगर्ने, कर्मचारी संगठनको नाममा आफूभन्दा ठूलो पदको कर्मचारीलाई नटेर्ने, राजनीतिक दलको आडमा सरुवा, बुढुवामा आर्थिक चलखेल गर्ने, सधैं मालदार र सुगम ठाउँमा बसेर मोजमस्ती गर्ने गर्दै आएका कर्मचारीहरुको उठिवास हुने भएको छ । त्यसैगरी सरुवा, बढुवामा नातावाद, कृपावाद लागु गर्ने, सोर्सफोर्सको भरमा जेष्ठता, योग्य र अनुभवी कर्मचारीलाई पछि पार्ने काम कर्मचारी नेताहरुले गर्दै आएका थिए । तत्कालीन अवस्थामा सोर्सफोर्स, भनसुन र पैसा खर्च गर्न सक्ने कर्मचारीहरु सधैं ओझेलमा पर्ने गरेका थिए । कर्मचारी संगठनको नेताको नाममा नासु र अधिकृतहरुले पनि सवारी साधन, चालक र इन्धनको सुविधा भोग गर्दै आएका थिए । त्यो सुविधा अहिले आएर बालेन सरकारले कटौती गर्ने भएको छ ।

कतिपय उच्च पदस्थ कर्मचारीहरुले पाएको सवारी साधन छोराछोरी स्कूल पु-याउन, चाडवाडमा घर जान, बिदाको दिन घुमघाम गर्न, घरायसी सामान ओसारपसार गर्न, आफन्तहरुसँग भेटघाट गर्न र व्यक्तिगत व्यापार व्यवसाय गर्नको लागिसमेत प्रयोग गर्दै आएका सरकारी सवारी साधनहरु सरकारले कटौती गर्ने भएको छ । कर्मचारीले पाउँदै आएको सेवासुविधा कटौती भएपछि स्टोकिपरहरुको काम पनि कम हुने भएको छ । निजामती कर्मचारीको यो अवस्था छ भने सरकारी स्वामित्वमा रहेका संस्थानहरुको महानिर्देशक, निर्देशक, कार्यकारी प्रमुख र अन्य तहका कर्मचारीहरुको सेवासुविधा कटाउने कि नकटाउने भन्ने प्रश्न पनि त्यत्तिकै उब्जिएको छ । त्योसँगै मन्त्रालय र कार्यालय परिसारमा वर्षौंदेखि थन्किएर बसेका सवारी साधनहरुको सदुपयोग कसरी गर्ने भन्ने प्रश्न पनि उठिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *