नेपाली भूमि विदेशीको मैदान, सरकार सुकुम्वासीमा सीमित

राजनीति समाचार

काठमाडौं । रास्वपाको सरकारले भन्सार कडाईँ गरेपछि भारतीय सीमा क्षेत्रमा बसोवास गर्ने अधिकांश सर्वसाधारण नागरिक आतंकित बनेका छन् । सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले घरायसी प्रयोगको लागि भारतबाट खरिद गरी ल्याएको रु १०० भन्दा बढी मूल्यको सामानको कर तिर्नुपर्ने भएपछि विरोध सुरु भएको छ ।

सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु नेपाली बजारमा भन्दा भारतीय बजारमा घरायसी सामान सस्तो पाउने भएकाले भारतीय बजारबाट ल्याउने गर्दै आएका थिए । तर, ठूला व्यापारीहरुले भन्सार छली गरेर सामान भित्र्याइरहँदा रास्वपा सरकारले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले घरायसी प्रयोगका लागि ल्याइएको सामानसमेत धरपकड गरी दुःख दिने काम गरिरहेको छ । त्यसको विरोध भारत सरकारले पनि गर्न थालेको छ । सीमा क्षेत्रमा झोले, पोके व्यापारीहरुलाई खेद्न थालेपछि उनीहरु पनि विरोध गर्न थालेका छन् । तर, सरकारले यस्ता साना व्यापारी र उपभोक्तालाई संरक्षण गर्नुपर्नेमा उनीहरुकै रोजीरोटी खोसिदिएको छ ।

नेपाल सरकारको यस्तो व्यवहार देखेर भारत र चीन सरकारले नेपाली भूमि लिपुलेक नाकाबाट मानसरोवर यात्रा सुरु गरेको छ । भारत र तिब्बत जोडिएको हिमाली नाका खोल्दा नेपाल सरकार भने सुकुम्वासीको नाममा आफ्ना जनतामाथि डन्डा चलाएर बहादुरी देखाइरहेको छ । सदियौंदेखि लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएको र त्यो भू–भाग भारतले एकलौटी ढंगले अतिक्रमण गरिरहँदा दुईतिहाई बहुमतको रास्वपा सरकारले संसद्मा एक शब्द बोल्ने हिम्मत गरेकोे छैन ।

तत्कालीन नेकपाको सरकारले बरु लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्ने आँट गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीभन्दा राष्ट्रवादी, जान्नेसुन्ने र अमेरिकासम्म पुगेर धेरै पढेलेखेका इन्जिनियर बालेन्द्र शाहले प्रधानमन्त्री भएको डेढमहिना बितिसक्दा पनि नेपाली भू–भागको बारेमा एक शब्द बोल्न सकेका छैनन् । तत्कालीन प्रधानमन्त्रीहरु महिना दिन पुग्दा नपुग्दै छिमेकी मुलुक भारत भ्रमणमा गइसकेका हुन्थे । अहिलेका प्रधानमन्त्री शाहले भने भारतले भ्रमणको निमन्त्रणा दिएको महिनादिन पुग्न लाग्दा पनि जाने तरखर गरेका छैनन् ।

परराष्ट्रमन्त्रालयले भारत भ्रमणको तयारी थाल्ने भने तापनि अहिलेसम्म कुनै तिथिमिति तय गरिएको पाइँदैन । यता, भारतीय विदेश सचिव विक्रम मिश्र यही वैशाख ३० देखि ३१ गते नेपाल भ्रमणमा आउनको लागि परराष्ट्रमन्त्रालयलाई पत्राचार गरेको थियो । सो पत्रचार गरिए तापनि मिश्र नेपाल आउने नआउने एकिन छैन । उता, भारतको लागि अमेरिकी राजदूत सर्जियो गोर यही वैशाख १७ गते नेपाल भ्रमणमा आएका थिए । गोरले प्रधानमन्त्री बालेन्द्रसँग भेटवार्ता गर्ने इच्छा गरे तापनि प्रधानमन्त्री शाहले भेट दिएका थिएनन् ।

प्रधानमन्त्री शाहले भेट नदिए पनि रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशीर खनालसँग भेट गरेर गोर सगरमाथा शिविरमा पुगेर ड्रोनमार्फत् सगरमाथाको अवलोकन गरेका थिए । विदेशी कुटनीतिक नियोगले मनमौजी ढंगले बिना अनुमति नेपालको ऐतिहासिक धरोधर सगरमाथाको ड्रोनमार्फत अबलोकन गरेको समाचार सामाजिक सञ्जालमा भाइरल हुँदा पनि प्रधानमन्त्री शाहले कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *