काठमाडौं । पछिल्लो समय जेनजी सरकार बनेपछि वैदेशिक ठगीका घटना झन् बढेर गएको छ । तत्कालीन सरकारका पालामा भन्दा जेनजी सरकार हुदैँ वालेन सरकार बनेको दुई महिनाको अवधिमा वैदेशिक रोगजारीमा ठगीका घटना झन् फस्टाउँदै गएको छ । विदेश जानेहरुको संख्या पनि दुई महिनाको हाराहारीमा एक लाख पचास हजारभन्दा माथि रहेका छन् । रोजीरोटीको लागि विदेश जानेको संख्या बढेसँगै संस्थागत ठगी र व्यक्तिगत ठगीका उजुरीहरु वैदेशिक रोजगार विभागमा बढिरहेको छ । ठगीको उजुरीलाई युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ध्यान दिएका छैनन् ।
वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरु घटेका छेनन् । त्यसैगरी युवा श्रम रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभाग पनि खारेज गर्ने भएको छ । विभागको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने देखिन्छ । वैदेशिक रोजगारसम्बन्धी कामहरु सातवटै प्रदेशबाट हुने भएको छ । विभागको काम जिल्ला प्रशासन कार्यालयबाट हुनेहुँदा ठगीका मुद्दा बढेर जान्छन् कि घटेर जान्छन् त्यो निश्चित भइसकेको छैन । म्यानपावरका सञ्चालकहरुले सातै प्रदेशमा युवायुवती खोज्ने एजेन्ट खटाउने गरेका छन् । त्यस्ता एजेन्डहरुलाई युवा श्रम रोजगार मन्त्रालयले कुनै कारबाही गरेको पाइँदैन । त्यसैगरी विदेश जाने श्रमिकहरु पनि विभिन्न मारमा पर्दै आएका छन् । अचम्मको कुरा के छ भने स्वास्थ्य परिक्षणमा रहेको फाइल नै मन्त्रालयबाट हराएको थियो ।
सो फाइल कहाँ छ कसले लगेको छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन । म्यानपावरका केहि कर्मचारीहरुले सो फाइल सिआइबीले अनुसन्धानको लागि लगेको अनुमान गरेका छन् । यस विषयमा मन्त्रालयका एक कर्मचारीसँग सम्पर्क गर्दा फाइल हराएको तर नभेटिएको भनेर तामाकोशी सन्देशलाई जानकारी दिएका थिए । श्रम मन्त्रालयमा यस्ता महत्वपूर्ण फाइल बेलाबखत हराउने गरेका छन् भने वैदेशिक रोजगार विभागमा यस्ता फाइल बेपत्ता बनाउने र गुपचुप पार्ने काम विगत लामो समयदेखि हुदैँ आएको छ । तर सरकारले यस्ता विषयमा ध्यान दिन सकेको छैन ।
वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति, श्रमिकको सुरक्षा, स्वास्थ्य परिक्षण, विमा व्यवस्था तथा उद्धार प्रणालीमा समस्या, अन्तरदेशीय श्रम सम्झौता जस्ता कानुनी झन्झट त्यत्तिकै छन् । सरकारले कानुन बनाए तापनि त्यसको कार्यान्वयन हुन सकेको छैन । कानुनी रुपमा कार्यान्वयन नहुँदा श्रमिकहरु शोषणमा पर्ने गरेका छन् भने स्वास्य बीमामा समस्या त्यत्तिकै छ । श्रमिकहरुले विदेशी कारखानामा काम गर्दा वातावरण अनुकुल नहुँदा धेरैजसो मजदुरहरुले अकालमै ज्यान गुमाउने गरेका छन् ।
त्योसँगै सरकारले समयमा उद्दारको पहल गर्न सकेको छैन । विदेशमा मृत्युवरण गरेकाहरुको संख्या त्यत्तिकै बढ्न थालेको छ । तर सरकार र सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । श्रम मन्त्रालयमा पटक–पटक श्रममन्त्री फेरिन्छन्, सुधारका योजना ल्याउँछन् तर कार्यान्वयन हुने गरेका छैनन् । मन्त्रालय र म्यानपावर सञ्चालको समन्वयकारी भूमिका नहुँदा अधिकांश नेपालीहरु ठगिइरहेका छन् भने विदेश जानेहरुको खर्च पनि त्यत्तिकै बढेको छ ।
सरकारले फिरी भिसा, फिरी टिकट लागु गरे तापनि त्यो कार्यान्वयन हुन सकेको छैन । त्यसले गर्दा वैदेशिक रोजगार विभागमा ठगीका धन्दाहरु झन् फस्टाउँदै गएको छ । अधिकांश एजेण्डहरुले विभिन्न प्रलोभन देखाई दुर्गम गाउँ वस्तीमै पुगेर विचौलियाहरुले सर्वसाधारणलाई ठग्ने गरेका छन् । विभागको ठगीधन्दालाई नियन्त्रण गर्न नसकेपछि सरकारले वैदेशिक रोजगारसम्बन्धी कानुन परिवर्तन गरी जिल्ला प्रशासनको जिम्मामा दिने सम्भावना छ ।

