काठमाडौं । सधैं विपक्षीको आक्रमणको तारो बनेर पार्टी राजनीतिले कस्तो गति लिन्छ । आफ्नै पार्टीभित्र नेतृत्व परिवर्तनको डंका पिट्नेहरु जिममेवारी पाएपछि ओइलिएका छन् । पार्टीमाथि एकपछि अर्को आक्रमण हुँदा नेतृत्वको रक्षा गर्नुपर्नेमा पदाधिकारीहरुबाट त्यसको गुन्जायस देखिँदैन । सामुहिक नेतृत्व भन्ने तर व्यवहारमा एकल निर्णय जबर्जस्ती स्वीकार्नुपर्ने वाध्यताको शिकार पार्टी भएकोले पनि यो स्थिति आएको हो । अध्यक्षबाट पार्टीका एजेन्डा र भावी कार्यक्रम तयार गर्दा सचिवालय र पदाधिकारीको बीचमा छलफल नगर्नुले पनि आफैले विस्वास गरेका पदाधिकारीले संकटमा साथ दिएको महसुस भएन ।
११ औं महाधिवेशनले संकटको सामना गर्ने गर्न सक्ने नेतृत्व चयन गरेको दावी अध्यक्षको छ । देशमा त्यो संकटको विजारोपण हुँदा कहाँ कस्ता कमीकमजोरी भए, सहयात्री वामपन्थी शक्तिलाई कति हेपियो, के बोलियो भन्ने ख्याल गरिएन । संकट पर्दा ५÷७ ठाउँमा भएपनि चुनावी तालमेल गरौं भन्दै फैलाइएका हातसँग प्रचण्ड, माधवले सहकार्य किन गरेनन् ? सत्ता उन्मादका बेला माधवको नाउ लिँदा मुख कुल्ला गर्नुपर्छ भन्ने प्रचण्डलाई मिनबहादुरको नाम जप्तैमा बिहान जान्छ भन्ने दूर्बचन कति निम्न स्तरको थियो । मिनबहादुरसँग सम्बन्ध कस्तो रहेछ के स्वार्थ थियो त्यो देखियो ।
प्रभुका सेबकहरुलाई यस्ता बचनले नछुन सक्छ । तर, राजनीतिक चेतना भएका गोकर्ण र योगेशलेसंमेत यस्ता विषयमा ख्याल गरेको देखिएन । उनीहरु पनि त्यतिबेला ओलीको बोलीमा लोली मिलाएर शासक बन्ने धुनमा थिए । विचारको कुरा त्यहाँ छैन । सिद्धान्तका विषय त्यहाँ आएनन् । नेकपा एमालेमा केपी ओलीपथ बाहेक अरु भएनन् । उपाध्यक्ष विष्णु पौडेल सत्तामै थिए, पृथ्वी सुब्बामन्त्री नै थिए । सरकार लाई त्यो गतिमा हिडाउने सारथी कांग्रेसभित्र थुप्रै थिए । भ्रष्टाचार र बेथिति त्यहाँ नियन्त्रण होइन छाडा थियो । आज अधयक्षले सम्पत्ति छानविन आयोगमाथि जसरी प्रहार गर्दैछन् त्यसले एमाले पंक्तिलाई असर गर्छ । यो विषय यसै छाडेर ओली विदेश जाउन् त कहाँकहाँ कानुनी अल्झनमा पर्छन् ? नेपालमा कुर्लिएजस्तो अन्त हुँदैन ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पनि ओलीले पूर्वाग्रही देखे । गौरी बहादुर कार्की आयोगलाई पनि पूर्वाग्रही देख्ने एमाले अध्यक्ष आफ्नो उपद्रो राज्यको सम्पत्तिका रुपमा लिने मुठ्ठीभरको जमातमा रमाएका छन् । आफै अध्यक्ष ओलीले जे भन्छन ् त्यसमा तालीको गडगडाहट देखिन्छ । यहींँ स्थितिले अब पनि कार्यकर्ताले साथ दिँदैन । देशमा बेथिति त धेरै छन् । भ्रष्टाचारका फाइल धामाधम आउँदैछन् । देशको राष्ट्रिय ध्वजाबहाक कम्पनीले जहाज खरिद गर्दा ४१ करोड भ्रष्टाचार तत्कालीन सत्ता पक्ष, प्रतिपक्ष कांग्रेस र एमाले नेताकै थाप्लोमा जोडियो । कागज बोले के हुन्छ अध्यक्षज्यू ?

