काठमाडौं । आजको एक हप्तापछि मुख्यसचिव सुमनराज अर्याल उमेर हदको कारण अवकासमा जाँदैछन् । अर्यालको अवकासपछि सरकारले भावी मुख्यसचिव कसलाई बनाउँछ भन्ने चर्चा कर्मचारीवृत्त चल्न थालेको छ । तत्कालीन सरकारहरुले नयाँ मुख्यसचिव नियुक्तिको लागि एक महिना अगाडिदेखि नै आफ्नो स्वार्थ अनुसारका मान्छेको खोजी गर्ने गर्दथे । सचिवहरु पनि मुख्यसचिव बन्नको लागि महिना दिन अगाडिदेखि राजनीतिक दलका शीर्ष नेतादेखि प्रधानमन्त्री र मुख्यसचिवको चाकडीमा जुट्ने गर्दथे । तर, यसपालि भने त्यो अवस्था छैन । मुख्यसचिव हुने लाइनमा रहेका सचिवहरु पुष्करहरि कर्ण, मधुसुदन बुर्लाकोटी र प्रमिलादेवी बज्राचार्य असार २४ गते अगाडि नै अवकासमा जानेछन् । त्यसले गर्दा बालेन सरकारले कसलाई मुख्यसचिव बनाउँछ भन्ने कौतुहलता कर्मचारीवृत्तमा छाएको छ । सरकारले पनि यसलाई मुख्यसचिव बनाउने भनेर एकिन गरेको छैन ।
मुख्यसचिव बन्ने लाइनमा वरिष्ठको आधारमा किरण शर्माको नाम अग्रपंत्तिमा छ भने प्राविधिकतर्फबाट पूर्वाधार विकास सचिव गोपाल सिग्देलको नाममा चर्चामा छ । धेरै पहिले प्राविधिक क्षेत्रबाट कर्णध्वज अधिकारीलाई मुख्यसचिव बनाइएको थियो भने त्यसपछिका सरकारले प्राविधिक क्षेत्रबाट मुख्यसचिव बनाएको इतिहास छैन । अहिलेका प्रधानमन्त्री बालेन साह प्राविधिक क्षेत्रका छन् भने पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि प्राविधिक क्षेत्रकै भएकोले मुख्यसचिवमा पनि प्राविधिक क्षेत्रबाट सिग्देललाई ल्याउँछन् कि भन्ने आँकलन गरिएको छ । तर, अहिलेसम्म म मुख्यसचिव बन्छु भनेर दावी गर्ने सचिवहरु देखिएका छैनन् । त्योसँगै राजनीतिक दलका नेता र प्रधानमन्त्रीको चाकडी गर्न पनि कसैले सकेका छैनन् । उमेरहदको कारण मुख्यसचिव नबन्ने भएपछि पुष्करहरि कर्णले प्रधानमन्त्री समक्ष राजदूत बन्ने आकांक्षा राख्दा कारबाहीको भागिदार हुनुपरेको थियो । त्यहीँ डरले पनि अन्य सचिवहरुले मुख्यसचिवको दावी गर्न सकेका छैनन् ।
तर, मुख्यसचिव बन्ने सम्भावना बोकेकाहरुमा जेष्ठताको आधारमा किरण शर्मा, डिल्लीराम शर्मा, गोविन्दप्रसाद शर्मा, रामेश्वर दंगाल, मुकुन्द निरौला, हरिप्रसाद मैनाली, दीपक काफ्ले, नारायण प्रसाद दुवाडी र धनश्याम उपाध्यायलगायतको नाम चर्चामा छ । तर, सरकारले यीनैमध्ये कसैलाई बनाउँछ कि त्यसभन्दा बाहिरबाट ल्याएर बनाउँछ त्यो एकिन भइसकेको छैन । अब बन्ने मुख्यसचिवलाई फाइदा पनि त्यत्तिकै हुने भएको छ । किन कि दलका नेताहरुलाई ब्रिफकेस बुझाउनुपर्ने छैन र नेताहरुको आदेश तथा दबाब पनि खेप्नुपर्ने छैन । तर, रास्वपाको भक्त भने हुनुपर्ने भएको छ । उता, प्रधानमन्त्री बालेन साह, गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल एउटै कित्तामा उभिएका छन् भने रास्वपा सभापति रवि लामिछानेका समर्थक अर्कोतिर फर्किएका छन् । त्यसले गर्दा भावी मुख्यसचिव को बन्ने भन्नेमा अन्यौलता छाएको छ ।,

