राज्यको आँखा कहिले पुग्ला घरभाडा र सवारी साधनमा

राजनीति समाचार

काठमाडौं । सरकारले पेट्रोलियम पद्धार्थको मूल्य घटाए तापनि सार्वजनिक यातायात व्यवसायीहरुले भाडा दर अझै घटाएका छैनन् । पेट्रोलियम पद्धार्थको मूल्य घटाएसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा दर घटाएको सूचना सार्वजनिक गरिसक्दा पनि व्यवसायीहरुले बढेकै दर÷रेटमा भाडा असुलिरहेका छन् । यात्रुहरुले पेट्रोलियम पद्धार्थको मूल्य घटेपछि भाडा पनि घट्नुपर्ने आवाज उठाउँदा यातायात व्यवसायीहरु भाडा दर घटाएको हामीलाई जानकारी छैन भन्दै पुरानै दर÷ रेटमा भाडा उठाइरहेका छन् । उता बढाइएको भाडा दरमा लोकलको लागि २४ रुपैयाँ कायम गरिएको ठाउँमा २५ रुपैयाँ, २८ रुपैयाँ तोकिएको ठाउँमा ३० रुपैयाँ र ३३ तोकिएको ठाउँमा ३५ रुपैयाँको दरले भाडा असुल्दै आएका छन् । सवारी साधनको भाडाँ बढाउँदा पनि यातायात व्यवसायीहरुले सिट क्षेमताभन्दा बढी यात्रुहरु कोचेर जेष्ठ नागरिक र महिलाहरुलाई कष्टकर यात्रा गर्न वाध्य बनाउने गरेका छन् । यात्रु चढाउने बेलामा जथाभावी रोक्ने तर ओराल्ने बेलामा यात्रुले भनेको ठाउँभन्दा आफू अनुकूलको ठाउँमा झारिदिने गर्दै आएका छन् । यस्ता विषयमा ट्राफिक प्रहरीले पनि ध्यान दिएको पाइँदैन ।

सरकारले भाडाको दर÷रेट तोक्दा पनि व्यवहारिक देखिँदैन । किन कि बजारमा ५ रुपैयाँभन्दा मुनिका नोटको चलन हराइसकेको छ । त्यसले गर्दा यात्रुहरु हरेक दिन, हरेक रुटमा एक व्यक्ति रु. १ देखि ५ सयसम्म ठगिँदै आएका छन् । सवारी साधनको भाडा बढाउँदा यस्ता विषयमा ध्यान दिएको पाइँदैन । सरकारले यातायात क्षेत्रभित्र हुने गरेको विकृति, विसंगति र भ्रष्टाचारको अनुगमन गरेर कारबाही गर्न पनि सकेको छैन । उता, यातायात कार्यालय र ट्राफिक प्रहरीले पनि अनुगमन गरेर लापरवाही र बदमासी गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । यातायात कार्यालयले रुट परमिट उलंघन गरी लापरबाहीपूर्ण तरिकाले सवारी साधन चलाउनेहरुलाई कारबाही गरेको पाइँदैन ।

उता, सरकारले पेट्रोलियम पद्धार्थको मूल्य केही घटाएको भए तापनि बजारमा महंगी बढेसँगै घरधनीहरुले चर्को रुपमा घरभाडा बढाइरहेका छन् । घरबहाल कर पनि उपभोक्ताले तिरिहेका छन् । महिनामा लाखौं रुपैयाँ भाडा उठाउँदा पनि घरधनीले घरबहाल कर तिर्ने गरेका छैनन् । त्यसको उदाहरण बनेको छ बागबजारस्थित एबीसी फोटो स्टुडियो रहेको पाँच तले घर । सो घरको घरधनी त्यहाँ बस्दैनन् । एकजना महिलाले त्यो घरको रेखदेख गर्दै आएकी छिन् । उनले एउटा कोठाबाट १२ देखि १५ हजारसम्म असुलीरहेकी छिन् । त्यसमा बिजुली र पानी र फोहोरको पैसा पनि छुट्टै असुल्ने गरेकी छिन् । पानी पनि किनेको भन्दै एकजार बराबर २५ देखि ३० रुपैयाँ छुट्टै लिने गरेकी छिन् ।

बिजुलीको पैसा पनि मिटरमा उठेभन्दा बढी असुल्ने गर्दै आएकी छिन् । घर बहालमा लगाउँदा पनि कुनै नियम छैन । एउटा कोठा खाली हुनासाथ हजारदेखि १५ सयको दरले बढाउने गरेकी छिन् । नियमअनुसार २ वर्षमा १० प्रतिशतका दरले बढाउनुपर्नेमा त्यो नगरी बहालवाला फेरिएपिच्छे भाडा बढाउने गरेकी छिन् । त्योसँगै घर बहालमा बस्नेहरुलाई दूबेहार गर्ने गरेकी छिन् । ती महिला त एउटा उदाहरण मात्रै हुन् । काठमाडौंमा घरबहालमा लगाउने घरधनीले भाडामा बस्नेहरुलाई दूव्र्यवहार गर्ने, पानी, बिजुली र फोहोरको नाममा बढी पैसा असुल्ने गर्दै आएका छन् । एकजना पाहुना आउँदा पनि पानी बन्द गरिदिने, दूब्र्यवहार गर्ने गर्दछन् ।

स्थानीय सरकारले यस्ता विषयमा ध्यान दिए को छैन । स्थानीय सरकारले लिने गरेको घरबहाल कर पनि हचुवाको भरमा १० प्रतिशत एउटै दर÷रेटमा लिने गरेको छ । स्थानीय सरकारले घर भाडा तोक्दा न्यूरोडको सटरदेखि गाउँवस्तीसम्मको एउटै रेट तोकिएको छ । त्यसमा पनि बाहिरी सडकदेखि भित्री सडकका घरहरुको एउटै दरमा कर लगाइन्छ । सुविधाअनुसार घरहरुको वर्गीकरण गर्नुपर्नेमा त्यो पनि स्थानीय सरकारले गर्न सकेको छैन । उल्टै स्थानीय सरकारले सर्वसाधारण गरीवहरुलाई जथाभावी कर असुलेर मार पारिरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *