राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन अगाडि भोट माग्ने क्रममा जारी गरेको ‘बाचा’ पत्रमा नेपालमा स्वास्थ्य र शिक्षा निःशुल्क गराउने भनेको थियो । निर्वाचनमा रास्वपाले दुई तिहाई हाराहारी बहुमत ल्याएको छ । रास्वपाका वरिष्ठ नेता बालेन साह प्रधानमन्त्री बनेका छन् । रास्वपाले स्वास्थ्य निःशुल्क गराउन स्वास्थ्य बीमामा सम्पूर्ण नेपालीलाई सहभागी गराउने पनि भनेको थियो । स्वास्थ्य निःशुल्क गराउने भाषण दिने रास्वपा सरकारले पहिलाका सरकारहरुले सक्रिय बनाएको स्वास्थ्य बीमालाई निस्कृय बनाउने काम गरिरहेको छ ।
निर्वाचनको बेला सम्पूर्ण नेपालीलाई स्वास्थ्य र शिक्षा निःशुल्ःक गर्ने घोषणा गरेको रास्वपाले सरकारको नेतृत्वमा पुगेपछि स्वास्थ्य बीमा कार्यक्रमसमेत बन्द गर्ने योजना बनाइरहेको छ । भोट बटुल्नको लागि चुनावका बेला अनेक फान्डा गर्ने रास्वपाले सरकारको नेतृत्व गरेपछि पहिलाको सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमसमेत कमजोर बनाउने काम गर्दै छ । उल्टै अर्थमन्त्री स्वार्णिम वाग्ले र स्वास्थ्यमन्त्री निशा मेहताले विभिन्न कार्यक्रममा पटक–पटक ३५ सयको बीमा गरेर एक लाख सरकारले कहाँबाट ल्याएर दिन सक्छ भनेर कुर्लिने गर्दछन् । एकातिर पहिलाका सरकारले लागु गरेको स्वास्थ्य बीमाको विरोध गरिरहेका छन् भने अर्कोतिर स्वास्थ्य, शिक्षा र विद्युत् जस्तो सम्पूर्ण जनताको दैनिकीसँग जोडिएको क्षेत्रमा कर लगाएर आतंकित बनाउने काम गरेको छ । पछिल्लो क्रियाकलाप हेर्दा बालेन नेतृत्वको रास्वपा सरकार दिनप्रतिदिन एकतन्त्रीय अधिनायकवादतिर उन्मुख भएको भान हुन्छ ।
सरकारको गतिविधिले गर्दा पत्रकार, वकिल, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, सुकुम्वासी, यातायात व्यवसायी, विद्यार्थी, स्वास्थ्यकर्मी, उद्योगी, व्यापारीलगायत सम्पूर्ण क्षेत्र आतंकित बनेको छ । सरकारले एकातिर सरकारी साधन, स्रोत र शक्तिको दुरुपयोग गरेर सर्वसाधारणलाई तर्साउने काम गरिरहेको छ भने अर्कोतिर व्यक्तिगत अफिस र घरमा विभिन्न संकास्पद गतिविधि गर्न थालेको छ । त्यसको पछिल्लो उदाहरण लिन सकिन्छ अस्ति सोमवार मिडिया र नेताहरुको घर अगाडि गाडी राखेर गरेको अवरोधलाई । उक्त घटनाको रास्वपाले देखावटी विरोध गरे तापनि ती गाडीहरु रास्वपाका नेता र कार्यकर्ताको भएको पुष्टि भएको छ । यसले के देखाउँछ भने रास्वपा पत्रकार र अन्य दल सिध्याउन सरकारी साधन, स्रोत, शक्तिसँगै समर्थकहरुलाई समेत प्रयोग गर्न लागिपरेको छ । त्यसले गर्दा रास्वपा सरकार दिनप्रतिदिन जनविरोधी गतिविधिमा उद्दत भएको छ ।

