काठमाडौं । बजारमा अखाद्य वस्तु मिसावटसँगै जंङ्कफुड प्रयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । खासगरी पछिल्लो समय युवापुस्तादेखि बुढापाकालेसमेत खाना पकाउनको अल्छिको कारण चाउचाउलगायत बजारमा पाइने विभिन्न तयारी खाना जंङ्कफुडहरु प्रयोग गर्ने गरेका छन् । त्यसैगरी तन्दुरी रोटी र फ्राइराइस, पिरो र मसालेदार चिकेत तन्दरी, करेन्ट पिरो चाउचाउ जस्ता मानव स्वास्थ्यको लागि अति हानिकारक खाने कुराले बजार भरिभराउ छन् । त्यस्ता तयारी खानेकुराले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । यस्ता जंङ्कफुडले उच्च रक्तचाप, ग्यास्टिक, अल्सर, पेटसम्बन्धी विभिन्न रोगको साथै क्यान्सरसमेत हुने गरेको पाइएको छ । पछिल्लो समय बजारमा पाइने जङ्कफुडहरुमा विभिन्न ब्रान्डका चाउचाउ, चाउमिन, पिरो करेन्ट चाउचाउ र अण्डा मानव स्वास्थ्यको लागि हानिकारण भएको स्वास्थ्य विज्ञहरुले बताउने गरेका छन् ।
त्यसैगरी अखाद्य मिसावट मैदाबाट बन्ने रोटीलगायत विभिन्न खानाका परिकारहरु पनि हानीकारक हुने गरेको पाइन्छ । सबैको मुखमा झुण्डिने र खाजाको लागि उपयोगी म.म.लाई लिइन्छ । देशैभरि म.म. पसल खोल्नेहरुको घुइँचो पनि त्यत्तिकै छ । म.म. पनि विभिन्न आइटमका झोल, सि, प्राइ र कोथे भनेर नामकरण गरिन्छ । म.म. बनाउन गुणस्तरहीन मासु र मैदा, सडेगलेका तरकारी, टमाटर, बोसो लगायतका खाद्यान्न प्रयोग गरिन्छ । त्यसलाई च्वास्स स्वादिलो बनाउनको लागि अजिनोमोटो प्रयोग गरिन्छ ।
खाँदा स्वादिष्टजस्तो लागे तापनि म.म. स्वास्थ्यको लागि हानिकारक हुने गरेको पाइन्छ । अझ म.म. बनाउनको लागि मरेका पशुपन्छीको सडेगलेका मासु तरकारी प्रयोग गर्ने गरेको पाइन्छ । बजारमा खोलिएका विभिन्न खाजा पसलहरुमा म.म.चाउमिन, चाउचाउ, राँगा, खसी र कुखुराका सडेगलेका आन्द्राभुँडी प्रयोग गर्ने गरेको पाइन्छ । यी खाजासँगै लोकल रक्सी पनि बेच्ने गरिन्छ । लोकल रक्सी पनि कोदोको भनेर विभिन्न अखाद्य वस्तुको बनाउने गरिन्छ । त्यसको सेवनले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छु । त्यस्ता विषयमा खाद्य गुण नियन्त्रण विभाग र सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।
त्यसैगरी विभिन्न ब्रान्डका भिठाइ बनाउन पनि गुणस्तरहीन दुध, दही, घिउ, मखन, चिज, लगायतका खाद्यान्नमा, पाउडर, पिठोलगायतका अखाद्य वस्तु मिसावट बनाउने गरेको पाइन्छ । महंगा–महंगा मिठाइ पसलहरुमा पनि गुणस्तरहीन सामान प्रयोग गरिएको हुन्छ । खाद्य गुण नियन्त्रण विभाग र उपभोक्ता मञ्चले त्यस्ता विषयमा ध्यान दिएको पाइँदैन । त्यसैगरी महंगा होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरुमा सडेगलेका मासु र माछा प्रयोग गर्ने गरेको पाइन्छ ।
ठूला–ठूला पार्टीमा मानिसहरु एकअर्कासँग भलाकुसारीमा व्यस्त हुने र ह्वीस्की, वाइन, बियर पिउने ध्यान्नामा कस्तो खालको माछा, मासु र स्न्याक्सको प्रयोग भएको छ भनेर चासो राख्दैनन् । तर, व्यापारीहरुले त्यस्तै मौका छोपेर गुणस्तरहीन सामान विक्रीवितरण गरिरहेका हुन्छन् । त्यसबाट उपभोक्तालाई हुने स्वास्थ्य क्षतिको बारेमा सम्बन्धित निकायले चासो दिने गरेको छैन । त्यसैगरी होटेल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरुमा ठूला–ठूला पार्टीको लागि प्रयोग गर्ने चामल, दाल, खाने तेल, घिउ, दहि, दुध, आइक्रिम, सलादको लागि काक्रा, मुला, गाँजर, हलुवाजस्ता वस्तु पनि गुणस्तरहीन हुने गरेका छन् । त्यसले नेपालीहरुको स्वास्थ्यमाथि गम्भीर असर पु¥याइरहेको छ ।

