काठमाडौं । ‘जान्नेलाई छान्ने’ नाराकासाथ गत प्रतिनिधिसभा निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई हाराहारी बहुमत प्राप्त गरी सरकार बनाएको छ । दुई हाराहारी बहुमत प्राप्त बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार बनेको पाँच महिना लागिसक्दा पनि सर्वसाधारण निमुखा जनताले सरकारको अनुभूति गर्न पाएका छैनन् । रास्वपा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सर्वसाधारणमा सरकारको अनुभूति दिलाउन नसक्नुका साथै राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको मर्यादा राख्न सकेका छैनन् ।
प्रधानमन्त्री शाहले संसदमा मर्यादाको ख्याल नगर्दा मन्त्री र सांसदहरु पनि अमर्यादित ढंगले प्रस्तुत हुने गरेका छन् । रास्वपाका मन्त्री र सांसदहरुले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालकै बद्नाम हुन पुगेको छ । प्रधानमन्त्री शाह संसदमा जान रुचाउँदैनन्, गइहाले तापनि राष्ट्रियताको ख्यालै नगरी बोल्दा विवादमा तानिने गर्दछन् । रास्वपाका सांसदहरु पनि प्रतिपक्षको आलोचना सहन सक्दैनन् । त्यसले गर्दा रास्वपा सरकारका प्रधानमन्त्री, मन्त्री र सांसदहरु सधैं विवादमा तानिने गर्दै आएका छन् ।
रास्वपा सरकार राष्ट्रियताको सवालमा दृढ छैन भन्ने उदाहरण वर्ष १२६ अबं १०५ २०८३ भदौ ३ गते बुधवार सरकारी मुखपत्र गोरखापत्रको मुख पृष्ठमा प्रकाशित नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीयस्थल सेनाअध्यक्ष जनरल धिरज सेठको तस्वीरलाई लिन सकिन्छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय झण्डा र सरकारी लोगोलाई दायाँपट्टि र भारतीयस्थल सेनाध्यक्ष सेठलाई बायाँतिर राखेर तस्वीर सार्वजनिक गर्नुपर्नेमा त्यो नगरी नेपालका प्रधानमन्त्री शाहलाई देर्बेतिर र भारतीय सेनाध्यक्ष सेठ र नेपालको झण्डालाई दाहिनेतिर पारेर लिइएको तस्वीर गोरखापत्रको मुठ पृष्ठमा प्रकाशित गरिएको थियो । गोरखापत्रमा प्रकाशित उक्त तस्वीरलाई हेर्दा नेपालका प्रधानमन्त्री नै भारतीय सेनाअध्यक्ष सेठ भएको जस्तो भान हुन्छ ।
गोरखापत्र सरकारको आधिकारिक सन्देश प्रवाह गर्ने सञ्चार माध्यम भएकाले त्यसमा प्रकाशित समाचार र तस्वीरलाई स्वदेशीदेखि विदेशीहरुले अर्थपूर्ण ढंगले हेर्ने गरेका छन् । तर, यही भदौ ३ गते बुधवार गोरखापत्रमा प्रकाशित तस्वीरले विदेशीमाझ नेपालका प्रधानमन्त्री को हुन् भनेर चिन्ह मुस्किल परेको आभास हुन्छ । गोरखापत्रमा छापिएको उक्त तस्वीरले यसका सम्पादक र अध्यक्षको समेत हुर्मत लिने काम भएको छ । त्योसँगै नेपालका सञ्चारकर्मीहरु राष्ट्रियताप्रति कति सम्वेदनशील छन् भन्ने देखाउँछ । देशको प्रधानमन्त्रीसँग विदेशी सेनाध्यक्षको फोटो लिएर गोरखापत्रमा प्रकाशित गर्दा त्यसका सम्पादक र अध्यक्षले कसलाई प्राथमिकता दिने भन्ने समेत ख्याल गरेको देखिँदैन । त्यसले गर्दा सरकारको मुखपत्र गोरखापत्र पनि राष्ट्र र राष्ट्रियताप्रति कति सम्वेदनशील रहेछ भन्ने प्रमाणित गर्दछ । गोरखापत्रमा प्रकाशित उक्त तस्वीर प्रधानमन्त्रीको सचिवालयबाट भनिएको छ । त्यसले प्रधानमन्त्री सचिवालयका कर्मचारीहरु राष्ट्रियताप्रति कति जिम्मेवार रहेछन् भन्ने छर्लङ्ग हुन्छ ।

