काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौंबाट नयाँदिल्ली गएका हुन्।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसहित नेपाल–भारतबीचको आर्थिक सहकार्य तथा राजनीतिक र कूटनीतिक सम्बन्धका विभिन्न पक्षमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
त्यस्तै, शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा। एस। जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्।
शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसहितको सम्मेलनमा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा। सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
तीनदिने भ्रमण सम्पन्न गरी अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ।

