ब्रिक्स सम्मेलनले नेपालमा राजनीतिक तरङ्ग

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन सरकार बनेदेखि नेपालका छिमेकी मुलक भारत र चीनसँगको कूटनीतिक सम्बन्ध बिग्रिँदै गएको संकेत देखापरेको छ । त्यसको ज्वलन्त उदाहरण भर्खरै भारतमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनलाई लिन सकिन्छ । चीन, रुस, भारत, इरानसहित ११ वटा राष्ट्रहरुको सहभागिता रहेको उक्त सम्मेलनमा छिमेकी मुलुक नेपाललाई सहभागिता नगराउनुले नेपालसँगको कुटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको हो कि भन्ने आशंका सर्वसाधारणले गर्न थालेका छन् । हुन त सो सम्मेलनमा पाकिस्तान, बंगलादेश र श्रीलंकाको पनि सहभागिता रहेको देखिएन ।

विश्वका ११ शक्तिराष्ट्रका राष्ट्र प्रमुखको उपस्थिति रहेको सो ब्रिक्स सम्मेलनको नेपाल सदस्य राष्ट्र भने होइन । तर, भारतमा सो सम्मेलन भएकाले नेपाललाई अतिथिको रुपमा बोलाउनुपर्ने थियो । किन कि २०१६ मा भारतको गोभामा सम्पन्न भएको ब्रिक्स शिखर सम्मेलनमा नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी भएका थिए । त्यसबेला ब्रिक्सका पाँच सदस्य राष्ट्रसँगै विमस्टेक क्षेत्रका नेताहरूलाई पनि भारतले आमन्त्रण गरेको थियो । सो सम्मेलनमा नेपालका तत्कालीन प्रधानमन्त्री प्रचण्डसहित म्यानमारकी आङ सान सुकी, श्रीलंकाका मैत्रीपाला सिरिसेना, भुटानका छिरिङ र बंगलादेशकी शेख हसिना अतिथिका रूपमा सहभागी थिए ।

२०२४ को शिखर सम्मेलनमा धेरै राष्ट्रका प्रतिनिधिमण्डलको सहभागिता रहे तापनि त्यसमा नेपालको सहभागिता थिएन । त्यसयता यस्ता कार्यक्रमहरु राखिएको थिएन । तर, भारतले ब्रिक्स सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरुलाई बोलाए तापनि छिमेकीको नाताले नेपाललाई अथितिको रुपमा सहभागी नगराउनुले के नेपाल र भारतको सम्बन्ध चिसिएको होइन भन्ने भान पनि आमसर्वसाधारणमा उब्जिएको छ ।

नेपालमा नयाँ प्रधानमन्त्री बनेकाहरु प्रायःजसोले महिनादिनभित्र छिमेकी मुलुक भारत भ्रमण गर्ने चलन थियो । तर, रास्वपाको दुई तिहाई हाराहारी बहुमतको सरकारका प्रधानमन्त्री बालेन्द्र साह ६ महिना बितिसक्दा पनि भारत भ्रमणमा गएका छैनन् । भारतले पनि नेपालका प्रधानमन्त्रीलाई औपचारिक रुपमा निमन्त्राणा गरेको पाइँदैन । त्यसले गर्दा दुई छिमेकी मुलुक नेपाल र भारतबीच दुरी बढ्दै गएको देखिन्छ ।

बालेन्द्र साह प्रधानमन्त्री बनेको ६ महिना बितिसक्दा पनि न त दक्षिणी छिमेकी मुलुक भारत नै गएका छन् न त उत्तरी छिमेकी मुलुक चीन नै गएका छन् । दुवै छिमेकी राष्ट्र चीन र भारतले पनि औपचारिक रुपमा प्रधानमन्त्री साहलाई भ्रमणमा निमन्त्रणा गरेको पाइँदैन । त्यसले गर्दा पनि प्रधानमन्त्री साह छिमेकी मुलुक भारत र चीन भ्रमणमा नगएको अनुमान गर्न सकिन्छ । तर, विगतको परम्परालाई तोड्दै प्रधानमन्त्री शाह अमेरिका भ्रमणमा जाने भएका छन् । सो भ्रमणमा प्रधानमन्त्री साहले विश्वलाई के सन्देश दिन्छन् त्यो एकिन भएको छैन ।

साह अमेरिकाबाट फर्किएपछि नेपालमा राजनीति उथलपुथल हुने सम्भावना बढ्दै गएको छ । किन कि एकातिर प्रधानमन्त्री साहले दुई छिमेकी मुलुकलाई चिढ्याएर सिधैं अमेरिकातिर प्रस्थान गर्नु र अर्कोतिर भारतमा सम्पन्न दुईदिने ब्रिक्स सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई आमन्त्रण नगर्नुले पनि त्यो संकेत गर्दछ । सो ब्रिक्स सम्मेलनमा ११ वटा विकसित मुलुकहरुको सहभागिता थियो तर अमेरिकालाई भने सहभागिता गराइएको थिएन । त्यसले पनि शक्तिराष्ट्रबीचको भूराजनीतिसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । यी र यस्तै कारणले गर्दा रास्वपाको दुई तिहाई हाराहारीको सरकार धरापमा नपर्ला भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *