बेष्ट बैंक अवार्डबाट ग्लोबल आइएमई बैंक सम्मानित

अर्थ/वाणिज्य कर्पोरेट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२६ को ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ले प्रदान गर्ने उक्त अवार्डबाट बैंक लगातार तेस्रो वर्ष सम्मानित भएको हो ।

बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेको छ ।

ग्लोबल फाइनान्सका अनुसार वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहक सेवामा नवीनता, आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाएर बैंकलाई पुरस्कृत गरिएको थियो ।

अवार्ड वितरण समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरू पनि विभिन्न विधामा सम्मानित भएका थिए । हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायतका बैंकले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंकमा पर्दछ । बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ तथा ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका पुरस्कार प्राप्त गरिसकेको छ । बैंकले ‘बेष्ट इम्प्लोयर’ सम्मानसमेत प्राप्त गरेको छ ।

बैंकका अनुसार उक्त सम्मानले ग्राहकलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहन गरेको बताएको छ । बैंकले आफ्नो प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार प्रकट गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । त्यसैगरी, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ । यसबाट देशको अर्थतन्त्रमा योगदान पुगिरहेको बैंकको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *