काठमाडौं । पछिल्लो समय भ्रष्टाचार र घुसको शैली बदलिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । घुस रकम विदेशका बैंकमा जम्मा गर्नेदेखि जग्गा जमिनै घुसमार्फत लिने प्रवृत्ति मौलाउँदै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो अनुसन्धानबाट खुलेको छ । कतिपय विचौलियाहरुले सूचना प्रविधि लगायका ठेक्का मिलाइदिए वापत विदेशी मुलुकमा गएर घुस तथा कमिसनको डिल गर्ने र प्राप्त कमिसन विदेशी बैंकमा जम्मा गर्ने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो ।
जस्तो राष्ट्रिय सूचना प्रविधि केन्द्रको नेतृत्वमा रहँदा सुनिल पौडेलले सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा खाता खोलेर सिंगापुरकै उपकरण आपूर्तिकर्ता कम्पनी बान्कोटेक प्राइभेट लिमिटेडबाट ५८ हजार अमेरिकी डलर र थप ७९ हजार ६४० अमेरिकी डलर कमिसनका रूपमा बुझेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।
यस्तै हाल कारागारमा रहेका विकल पौडेलले समेत अमेरिकाको बैंक अफ अमेरिकामा २ लाख ८९ हजार ५८० अमेरिकी डलर जम्मा गरी श्रीमती एलिना बस्नेतको नाममा अमेरिकामा घर खरिद गरेको, सिंगापुरको बान्कोटेकबाट ९ लाख ९ हजार ४४१ अमेरिकी डलर र इन्स्टासेफबाट १ लाख ३९ हजार ९४६ अमेरिकी डलर कमिसनका रूपमा लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय घुस वापत जग्गा नै लिने प्रवृत्ति बढेको अख्तियारले जनाएको छ । अहिले कारागारमा रहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख ठेकेदार प्रेमप्रकाश ढकालसँगको मिलेमतोमा अधिकारीले ललितपुर महानगरपालिका–५ स्थित १३ आना जग्गा घुसस्वरूप प्राप्त गरेको र सो जग्गाको मूल्य २ करोड ७५ लाख रुपैयाँ माथि रहेको खुलेको छ ।
यस्तै, लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख एवं वरिष्ठ डिभिजनल इन्जिनियर सरोज भट्टराईले पनि ठेक्का मिलाइदिएबापत बाबुल निर्माण सेवाका सञ्चालक सफिक अहमदबाट प्राप्त ८० लाख रुपैयाँ घुस आफ्नी ७१ वर्षीया आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको साविक गुण्डु गाविस–३, हाल सूर्यविनायक नगरपालिका–७ मा जग्गा किन्न प्रयोग गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
यस्तै राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले एचके इन्टरप्राइजेज प्रालिविरुद्ध परेको राजस्व चुहावटसम्बन्धी उजुरी र अनुसन्धानलाई तामेलीमा मिलाइदिन भन्दै कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ विबाट ७० लाखमध्ये भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ स्थित दिव्यश्वरी आयोजनाभित्रको कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर जग्गा घुस वापत लिएको अख्तियारले जनाएको छ । यो प्रकरण भ्रष्टाचार मुद्धा चलेर अधिकारी निलम्बित भएका छन् ।

