काठमाडौं । प्रधानमन्त्री वालेन साहको दिल्ली भ्रमण कति सफल वा कति असफल ? यस्का आ आफ्नै कोणबाट व्याख्या र विश्लेषण भइरहेको छ तर उनीसँग विवादित पृष्टभूमिका एक पछि अर्काे व्यवसायीहरु पछि लागेर दिल्ली पुगेको भेटिएको छ । प्रधानमन्त्रीसँग ३५ जना सरकारी टोलीमा यस पटक पत्नी नलगेको भन्दै चर्चा र प्रशंशा भइरहेको छ तर आफ्नै खर्चमा ५२ भन्दा बढी व्यवसायीहरु दिल्ली पुगेकामध्य कोही प्रहरीको फरार सूचीमा रहेका, कोही सम्पत्ति शुद्धीकरण मुद्धा खेपिरहेका त केही प्रधानमन्त्रीलाई उपहार दिएर चर्चामा आएका व्यवसायीहरु रहेको पाइन्छ ।
भ्रमण टोलीमा सहभागी रहेकामध्ये अधिकांश व्यवसायीहरु विवादित छविका अनुहार रहेका थिए । जसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पूर्व अध्यक्षका, बैंकर्स, निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा पदाधिकारी, होटल व्यवसायी महासंघका पदाधिकारीहरु सहभागीता भएका थिए । विभिन्न विवादमा मुछिएका अञ्जन श्रेष्ठ, भवानी राणा सोही भ्रमण टोलीमा सहभागि रहेका थिए । हाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहेका अन्जन डिडिसी प्रकरण मुछिएर प्रहरी अनुसन्धानमा परिरहेका व्यवसायी हुन ।
प्रधानमन्त्रीसँगै दुई दिने राजकीय भ्रमणमा दिल्ली पुगेर फर्कनेमा कमलकिशोर मालपानीका छोरा नितेश मालपानी पनि छन् । मालपानी करेन्ट चाउचाउ र त्रिमूर्ति इन्डस्ट्रिजसँग सम्बद्ध छन् । सुर्तीजन्य उद्योग चलाउने श्रीराम टोबाको कम्पनीका मालिक हुन् । स्मरण रहोस, गत फागुनको आमनिर्वाचनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव प्रचारमा प्रयोग गरेको आठ करोड रुपैयाँ पर्ने कालो रंगको ल्याण्ड रोभर डिफेन्डर गाडी उनै तिनेश मालपानीले दिएका थिए । राजस्व, सम्पत्ति शुद्धीकरणका साथै दोहोरो नागरिकता प्रकरणमा जोडिएका मालपानी प्रधानमन्त्रीसँगै दिल्ली पुगेर फर्किएका हुन ।
२०७६ मा श्रीराम टोबाकोले करोडौं राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर भएको थियो । उक्त कम्पनीको सेयर स्वामित्वमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई समेत जोडेर गत असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो । तर कमलकिशोर शक्ति र सत्ताका आडमा सदैव उन्मुक्ति पाउँदै आएका व्यवसायी हुन । सोही भ्रमण टोलीमा इभी गाडीका हर्ताकर्ता उज्ज्वल श्रेष्ठ र युमना श्रेष्ठ सो टोलीमा सहभागी थियो । बजेट घोषणाकै मुखमा मुस्ताङ भन्सारबाट ७ सय बढी इभी गाडी भित्र्याउने समूह यही हो । उज्जवल श्रेष्ठ र अर्थमन्त्री बूढानिलकण्ठ स्कूलका सहपाठी रहेको बताइन्छ । सोही फाइदा उठाउँदै करको दर हेरफेरको सूचना चुहाएर ठूलो संख्यामा इभी गाडी नेपाल भित्र्याएको भए पनि शक्तिकेन्द्रको आडमा उन्मुक्ति पाउँदै आएका व्यवसायी हुन । यस्तै सोही टोलीमा हालैमात्र धेरै कर तिरेर सम्मानित भएका राजबहादुर शाहपनि भ्रमण टोलीमा छन् । जाउलाखेल ग्रुपका प्रबन्ध निर्देशक रहेका राजबहादुर गोर्खा ब्रुअरी, हिमालयन डिस्टिलरी, एसियन डिस्टिलरीका मालिक हुन । उनीविरुद्ध १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण र धितोपत्र सम्बन्धी कसुर (सेयर बजार घोटाला) को गम्भीर फौजदारी मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।
यस्तै भ्रमण टिममा कमलेशकुमार अग्रवाल, दीपककुमार मलहोत्रा सहभागी थिए । मलहोत्रा अनेकन काण्ड र विवादमा मुछिएका व्यवसायी हुन । उर्जा मन्त्री भ्रमण टोलीमा नअटाए पनि मोहनकुमार डाँगी, गणेश कार्की भ्रमण टोलीमा सहभागी रहे । यस्तै विनायक शाह, सागर पाण्डे, भरतजंग पाण्डे, दर्शना श्रेष्ठ, डिकिला शेर्पा लामा साथै बलराम गुरुङ, सचिन ढकाल भ्रमण टोलीमा परेका थिए ।
अझैं रोचक त प्रहरीको फरार सूचीमा रहेका निकोलस पाण्डे समेत प्रधानमन्त्रीसँगै दिल्ली पुगेर फर्किएका छन् । निकोलस नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष हुन । व्यवसायी दीपक भट्ट जोडिएको धितोपत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि संलग्न भएको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष पाण्डेलाई पनि प्रतिवादी कायम गरेर अदालतमा अभियोग पत्र दायर गरेको छ । अभियोगपत्र अनुसार पाण्डेलाई फरार प्रतिवादी कायम गरिएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१० घर भएका पाण्डे पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन् । ४८ वर्षीय निकोलस दिपक भट्टले स्थापना गरेको लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक थिए । सिआइबी तथा सरकारी वकिल कार्यालयले दायर गरिएको धितोपत्र सम्बन्धी कसुरमा ८१ जना प्रतिवादी छन् । पाण्डे सञ्चालक रहेको लिबर्टीले नेपाल रिइन्स्योरेन्स लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य बढाउने तथा प्रभावित पार्ने काममा सक्रिय रहेको खुलेको थियो । प्रहरीले पाण्डेले लिबर्टीलाई ९९ लाख हानी पु¥याएको निष्कर्षसहित सरकारी वकिलले सो रकम बिगो मागदावी लिएको छ । उनका बुवा बिक्रम पाण्डे पूर्वमन्त्री एवम् कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । बोलपत्र प्रणाली ह्याक गरेर ठेक्का कब्जा गरेको कसुरमा सीआईबीले विक्रमलाई पनि पक्राउ गरेर अनुसन्धानमा परेका व्यक्ति हुन । प्रधानमन्त्री शाह यस्तै विवादित व्यक्तिहरुलाई पछाडि लगाएर दिल्ली पुगेर फर्कि आएका छन् ।

