म पुस १८ गते बिहान बझाङको सदरमुकाम चैनपुर पुगेँ । सिमसिम पानी परिरहेको थियो । हिउँ जमेको देख्न सकिन्थ्यो । म सामाजिक तथा प्राविधिक विकास सेवा समूह नामक संस्थाका कलकबहादुर खत्रीको सम्पर्कमा पुगेँ । त्यही संस्थाका प्रकाश विष्टले मलाई आफ्नो कोठा नै मलाई उपलव्ध गराएर सदासयता देखाउनु भयो । थाक्नु भएको होला भनी आज दिनभर आराम गर्न भन्नुभयो । खाना खाएर म सुतेँ । बत्ति थिएन, टेलिफोन थिएन । दिनभर सुतेर नै बिताएँ । आएको कामको मेसो नपर्दा नमज्जा पनि लागिरह्यो तर आराम पनि आवश्यक भइसकेको थियो । बत्ति नभएकाले मेरो कुनै काम भएन । बेलुका एक्कै क्षण सोलारबाट मोबाइल चार्ज गरियो । प्रकाश विष्टले यो सबैको चाँजोपाँचो मिलाउनु भयो । उहाँ असाध्यै सहयोगी मनको हुनुहुँदो रहेछ । घरायसी अनी कामको विषयमा पनि कुरा भयो ।
पुस १९ गते शनिबार बिहान प्रकाश विष्ट र म चैनपुरको रिङरोड घुम्न निस्कियौँ । ६ वर्षको अगाडिको तुलनामा धेरै परिवर्तन भइसकेछ । पहिला पिच रोड थिएन बजारमा । घरहरु धेरै पक्की भएछन् । बजारको स्वरुपमा केही परिवर्तन भएछ । बिहानै प्रकाश विष्टको एनसेल फोनबाट घरमा फोन गरेँ । अहिलेसम्म यो सिमलाई फोन नै मानेको थिइनँ । आज यसैको साहरा लिनु प¥यो भन्दै दुईसय रुपैयाामा सिम किनेँ । ५० रुपैयाँको रिचार्ज गरेँ । डाटा चलाएर केही फोटा फेसबुकमा अपलोड गरेँ । आज पनि मेरो कामको मेसो सुरु हुने भएन । मेरो काम सम्बन्धीको जानकारी भएको व्यक्ति आइपुग्नु भएन । मेरो यसपालाको साइत नै गतिलो भएन कि भन्ने लाग्यो ।
दिउँसो ‘भुव’ हेर्न जाने कुरा भयो । कलक खत्रीसहित अन्य २ जना (रामबहादुर सिंह र मिश्रबहादुर रोकाया) सेती नदी तरी पल्लो गाउँतिर लाग्यौँ । भुव पर्वको नाच नजिकबाट त हेर्न पाइएन तर परबाट नाचेको हेरियो । ढाल र तरबार प्रदर्शन गरी खेलिने यो चाडलाई पाण्डव र कौरवको युद्धको रुपमा हेरिँदोरहेछ । पुस महिनाको औँशीवाट सुरु भई पूर्णिमासम्म चल्दो रहेछ । केही दिनअघि भुव पर्वमा सुदूरपश्चिम प्रदेशले बिदा दियो भनेको सुनेको थिएँ । तर त्यो पर्व के थियो चासो जागेको थिएन । आज थाहा पाइयो । यस पर्वमा सार्वजनिक जग्गामा भुवा साडो खेल्ने गरिँदो रहेछ । भुवा जगाउने भनिँदोरहेछ त्यो भनेको ठूलो मुढो बाल्ने रहेछ । त्यसलाई केन्द्र मानी खेलिँदो रहेछ । घर घरमा खेल्न जाने सन्दर्भमा जेठो छोरो जन्मेको घरमा, विवाहा भएको घरमा र गाउँका जान्ने मान्ने ठूलाबडाको घरमा नछुटाई जाने गरिन्छ रे । गाउँ गाउँमा घर घरमा गई खेल्ने, हातहतियारको पूजा गर्ने, बोका काट्ने गरिँदोरहेछ । त्यो काटेको बोकाको मासु हरेक घरमा प्रसादको रुपमा लगिँदोरहेछ । दमाइहरुले बाजा बजाउने एकजना अगुवाले ढाल तरबारको इसारा गर्ने सोही आधारमा अरु नाचेर मनाइँदोरहेछ । छिमेकी गाउँमा समेत जाने चलन रहेछ । यसरी खेल्न जानेलाई भस्सो भन्ने गरिँदोरहेछ । हामी हिँड्दै गर्दा भस्सो कता गएछ भनेको वाक्य धेरैको मुखवाट सुनेँ । यो पर्वलाई मेलमिलापको पर्वको रुपमा हेरिँदोरहेछ । यतातिर हरेक पर्वलाई त्योहार (तिहार) भन्ने चलन हुन्छ । हाम्रातिर चाडपर्व भनेकोजस्तो यहाँ चाहिँ तिहार (त्योहार) भनिन्छ । तिहारलाई चाहिँ के भनिन्छ भनी मैले सोध्दा पहिला पहिला ‘जुवा तिहार’ भन्ने गरिन्थ्यो रे ।
हामी ४ जनाको टोली गाउँ घुम्दै सेती नदीको तरेर चैनपुर बजारभन्दा पूर्व तर्फको अग्लो स्थानमा रहेको समतल जमिनमा पुग्यौँ । सेनाको क्याम्पसमेत रहेको स्थान रमणीय थियो । खेती लगाएको समथर फाँट देखियो । यसलाई पँडेस गाउँ भनिँदोरहेछ । साविक हेमन्तडाँडा गा.वि.स. हाल जयपृथ्वी नगरपालिका वडा नं. ३ पर्दछ । यहाँको रोचक पक्ष भनेको खेतीयोग्य जमिनमा बस्ती बसेको पाइएन । सेती नदीभन्दा केही माथिको भागमा फाँट रहेको छ । फाँटलाई यतातिर ‘जिउला’ भन्ने गरिन्छ । सो फाँटमा हरियो गहुँ बाली रहेको छ । फाँटको भित्तामा बाक्लो बस्ती छ । बस्ती र खेतको बीचमा सडक बनाएको छ । बस्ती कम उब्जनी हुने भिरालो जमिनमा छ । खेतलाई सुरक्षित राखेको देखियो । अहिले केही पक्की घरहरु सडक किनारामा खेततर्फ बनाएको देखियो । नत्र खेती योग्य जमिनलाई सुरक्षित राखिएको पाइयो । केही वर्षमा खेतका पाटाहरुमा पक्की घरहरु उम्रने हुन की ? आशंका छ तर पनि अहिलेको अवस्था हेर्दा चित्ताकर्षक देखिन्छ । धित मर्ने गरी फोटो खिचेँ । चारैतिर माथि माथि सेतो हिउँको घेरा देख्न पाइयो । घुमेर चैनपुर पूरै देख्ने स्थानमा पुगियो । साह्रै आनन्द आउने । मन लाग्दो फोटो खिचियो । मैले चैनपुर बजारलाई पहिलोपटक यसरी देख्न पाएको थिएँ । रमाइलो हेर्दै रमाइलो गफ गर्दै चैनपुर बजारतर्फ ओर्लियौँ । सेती नदी शान्त देखियो । यसले खासै बिगार गरेको देखिएन तर बाडुलीखोला भने उद्दण्ड देखियो । चैनपुर बजार दुईवटा नदी घेरिएको छ । बझाङ जिल्लाको सदरमुकामलाई माथिल्लो भूगोलवाट नियाल्दा साँघुरो स्थान देखिँदोरहेछ । यहाँ व्यक्तिका घरभन्दा सरकारी भवन ठूला र आकर्षक देखिए । प्रहरीको कार्यालय बजारको सिरानका सदरमुकामलाई शान्ति सुरक्षा दिन बसेको देखिन्थ्यो भने सेना नदी पारि पट्टी उँचो स्थानमा आकर्षक तरिकाले चैनपुरलाई रक्षा गर्न बसेको जस्तो देखिँदोरहेछ । सेती नदी तर्ने विभिन्न स्थानमा झोलुङे पुल हालेको भेटियो ।
पुस २० गते पनि चैनपुर बजार घुमेर नै दिन बित्यो । सुआहारा परियोजनामा कार्यरत शेरसिंह बिष्ट मेरो पुराना साथी बैतडीका जगदिश बिष्टका भाइ हुनुहुँदो रहेछ । बैतडी मैले चिनेका उहाँले पनि चिन्नुहुँदो रहेछ । पुराना कुरा गरी दिन बिताएँ । साँझतिर बजार घुम्न निस्केको पुराना मित्रहरु मंगलसिंह, भुवन सिंहसँग अकस्मात भेट भयो । चिया खाँदै रमाइलो गफ गरेर समय कटाइयो ।
बझाङ जिल्लामा १० गाउँपालिका र २ नगरपालिका रहेका छन् । यहाँका बासिन्दाले हिउँ पर्दा पनि यो सास्ती खेप्नु परेको देखेर म छक्कै परेँ । कुनै वैकल्पिक व्यवस्था छैन । चैनपुरमा राष्ट्रिय प्रशारण लाइनको बिजुलीको कुनै टुंगो भएन, टेलिकमको फोनको नेटवर्क हरायो । एनसेलको टावर पनि आउँदै जाँदै गरिरहेको छ । इन्टरनेट चल्ने त कुरै भएन । १७ गतेबाट जिल्लाबाहिर आवतजावतको यातातयात सेवा ठप्प छ । यो अवस्थाबाट कहिले मुक्ति पाउने होला ? खै ।
पुस २२ नते मेरो भाग्य खुल्ने भो । यहाँबाट मुक्ति पाउने अवसर मिल्ने भो । केयर नेपाल सुआहारा कार्यक्रमका रामबहादुर मिजार पनि म जस्तै बझाङमा फस्नु भएको थियो । उहाँहरु मेरो जोडी जिप लिएर हिँड्ने सल्लाह भो । आज राति फेरि हिमपात हुने मौसम विभागले जनाइसकेको थियो रे । उसको भनाइ पुगिरहेको छ । त्यसैले हामी झनै आतिएर जाने निधो गरियो । सडकको हिउँ डोजरले सफा गरेर साइडमा हिउँको डल्लो पारेर राखेको रहेछ । वाटामा हिउँको रमाइलो हेर्दै तर बाटोमा रोकिनु पर्छ की भन्ने डर थियो । यहाँ धरान भन्ने स्थान पनि रहेछ । पूर्वतिरका चर्चित स्थानहरुको नामको स–साना बजारहरु भेटिँदा रहेछन् । जस्तै धरान, पोखरा, कीर्तिपुर । हिउँको कारण रोकिनु पर्ला भनी चिया पनि नखाई अगाडि बढिरह्यौँ । बाटोमा बाक्लो हिउँ जमिरहेको थियो । पानी पनि सिमसिम परिरहेको थियो । हामी साँझ छिप्पिएपछि डडेल्धुरा बजार पुग्यौँ । अनि म, डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यको पाहुना हुन पुगेँ ।