बैतडी घटनाले जन्माएको आशंकाहरु

लेख

 
कमलराज राई
कञ्चनपुरकी बालिकाको बलात्कारीलाई पत्ता नलाग्दै बैतडीमा पनि यहि प्रकृतिको घटना दोहोरिएको छ । कञ्चनपुरको घटनालाई प्रहरी प्रशासनले किनारा लगाउन नसक्दा अपराधीहरुको मनोबल बढेको देखिएको छ । प्रहरी प्रशासनको यो कमजोरीका कारण अझै कति चेलीहरु बलात्कृत भएर मृत्युसँग मितेरी गाँस्नुपर्ने हो ? भन्नै नसकिने भएको छ । कुनै बेला आफूलाई विश्वकै उत्कृष्ट भएको दाबी गर्ने प्रहरी प्रशासन अहिले बादो भएको छ । नेपाल प्रहरीले जनताको सुरक्षाभन्दा पनि गुन्डागर्दीसँग मिलेर कमाउ अभियान चलाउने, अपराधी जोगाउनेभन्दा अरु केही काम गरेको देखिएको छैन । पछिल्लो समय आफू कसरी माथिल्लो दर्जामा पुगेर हिन्दी चलचित्रको ‘सिंघम’ बन्ने मात्र होइन, यहि आवरणमा कमाउने धन्दा चलाउने तिनै प्रहरी हुन् । प्रहरीको पछिल्लो गतिविधिप्रति आमजनताले सन्तुष्टि देखाएका छैनन् । जनताले छाक काटेर तिरेको करबाट तलब भत्ता खाएर प्रहरी प्रशासनले जनताको सुरक्षा दिन सक्दैन भने यसबाट जनताले कसरी चित्त बुझाउने ? यसमाथि नेताहरुले आफ्नो आफन्तलाई प्रहरीको माथिल्लो दर्जामा पु¥याउन हदैसम्म गिर्छन् भन्ने कुरा केही दिनअघिको प्रहरीको बढुवा प्रकरणले पनि देखाएको छ । प्रहरीमा यस्तो क्रियाकलाप चलेपछि प्रहरीको व्यावसायिकता पनि घटेकै हो । नेताहरुले यस्तो हर्कत गरेपछि व्यावसायिक प्रहरी सधैँ छेउ लाग्नुपर्ने अवस्था आउँदा प्रहरीले आफ्नो क्षमताअनुसार गतिविधि देखाउन नपाउँदा कञ्चनपुर, महोत्तरी बैतडीका घटनाहरु बारम्बार भइरहेको छ ।
प्रहरी प्रशासन चुस्त र दुरुस्त राखेर जनताको जिउ, धन सुरक्षा गर्नुपर्ने बेला नेताहरुको हस्तक्षेपका कारण तहसनहस भएको छ । यस्तो बेला सरकारले सुधारका योजना ल्याउन नसक्दा बैतडीको घटना भएको हो । प्रहरीले दोषी पत्ता लगाएर कारबाही गर्ने हो भने अन्य अपराधीहरुले पनि यस्तो अपराध गर्नबाट डराउने थिए तर यस्तो हुन सकेको छैन । आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सरकार देखिँदा हज्जारौँ नारीहरु असुरक्षित हुनु परेको छ । यहि क्रम जारी हुने हो भने अब हरेक चेलीले घरभित्र नपसेसम्म असुरक्षित महसुस गर्नुपरेको छ । गृहमन्त्री, जो मुलुकको आन्तरिक सुरक्षाको जिम्मा लिएको हुन्छन्, तर उनैले केही महिनाअघि अन्य मुलुकहरूमा हुने बलात्कार संख्याभन्दा नेपालको न्यून भएको भनेर नालायकीपन भाषण गरे । उनको भाषणको आसय बलात्कारका घटना अझै नबढेसम्म आफूले कारबाहीका लागि खासै ध्यान नदिने सुनिन्थ्यो । दैनिकजसो हुने बलात्कारको चित्कारले नब्यूँझिने गृहमन्त्रीले बैतडीको घटनाले ब्यूँझने कि नब्यूँझने ? एक बालिका घरबाट बाहिर निस्कनै गाह्रो भइसक्दा पनि संवेदनशीलन नबन्ने गृहमन्त्रीलाई नेपाली जनताले आफ्नो गाँस काटेर तिरेको करबाट पाल्ने कि नपाल्ने ? अब नेपाली जनताले फैसला गर्नुपर्ने बेला आएको छ । एक बालिकाको ज्यान लिइएको छ, यहाँ बलात्कारको कुरा पनि मिसिएको छ, बलात्कारको सम्बन्धमा अनुसन्धानका प्रतिवेदन आएपछि लेखौँला, तर अहिलेका लागि यो हत्या, हिंसा घटना बढ्दा पनि प्रहरी प्रशासन परिचालन गर्न नसक्नु गृहमन्त्रीको सबैभन्दा ठूलो कमजोरी हो । जनताको जीउज्यानको सुरक्षा गर्ने जिम्मा गृहमन्त्रीको हो, तर उनैले घटनाका दोषी पत्ता लगाउन १२ वर्ष लाग्ने भनेर भन्दै हिँडेका छन् ।
निर्मला हत्याकाण्डको दोषी पत्ता लगाउन नसक्नेले अब बैतडीको घटनाको छानबिन होला भनेर भने विश्वास गर्ने आधार छैन । लोकतन्त्र भनेको नै जनताको चित्त बुझाएर गरिने शासन पद्धति हो तर अहिले त शासकवर्गले आफ्नो स्वार्थलाई मात्र ध्यान दिएर बसेको देखिन्छ । अहिले कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरण सम्झाउने गरी बैतडीकमा एक बालिकाको विभत्स हत्या गरिएको समाचार बाहिर आउँदा पनि सरकारले कुनै कदम उठाउन सकेको छैन । बलात्कृत किशोरीको पोस्टमार्टम गर्ने र त्यसको प्रतिवेदन सार्वजनिक गर्नेभन्दा अरु केही गन नसकेको प्रहरी प्रशासनबाट जनता ढुक्क हुन सक्ने ठाउँ छैन । दोषी पत्ता लगाएर कारबाही गर्नका लागि सरकारले आजदेखि नै सुरु गर्नुपर्छ । फेरि यो घटनामा पनि सरकारले अझै बलात्कारको घटना अझै कम भएको भनेर भन्ने छुट छैन ।
बैडतीको घटनाले अब महिलाहरू एक्लै हिँड्न नहुने भएको छ । महिलाको सुरक्षा नहुने हो भने सरकार रहनु र नरहनुमा कुनै फरक देखिँदैन । महिलाको सुरक्षा दिनै नसक्ने हो भने अब सरकारले घोषणा गर्नुप¥यो । एक महिलाको विभत्स हत्या भएको समाचारले आममहिलाहरूलाई स्तब्ध बनाएको छ । बैतडी घटनामा बलात्कारपछि हत्य भएको प्रमाणित भएको छ । बलात्कारपछि हत्या गरिएको समाचार दिएर प्रहरीले आफ्नो काम पूरा गरेको ठानेको छ । कञ्चनपुरमा भएको गल्तीबाट प्रहरीेले सिक्नुपर्छ । अब बैतडी घटनाको सत्यतथ्य बाहिर नल्याउने हो भने यो सरकारको नियतमाथि शंका गर्दा हुने भएको छ । घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्ने हो भने अपराधी भाग्नै सक्दैन तर सरकारले नै वास्ता नगर्ने हो भने यो घटना पनि कञ्चनपुरकै जस्तो हुने भएको देखिन्छ । यस्तै भयो भने कति वटा बलात्कारपछि हत्याको घटना भएपछि सरकार सम्वेदनशील बन्छ ? यो कुरा जनतालाई गृहमन्त्रीले भन्नै पर्छ । महिलालाई विद्यालय पठाउँनै नहुनेजस्तै भएको छ । महिलाको सुरक्षामा सरकारले कुनै योजना ल्याउन सकेको छैन ।
कञ्चनपुरकी बालिकाको बलात्कार गरेर हत्या गर्नेलाई पक्राउ गर्न बाह्रवर्ष लाग्ने भनेर प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक कार्यक्रममा नै भनिसकेका छन् । यस्तो क्रियाकलापले जनता खुसी हुँदैनन् । उनीहरुले बलात्कारी खोज्नुभन्दा पनि कतिपय अपराधीहरुलाई पक्राउ गर्न बाह्रवर्ष लाग्ने भनेर उम्किरहेका छन् । अहिले उनीहरु देश र जनताको सुरक्षाभन्दा पनि राज्यको ढुकुटीबाट चुनावको भाषण छाँट्दै हिँडेका छन् । देश र जनताको काम गरेर जनताको मन जित्नुभन्दा पनि आफूविरुद्ध उभिएकाले उनीहरुलाई चिडियाखानामा हाल्ने धम्की दिनु कतिसम्मको जायज हा । जनताले छाक काटेर तिरेको करबाट तलब भत्ता खाएर अनेकौँ भाषण दिने छुट उनीहरुलाई भएको देखिएको छ । नेताहरु किचलोमा लागेर हिँडिरहँदा छोरीहरुको इज्जतमाथि दिउँसै धावा बोल्ने काम भइरहेको छ । महिलाहरु असुरक्षित भएतिर सरकराको ध्यान छैन । केही भइहाल्यो भने अपराधी पत्ता लाग्न बाह्र वर्ष लाग्छ भनेर भन्ने हो भने सरकार हुनु र नहुनुमा के फरक भयो र ?
बैतडीकी एक महिलाको बलात्कारपछि हत्या भएको पुष्टि हुनुलाई नै प्रहरीले ठूलो उपलब्धि ठानेर बसेको छ । दिउँसै बलात्कारपछि हत्या भएको पुष्टि हुनु राज्यको लागि सबैभन्दा ठूलो लज्जास्पद कार्य हो । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको प्रहरीले जानकारी दिएको छ । मृतक किशोरीको भेजिनल स्वाब थप परीक्षणका लागि काठमाडौं ल्याइएको छ । यसले बलात्कार एकल थियो की सामूहिक थियो भन्नेबारे टुंगो लगाउने छ । तर, यत्ति पत्ता लगाएर बस्ने हो भने प्रहरी प्रशासनको काम के ? बलात्कारपछि घाँटी थिचेर ती किशोरीको हत्या भएकाले अब प्रहरीले यसलाई पत्ता लगाउन नसक्ने हो भने अपराधीहरुको मनोबल बढ्ने छ । जस्ले गर्दा छोरीहरु घरबाहिर निस्कन नै डरलाग्दो अवस्था हुनेछ ।
मर्ने मरिसकेपछि अब यसको प्रतिवेदन ल्याएर काम छैन, अब अपराधी पत्ता लगाएर कारबाही अगाडि बढेको समाचार जनताले सुन्न चाहेका छन् । तर, प्रहरीले भने घटनाको बेलिबिस्तार लगाएर आफ्नो जिम्मेवारीबाट पन्छिन खाजेकोजस्तो देखिएको छ । बैतडीको घटनामा संलग्नलाई पक्राउ गर्न नसक्ने हो भने अब किशोरीहरु विद्यालय जानुबाट वञ्चित हुनुपर्ने भएको छ । महिलाहरु एक्लै हिँड्नै नहुने भयो भने गृह प्रशासन सञ्चालन गर्ने सञ्चालकहरुले के का लागि राज्यबाट सुविधा लिइरहेका छन् । प्रहरीले अपराधी पत्ता लगाउन सकेन भने के प्रहरीहरुलाई जनताले ज्वाइँ पालेसरह पाल्ने हो त ? ती किशोरीको बुबाको डेढ महिनाअघि मात्र मृत्यु भएको थियो । उनको अभिभावक नहुनेबित्तिकै उनीमाथि बलात्कार गरेर हत्या हुने हो भने गृहमन्त्रीले प्रशासन चलाउन नसकेको आधारमा राजीनामा दिने कि नदिने ? जनताको सुरक्षामा ध्यान दिनु नसक्ने गृहमन्त्रीले आफ्ना विरोधीलाई चिडियाखानामा थुन्ने धम्की दिनु कतिसम्म जायज छ ? केही भइहाल्यो भने विकसित मुलुकमा समेत धेरै बलात्कारका घटनाहरु हुने भएकाले नेपालमा हुने बलात्कार केही होइन भनेर कानमा तेल हालेर बस्ने गृहमन्त्रीको बखान कुन शब्दले गर्ने ? बलात्कारलाई सामान्य रुपमा अथ्र्याउने गृहमन्त्रीमाथि जनताले कारबाही गर्ने बेला भएको छ । अन्यथा बलात्कारीले १२ वर्षसम्म अनेकौँको बलात्कार गरिरहने छन् । प्रहरीले अपराधी पत्ता लगाउन नसक्ने हो भने जनताले कसरी म सुरक्षित छु भनेर विश्वास गर्ने ? प्रहरीले बैतडी घटनाका दोषी पत्ता लगाउन नसक्ने हो भने नेपाल प्रहरीको क्षमतामाथि नै प्रश्न उठाउन मिल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *