प्रधानमन्त्रीको शैली देख्नेलाई लाज

राजनीति समाचार

काठमाडौं– प्रधानमन्त्री ओलीको फेसनै भएको छ, तयारी पूरा नभई शिलान्यस र कामै समापन नभई उद्घाटन ठोक्ने । एकातिर विकासको धिमा गति, त्यहीमाथि यस्तो हतपत र एउटै आयोजना दुई तीन पटकसम्म उद्घाटन भएको देख्दा विकासविद्हरू चाहिँ ‘…..लाईभन्दा देख्नेलाई लाज’ भएको टिप्पणी गर्दैछन् ।
प्रधानमन्त्रीलाई शिलालेखमा नाम लेखाउने यति हुटहुटी छ कि, त्यही कारण सिंहदरबारदेखि धरहरा, सुनकोशीदेखि मेलम्ची, हुलाकी राजमार्गदेखि काली गण्डकी करिडोर पुग्न बाँकी कहीँ छैन । मामुली गाउँपालिकाको अध्यक्षले उद्घाटन गरे पुग्ने कार्यक्रममा समेत पुग्नै पर्ने धपेडी छ प्रधानमन्त्रीलाई ।
भूकम्पले भत्काएको धरहरालाई सिसाको फ्रेममा सुरक्षित राखी नयाँ स्वरुपको भ्यु टावर तयार पा¥यो । जसको उद्घाटन गत ११ बैशाखमा प्रधानमन्त्री ओलीले गरे । जसको काम ६० प्रतिशत मात्र सकिएको हो भन्दैछन् निर्माण कम्पनी । अझैँ ४० प्रतिशत काम नै बाँकी छ । निर्माण कम्पनीका अनुसार यो तीन अर्ब आठ करोडको सम्झौता हो, जसमध्ये १ अर्ब ६८ करोडमात्र खर्च भएको छ । निर्माण कम्पनीले तामोशी सन्देशलाई सुनाए अनुसार, एकदमै स्पिडमा काम भयो भने आगामी ०७८ पुससम्ममा धरहराको सबै काम सम्पन्न हुन्छ । तबमात्र निर्माण कम्पनी रमण कन्स्ट्रक्सनले धरहरा सरकारलाई हस्तान्तरण गर्छ । प्रधानमन्त्री ओलीले उद्घाटन गरेको कम्तिमा ८ महिनापछि मात्र सर्वसाधारणले बल्ल धरहरा चढ्न पाउनेछन् ।
३ फागुनमा ओली दोस्रो पटक प्रधानमन्त्री बनेको दिन । सोही दिनको छेको पारी वर्ष दिनपछि प्रधानमन्त्री ओली सिंहदरबार छिरे र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नयाँ भवन उद्घाटन गरे । जसको ७५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । अझैँ २५ प्रतिशत काम बाँकी नै छ । चन्द्रशमशेरको पालामा बनेको सो भवन ८७ करोड लागतमा प्रवलीकरण गरिएको हो । नयाँ निर्माण भएकै जसरी समुद्घाटन गरियो । यसरी काम सकाउनु अघि उद्घाटन गरिदिँदा निर्माण कम्पनीले अतिरिक्त १० प्रतिशत कमिसन बुझिसक्यो ।
यस्तै, पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना हो मेलम्ची । परीक्षणकालमै रहेको मेलम्चीको काम समापन नभई गत फागुन तेस्रो साता प्रधानमन्त्री ओलीले उद्घाटन गरे । उद्घाटनमा पूर्वप्रम भट्टराईको नामसमेत उच्चारण गरिएन । मेलम्ची परियोजनामा बसेर काम गरेका एक कर्मचारीका अनुसार, परीक्षणकै क्रममा रहेको मेलम्चीको उद्घाटनमा प्रधानमन्त्रीले हतारो देखाए ।
प्रधानमन्त्री ओलीको उद्घाटन मोह कस्तो छ भने, एउटै परियोजना पटक–पटक उद्घाटन भइसकेको छ । जस्तो अहिलेसम्म हुलाकी राजमार्ग । ६ वर्षअघि रमेश लेखक भौतिक योजनामन्त्री हुँदा उद्घाटन भइसकेको हो यो । भौतिक योजना मन्त्रालयका एक कर्मचारीका अनुसार १८ सय किमी पूरा बन्नुपर्ने सडक हालसम्म ६ सय किमीभन्दा बढी काम भएको छैन । त्यही परियोजनालाई फेरि प्रधानमन्त्री ओलीले उद्घाटन गर्न भ्याइसकेका छन् । यस्तो सिलसिला यतिमै रोकिँदैन्, प्रधानमन्त्री ओलीले पूर्वतयारी बिना नै १६५ निर्वाचन क्षेत्रको २२ सय किलोमिटर सडक सञ्जालको शिलान्यास एकै पटक गर्न भ्याएका छन् । ३ वर्षमा पूरा गर्ने लक्ष्य लिइएको यो आयोजनाको बजेट ५७ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । रमाइलो चाहिँ सडकको शिलान्यास भइसक्यो, अहिलेसम्म बजेट विनियोजन भएको छैन । यसैलाई भन्छन्, ‘नानी पाउनु कहिले, धोक्रो सिउनु अहिले ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *