महन्थ ठाकुरहरू पुगे सडकमा जनता समाजवादी कम्युनिस्टको कब्जामा

राजनीति

निर्वाचन आयोगले टाउको गनेर निर्णय गरेपछि जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहले प्राप्त गरेको छ । गत साउन ११ गते कार्यकारणी समितिका सदस्यको टाउकोको आधारमा जनता समाजवादीका सम्बन्धमा उत्पन्न भएको विवादको निक्र्यौल गर्ने निर्वाचन आयोगको निर्णयअनुसार गत साउन ११ गते निर्वाचन आयोगमा उपस्थित भएका जनता समाजवादीको ५१ सदस्यीय कार्यकारणी समितिका सदस्यहरू मध्ये ३५ जना उपेन्द्र यादव पक्षमा र १५ जना महन्थ ठाकुरको पक्षमा देखिएपछि र अहिले जेल जीवन बिताइराखेका रेशम चौधरी दुवै पक्षमा नभएको स्थितिलाई आधार मानेर निर्वाचन आयोगले जनता समाजवादीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । पार्टीको आधिकारिकता प्राप्त गरेसँगै उपेन्द्र यादव पक्षले जनता समाजवादीको नयाँ कार्य समिति गठन गरेर त्यसको जानकारी निर्वाचन आयोगलाई समेत उपलब्ध गराइसकेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले गत साउन ११ गते टाउको गन्तीको समयमा महन्थ ठाकुर पक्षमा रहेका १५ जना नै कार्यकारणी समितिका सदस्यलाई स्थान नदिई ३५ सदस्यीय कार्यकारणी सदस्य गठन गरेको छ र अब जनता समाजवादीमा उपेन्द्र यादव एकल अध्यक्ष हुने सम्बन्धमा पनि यो पुनर्गठनले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिन अस्वीकार गरेपछि जनता समाजवादीको महन्थ ठाकुर पक्ष अहिले ‘घर न घाटको’ अवस्थामा पुगेको छ । निर्वाचन कानुनअनुसार पार्टी विधानका लागि कार्यकारणी समिति अथवा सांसदको चालिस प्रतिशत संख्या नपु¥याई अर्को पार्टी गठन गर्दा ठाकुर पक्षका १२ जनाको सांसद पद नै जाने स्थिति रहेको छ । त्यस कारण ठाकुरको नेतृत्वमा तत्काल अर्को पार्टी गठन हुने स्थिति छैन । निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादवका बीचमा उत्पन्न भएको विवादलाई कार्यकारणी सदस्यको टाउको गनेर निर्णय गरेको भए पनि अब जनता समाजवादी पार्टी पुराना कम्युनिस्ट नेताहरूको एकलौटी अधिपत्यमा पुगेको छ । र, अब जनता समाजवादीले औपचारिकता निर्वाह गर्न बाहेक मधेश मुद्दा उठाउने सम्भावना पनि समाप्त भएको छ । निर्वाचन आयोगको त्यो निर्णयअनुसार अब जनता समाजवादीको नेतृत्व पुराना कम्युनिस्टहरूले गर्ने छन् । स्मरण रहोस् अध्यक्ष उपेन्द्र यादवको राजनीति नेकपा एमालेबाट सुरु भएको थियो । यसैगरी बाबुराम भट्टराईले कम्युनिस्ट राजनीतिलाई मसालबाट सुरु गरेर माओवादीसम्म पु¥याएका थिए । लगभग १५ वर्ष माओवादी केन्द्रमा रहेर कम्युनिस्ट राजनीति गरेपछि संविधानसभाबाट संविधान जारी भएलगत्तै माओवादी केन्द्र र कम्युनिस्ट विचारधारा परित्याग गरेर डा.भट्टराईले नयाँ विचारको नयाँ शक्ति पार्टी गठन गरेका थिए । यसैगरी यो पार्टीको शीर्ष नेता रहेका अशोक राई र राजेन्द्र श्रेष्ठले पनि नेकपा एमालेमा रहेर लामो समयसम्म कम्युनिस्ट राजनीति गरेका थिए । अब निर्वाचन आयोगको निर्णयअनुसार जनता समाजवादीको नेतृत्व पूर्ण रूपमा पुराना कम्युनिस्ट नेताहरूको हातमा पुगेको छ । यसैगरी निर्वाचन आयोगको यही निर्णयले मधेशी मुद्दालाई प्रमुखताका साथ अगाडि ल्याउने महन्थ ठाकुर, राजेन्द्र महतोहरू सडकमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *