कार्तिक र चैत्र महिनाको कुनै एक रात मन्त्र पढ्दै हुइइ हुइइको शंखको जस्तो आवाज प्रायः हरेक घरमा सुनिन्थो । काठमाडौं तिर पनि राती त्यस्तै आवाज कहिले कांही सुन्न पाइन्छ । यो आवाज दिने मान्छेलाई ‘जोगी’ र यो कामलाई ‘फेरि लगाउने’ भनिन्छ । फेरी भन्ने शव्दावलीलाई गुगलमा खोजी गर्दा यो शव्द वुझेन । नवुझ्नु स्वभाविकै छ । त्यो नेपालीको मौलिक अभ्यास हो । गुगलमा फेला नपर्नु के नौलो भयो र । किनभने गुगल नेपालीको सिर्जना पक्कै हैन ।
नेपाली वृहत शव्दकोषको सहायता लिँदा ‘गोरख मतानुयायी फिरन्ता साधुहरुले भुतप्रेत आदीको प्रकोपबाट लोककल्याण गर्न राती घरघरमा घुमेर हरिणका सिङको वाजा वजाउँदै हिड्ने काम’ उल्लेख गरेको पाइयो ।
आज म नेपालीको परम्परागत रुपमा चलेको ‘फेरी’ को वारेमा चर्चा गर्ने कोशिस गर्ने छु । यस विषयमा चर्चा गर्नका लागि इन्द्रनाथ योगीसँग लामो कुराकानी गर्ने मौका पाएँ । उहाँसँग कुरा गर्ने धेरै पहिला देखिको धोको थियो । मैले केही अघि एक लेखमा फेरी लगाउने जोगी विज्ञ हुन् भन्ने विषयमा चर्चा गरेको थिएँ । उहाँसँगको संवादका केही अंश तानेर त्यो लेखमा केही प्रसंग उल्लेख गरेको थिएँ । यस लेख भने फेरीका सामाजिक, सांस्कृतिक र आर्थिक पक्षको वारेमा विश्लेषण गर्ने कोशिस गर्नेछु ।
इन्द्रनाथ योगी भीमेश्वर नगरपालिका वडा नं. ७ मकैवारीमा वस्नु हुन्छ । उहाँको ५ पुस्ता अघि देखि फेरी लगाउने काम गरिरहनु भएको छ । उहाँ अहिले ५१ वर्षको हुनु भयो । आफु १० वर्षको उमेर भए देखि अनवरत रुपमा फेरी लगाइरहुन भएको छ । ४ दशकसम्म निरन्तर एकै खाल्को काम गर्नु भनेको त्यस काम प्रतिको विज्ञता हासिल गर्नु हो अनी काम प्रतिको सम्मान पनि हो ।
के हो त फेरी ?
इन्द्रनाथ योगीका भनाइ अनुसार फेरी लगाउन बराँठको सिंङ आवश्यक पर्दछ । के हो त वराँठ भनेको मेरो प्रश्न थियो । मेरो लागि यो जीवको नाम नैं सुनेको थिंइन । उहाँले थप वताउनु भयो यसलाई कृष्णसार पनि भनिन्छरे । त्यसको सिङ फेरी लगाउन चाहिन्छ । यो फेरी लगाउने काम योगी वा गिरीहरुले गर्न पाउने गर्दछन् । जुनसुकैले गर्न पाउँदैनन् भन्ने मान्यता वा चलन रहेछ । यस्ता मान्यता स्थापित भैरहका नैं हुने गर्दछन् । जोगी वा योगीले जो पुरुषले मात्र फेरी लगाएको भेटिन्छ । जोगीले रातीको समयमा आफ्नो क्षेत्राधिकार भित्र रहेको घरमा गएर गोरखनाथ मन्त्र भन्दै (फलाक्दै) अनी त्यो सिङ वजाएर ३ पटकसम्म घर घुम्ने गरिन्छ । त्यसैलाई फेरी भन्ने गरिन्छ । किन यो फेरी नाम राखियो त भन्ने मेरो जिज्ञासामा, कुनै कालखण्डमा दरबारमा धेरै मान्छे मरेपछि गोरखनाथ क्षेत्रीको भेषमा त्यो सिङ वजाएर भुत पिचास भगाएछन् रे । अनी यो काम एक पटक होइन २ पटक गरेपछि भुत प्रेत सदाका लागि टाढा हुन्छन् । त्यसैले दोहो¥याएर गर्नु परेकोले त्यसलाई फेरी गर्नु भन्ने अर्थमा ‘फेरी’ भनीयो भन्ने उहाँको तर्क छ । शव्दकोषमा उल्लेख भएको अर्थ माथि नैं उल्लेख गरिसकिएको छ ।
फेरी दिउँसो लगाइन्न । राती मात्र लगाइन्छ । यसो हुनुको कारण भुत पिचास राती मात्रै क्रियाशिल हुने गर्दछन् रे अनी त्यो भगाउन यसो गरिएको रे । राती पनि ९ वजे देखि कुखुराको भाले नवासुन्जेल मात्र लगाइन्छ रे । अर्थात राती ३ वजे पछि फेरी लगाइन्न । जुन घरमा राती फन्को मार्दै फेरी लगाइन्छ अनी त्यही घरमा विहान वा दिउँसो सिदा दान लिने चलन चलिआएको छ । सिदामा अन्नपात र भेटी नगद हुने गर्दछ ।
आम्दानी कति हुन्छ ?
यो प्रश्नमा ठ्याक्कै त कसरी थाहा पाउनुर भन्ने उत्तर आयो । तैपनि भन्ने थप जिज्ञासमा उहाँको सोझो जवाफ थियो ‘६जनालाई यहि पेशावाट पाल्ने काम भयो अनी छोराछोरीलाई पनि पठनपाठन पनि यसैवाट चलाएको छु । यो मेरो पेशा नैं हो ।’
थप कुरा गर्दै जाँदा उहाँले रोचक तथ्य र भावनाहरु पोख्नु भयो । वर्षको २ पटक फेरी लगाउने गरिन्छ । उहाँले ७ सय घर जतीमा फेरी लगाउनु हुन्छ । यसका लागि एक सिजनमा १५ दिन खर्च हुन्छ । दानको रुपमा १५ मुरी जती अन्न (धान मकै, गहुँ) जम्मा हुन्छ रे अनी नगद चाँही २० हजार जती हुन्छ होला भन्ने अनुमान छ । कार्तिक र चैत्र महिना गरी ३० दिन जती समय फेरीका लागि खर्चनु पर्ने देखियो । १ महिना काम गरेको उहाँको अर्थमा ४० हजार नगद र ३० मुरी जती अन्न आम्दानी हुने रहेछ ।
अनी मानिसको मृत्यू भएको वेलामा यमराज दान भनेर दिने चलन पनि छ । जोगीलाई वेला वेलामा दान दक्षिणा गर्ने चलन पनि हुन्छ ।
कार्तिक र चैत्रमा नैं किन फेरी लगाइन्छ ? भन्ने प्रश्नमा कुनै प्रष्ट कारण नभएता पनि कार्तिक तिर धान उठाउने वेला र चैत्र तिर गहुँ उत्पादन हुने मौका पारेर गरिएको हुनसक्छ । पहिला पहिला अन्न भित्र्याउने वेलामा दान गर्न पनि सजिलो हुन भएकोले यो चलन चलाएको हुनसक्छ ।
उहाँको जानकारी अनुसार आफु भन्दा ५ पुस्ता अघि देखि यो काम गरिरहेका छन् । वराँठ वा कृष्णसारको सिङ पुर्खावाट हस्तातरण भैआएको हो । अनी कुन कुन घरमा फेरी लगाउने भन्ने पनि योगीहरु एक आपसमा वाँडफाँट गर्ने चलन थियो रे । एकै वाउका सन्तान धेरै भएर फेरी नैं लगाउने हो भने भाई अंश लगाउने चलन थियो रे । तर अहिले यसरी फेरी लगाउने मान्छेको कमी छ । उहाँका छोरोले यो पेशा गर्ने छाँट देखाएको छैन रे । मेरै पुस्ता नैं फेरी लगाउने काममा अन्तीम पुस्ता होला कि भन्ने चिन्ता पनि उहाँमा प्रष्ट झल्कन्थ्यो ।
७०० घर मध्ये कस्तावाट राम्रो दान आउने गर्दछ भन्ने मेरो उरन्डेउलो जिज्ञासामा उहाँको उत्तरले मलाई गम्भिर र आश्चर्यचकित वनायो । दुःख भोगेकाले दक्षिणा राम्रो दिन्छन रे तर पुख्र्याैली धनीको मन खुल्ला रहेको पाइन्न रे । दुःख गरेर कमाएकाले २ हजारसम्म दिने गरेका अनुभव उहाँले वटुल्ने मौका पाउनु भएको रहेछ ।
फेरीको वैज्ञानिक कारण के छ त्यो अनुसन्धानको विषय होला तर पनि यो परम्पराले नेपाली मौलिकताको छनक दिएको छ । यस्ता सांस्कृतिक पक्षले हामीलाई समृद्ध नैं वनाएको छ । यसवाट हानी केही भएको छैननी । फेरी जस्ता परम्परा हाम्रा मौलिक पहिचान हो । यसको प्रवद्र्धन गर्नु हामी सवैको जिम्मेवारी पनि हो । तर पछिल्लो पुस्तावाट यो परम्परा लोप हुने हो की भन्ने चिन्ता वढेको छ । किनकी पछिल्लो पुस्ताले यो सिप लिन चाहेको पाइन्न । यता तर्फ राज्य तथा समाजले पनि ध्यान दिन जरुरी हुन्छ नत्र केही वर्ष पछि नैं फेरी भन्ने शव्दावली शव्दकोषमा सिमित हुने र केही सय वर्ष पछि शव्दकोष सम्पादन हुँदा प्रयोगमा नआएको शव्दावली भनी हटाउने काम नहोला भन्न सकिन्न ।