इन्टरनेट सेवा प्रदायक कम्पनीको ठगी धन्दा कहिलेसम्म

विविध समाचार

काठमाडौं । अहिले नेपालमा २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनी सञ्चालनमा रहेका छन् । त्यसमा कतिपय इन्टरनेट कम्पनीहरुको सञ्जाल देशैभर फैलिएको छ भने कतिपयको सञ्जाल साँघुरो छ । अहिले देशैभर सञ्जाल रहेको दावी गर्ने इन्टरनेट कम्पनीमध्येमा पाँच इन्टरनेट सेवा प्रदायक कम्पनीको सञ्जाल ठूलो रहेको पाइन्छ ।

त्यसमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी मानिएको छ । यसको इन्टरनेट ब्याण्डविथ नेपालमा झण्डै ४६ देखि ४८ प्रतिशतको हाराहारीमा रहेको बताइन्छ । यति ठूलो इन्टरनेट ब्याण्डविथ भएको कम्पनीको गुणस्तर भनेर दिनप्रतिदिन खस्किँदै गएको छ । त्यतिमात्रै होइन कतिपय शहरी घनाबस्तीहरुमा वर्ल्डलिंक कम्युनिकेसन्सको सेवा लिनेहरु प्रशस्त रहे तापनि कम्पनीले भनेजस्तो गुणस्तरीय सेवा दिन सकेको छैन ।

यस कम्पनीले आफ्नो प्रचार बढी गर्ने तर सेवामा भने ध्यान नदिने गरेकाले सेवाग्राहीहरु वाक्क दिक्क भइसकेका छन् । वर्ल्डलिंक कम्युनिकेसन्सको सेवामा बीचबीचमा रोकिने भनेको बेलामा मर्मतर संभार नहुने तर शुल्क भने ठ्याक्क महिना पुग्नेबित्तिकै सूचना नदिइ काटिदिने गरेर पनि सेवाग्राही दिक्कदार भएका छन् ।

त्यसैगरी आफूलाई ठूलो दावी गर्ने अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी छ भायनेट कम्युनिकेसन्स प्रा.लि.। यस कम्पनीको हालत पनि वर्ल्डलिंक कम्युनिकेसन्सको भन्दा कम छैन । सो कम्पनीले पनि आफ्नो सञ्जाल ठूलो भएको, सेवाग्राहीहरु आकर्षित भएको दावी गरेपनि उसले दिने सेवा भने दिनानुदिन कमजोर बन्दै गएको छ ।

किन भने भायनेट कम्पनीको गुणस्तर एकदमै खस्किँदै गएको सेवाग्राहीहरुले बताउँदै आएका छन् । भन्नको लागि हाम्रो सेवा अरुकोभन्दा राम्रो छ हाम्रो नेट जोड्नुहोस् । शुल्क पनि अरुकोभन्दा कम छ भन्ने गरिन्छ । तर, नेट जोडिसकेपछि उनीहरुको भनाइअनुसारको सुविधा भने पाइँदैन भन्ने गुनासाहरु त्यत्तिकै आउन थालेका छन् । त्यस्तै महिनामा हप्ता दिन जति नेट अवरोध भएर काम चौपट हुन्छ तर महिना पुग्नासाथ शुल्क नतिरेमा लाइन काटिन्छ । हप्ता, हप्ता दिनको सेवा अवरुद्धको सोधभर्ना कसले गर्ने भन्ने गुनासो त्यत्तिकै आउन थालेका छन् ।

त्यस्तै अर्को इन्टरनेट सेवा प्रदायक कम्पनीको नाम छ सुबिसु केबलनेट प्रा.लि.। यो पनि इन्टरनेट सर्भिस प्रोभाइडर मार्केटको झण्डै ९ प्रतिशत हिस्सा ओगटेको दावी गर्दै आएको छ । उसको नालीबेली पनि माथि उल्लेखित कम्पनीकोभन्दा कम छैन । गुणस्तरको त सुबिसु केबलनेट प्रा.लिमा कुरै नगरौं । यस कम्पनीले विभिन्न प्याकेजहरु ल्याएर ग्राहक ठग्ने धन्दा नै चलाउने गरेको गुनासो त्यत्तिकै सुन्न पाइन्छ । त्योसँगै अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी हो क्लासिक टेक ।

उसको नारा त झन् ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै देखिन्छ । ‘छोयो कि चल्यो’ भन्ने गरेको छ । तर, काम भने एकघण्टा चलाउँदा पनि एक मिनेट चल्दैन । यस्ता नक्कली प्रचार गरेर नेपालीलाई ठग्दै आएको छ क्लासिक टेक कम्पनीले पनि । उता नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम कथाव्यथा भने छुट्टै छ ।

नेपाल टेलिकम सरकारी स्वामित्वमा रहेको कम्पनी भए तापनि यसले गुणस्तरीय र प्रभावकारी सेवा दिन सकेको छैन । नेपाल टेलिकमले अहिले विभिन्न इन्टरनेट प्याकेज सेवा ल्याएको बताइरहेको छ । कम्पनीले विभिन्न प्याकेज सेवा दिएको बताए तापनि सेवाग्राहीले भने भनेजस्तो सेवा पाउन सकेका छैनन् । उल्टै सेवाग्राही हैरानीमा परेको गुनासो सबैतिर पाइन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *