भ्रष्ट राजनीतिक नेतृत्चले गर्दा नेपाल राष्ट्र दिशाहिन र गन्तव्यहिन भएर भौतारिन थालेको पनि लामै काल बितिसक्यो । सक्रिय राजतन्त्रको नेतृत्वमा चलेको पञ्चायतकाल समाप्त पार्नको लागि नेपाली जनताले दलका नेताहरुको राजनीतिक नेतृत्वलाई स्वीकार गरेका थिए । त्यसरी सक्रिय राजनीतिक नेतृत्वमा चलेको पञ्चायत काल खण्डको समाप्त भयो । संबैधानिक राजतन्त्र र बहुदलिय राजनीतिक व्यवस्था केही समय चलेपछि दलका नेताहरुको राजनीतिक नेतृत्वले संबैधानिक राजतन्त्रलाई पनि समाप्त पारी संघिय लोकतान्त्रिक र गणतान्त्रिक राजनीतिक व्यवस्था नेपालमा ल्यायो ।
नेपाली जनताले दलका नेताहरुको राजनीतिक नेतृत्वलाई सहस्रस्वीकार गर्दै त्यसमा पनि सघायो । दलका नेताहरु नेपाली जनताको साथ सहयोग पाएपछि झनै हौसिएर नेपालको पहिचानको रुपमा रहेको सनातनी हिन्दूधर्म र राजतन्त्रलाई नै फाल्ने काम गरी देखाए । नेपाली जनता बुझेर हो वा नबूझेर चुपै लागी बस्यो तर दलका राजनीतिक नेतृत्वले नेपाली जनताको सोमौनतालाई गलत हिसाबले बुझ्यो । नेपाल राष्ट्रलाई आत्मनिर्भर स्वावलम्बी मुलुक बनाउन सक्रिय राजतन्त्रको नेतृत्वमा चलेको पञ्चायती व्यवस्थाले राम्रै कामहरु गरेका थिए ।
त्यतिले पुगेन भन्दै दलका नेताहरुले अनेक परिवर्तनका मुद्दाहरु उठाउँदै नेपाली जनतालाई त्यसको पक्षमा लगेका थिए । फलस्वरुप नेपालमा राजनीतिक परिवर्तन भएर नेपाली जनता अहिले चलेको संघिय लोकतान्त्रिक र गणतान्त्रिक राजनीतिक व्यवस्थामा पुग्यो । यो राजनीतिक व्यवस्था नेपालमा चलेको पनि लामै काल बितिसकेको छ । नेपाली जनताले दलहरुलाई दिएको समर्थन शर्तरहित थिएन । दलहरुले उठाएको मुद्दाहरु सही लागेर सोपुरा भएमा नेपाल राष्ट्र झन राम्रो बन्छ भन्ने आशाले नै नेपाली जनताले दलका नेताहरुको राजनीतिक नेतृत्वलाई स्वीकार गरेका थिए । तर अहिले आएर नेपाली जनताले दलहरुबाट उठेका राजनीतिक परिवर्तनका मुद्दाहरु सबै राजनीतिक दोगला मात्रै थिए भन्ने कुरा चाल पाएका छन् ।
दलहरुले त्यतिबेला उठाएका राजनीतिक मुद्दाहरु सबै भ्रान्ती फैलाउने काम मात्रै भएको रहस्य अहिले खुलीसकेको छ । दलहरुले त्यतिबेला नेपाली जनताको सामु कसम खाँदै गरेका संकल्पहरु एउटा मात्र पनि पुरा गरेका छैनन् । नेपाली जनतालाई दलका नेताहरुले डसना भन्दै थाङ्नोमा सुताएका छन । नेपाली जनताले अहिले आएर पुरानो र नयाँ राजनीतिक व्यवस्थाको बिचको फरक महशुस गर्दैछन । नेपाली जनताले चाहेको परिवर्तन र दलको राजनीतिक नेतृत्वले नेपालमा ल्याएको राजनीतिक परिवर्तनमा आनको तान फरक देखिएको छ । दलका नेताहरुको राजनीतिक नेतृत्वमा नेपालमा भएको राजनीतिक परिवर्तन नेपाली जनताको हितमा नभएर दलका नेताहरुको हितमा भएको कुरा अहिले नेपाल राष्ट्रलाई डढेलोले झै जलाउँदै गरेका अनेक भ्रष्टाचार काण्डहरुको श्रृङ्खलाबाटै प्रमाणीत भएका छन ।
दलका नेताहरुले नेपाली जनतालाई माछा माछा भ्यागुता तुल्याईदिएको रहास्य माथिको पर्दा अहिले पूर्णरुपले हटीसकेको छ । दलका राजनीतिक नेतृत्वले नेपालको तिब्रगतिमा बिकास गरी देखाउँछौ भनी एकबार मात्र होईन अनेक बार कुर्लेर भाषण गरी नेपाली जनतालाई सुनाएका थिए । तर अहिले भयो के त दलका राजनीतिक नेतृत्वले नेपाली जनताको थाप्लोमा ऋणको भार मात्रै २० खरब नघाएका छन । नेपाल राष्ट्रको बार्षिक बजेटबाट त्यस्तो ऋणको साँवा व्याजको भुक्तानी मात्रै २ खरब भन्दा बढी प्रतिबर्ष भुक्तान दिनु पर्ने भएको छ । पहिले र अहिलेको बिकासको कुनै तुलना नै गर्न मिल्दैन किनकि अहिले नेपाल राष्ट्र पूर्णरुपले परनिर्भर मुलुक भएको छ भने पहिलेको नेपाल आत्मनिर्भर र स्वावलम्बी मुलुक थियो । अहिले नेपालको सत्ता चलाएर बसेका दलका नेताहरुको मनमा आत्मसम्मान रत्ती भरको पनि छैन ।
आफै पनि बिदेशीको गुलामी गर्न हर्दम तयारीमा बस्छन भने नेपाली जनतालाई पनि वैदेशीक रोजगारीको नाममा सबैलाई बिदेशीकै गुलाम बनाईसकेका छन । नेपालको भबिष्य मानिएको युवापुस्तालाई अहिलेका दलको राजनीतिक नेतृत्वले बिदेशीको गुलाम बनाएर कजाएका छन् । अब नेपालको कस्तो भविष्य हुन्छ भन्ने कुरा अत्मसम्मानका साथ नेपालमै बसेर प्रथम नेपाल श्रेष्ट नेपालको सपना देख्ने नेपाली जनताले सहजै अनुमान लगाउन सक्छन । भ्रष्टाचारमा राजनीतिक मलजलले गर्दा नेपाली जनताको वर्तमान बिग्रेको छ भने भविष्य अन्धकारमय भएको छ ।
नेपालको युवा जनशक्ति बिदेशमा बिदेशीको लागि आफ्नो रगत पशिना बगाउँदै छन भने यता नेपालमा उहाँहरुको परिवार सन्तान वर्तमानमा ठुलो आर्थिक संकट व्यहोर्दै अन्धकार भविष्य तिर लम्कीरहेका छन । यसको लागि दलको राजनीतिक नेतृत्व नै मुख्य रुपले जिम्मेवार छन । नेपालको राजनीतिलाई दलका नेताहरुले व्यापारीकरणको साथसाथ अपराधीकरण पनि गर्दै गराउँदै लागेका छन । दलको राजनीतिक नेतृत्वले कमिसन पाउने भएपछि जस्तो सुकै गैरकानुनी अनैतीक काम गर्न गराउन तयार हुने प्रवृत्ति दलका नेताहरुमा हाबी हुँदै गएकाले नेपालको राजनीति भ्रष्टाचारमय बन्यो र नेपाल राष्ट्रको दुर्गती तुल्यायो ।
दलका नेताहरुको उठबस र खानपान नफाखोर दलाल बिचौलिय माफिया तस्कर व्यापारीहरु र व्यवसायीहरु सित बढ्दै जाँदा भ्रष्टाचारको भयावह स्थितिमा नेपाल राष्ट्र पुगेको हो । माफिया अपराधीहरुले राज्यको कनुनी व्यवस्थालाई मान्दैन र अराजकता यवम दण्डहिनताको अवस्था श्रृजनागरी लाभ उठाउँछन अनि त्यसैबाट नेताहरुलाई समेत कमिसन बाँडेर पतीत तुल्याउँछन । यतिबेला नेपालमा नीति बनाउनेहरु नै अनैतीक भएका छन । कानुनी राजको खिल्ली उडाउँदै सत्तामा बसेका दलका नेताहरुले नेपालको राजनीतिलाई चरम भ्रष्टीकरणको दुष्चक्रमा जाकेकाछन । दलको राजनीतिक नेतृत्वले नै भ्रष्टाचारलाई बढवा दिएपछि भ्रष्टाचारले नेपालको अर्थतन्त्रलाई नै थिलथिलो बनाएको छ ।
भ्रष्टाचारबाट आर्जित सम्पत्तिकै कारण अवैध वा छाया अर्थतन्त्र नेपालमा मौलाइरहेको हुँदा नेपाली जनता महंगीको साथसाथ बिनासकारी आर्थिक संकट व्यहोर्न बाध्य छन । नेपालबाट बिदेशमा मानव तस्करी मात्र होइन अवैध सम्मपत्ति समेत हुण्डी मार्पत बिदेशमा पलायन भएको भएकै छन । छाया अर्थतन्त्र कै कारण नेपालको बैंकहरुमा तरलता अभाव भएको हो ।
नेपालको सत्ता दलका नेताहरले चलाएको दिन देखि नै भ्रष्टाचारको प्रकोप नेपालमा बढेर गएको गएकै छ । त्यसलाई रोक्ने वा नियन्त्रण गर्ने भन्दा पनि दलका राजनीतिक नेतृत्व आफै संलग्न भएर संस्थागत रुपमा नै भ्रष्टाचार फैलाउने गरेकाछन । नेपालमा चल्दै आएको संस्थागत भ्रष्टाचार कै कारण राज्यको आर्थिक गतिविधिहरु ठप्पै भएका छन भने नेपाल सरकारको राजस्व संकलनमा ठुलो गिरावट आएको छ । राष्ट्रको नेतृत्व गर्ने तहमा बसेका दलका शीर्ष नेताहरुमा आएको यस्तो बिचलनले नेपालमा आर्थिक संकट ल्याउनको साथै भित्रभित्रै गैरकानुनी तरिकाले मुद्रा पलायनको अवस्था श्रृजना भएको हो ।
नेपालमा तिव्वती शरनार्थीको समस्या देखि लिएर भुटानी शरणार्थीको समस्या यथवत छन । असली शरणार्थीहरु यतै बसेका छन भने तिनैको नाममा नेपालीहरुलाई पैसा लिएर नक्कली शरणार्थी बनाउँदै अमेरिका पठाउने गैरकानुनी कामहरु भटाभट भएका छन । केही समय अगाडि तिव्वती शरणार्थीलाई नेपाली नागरिकता दिएको प्रकरण उदाङ्गो भएको थियो भने हालैमा नकल्ली भुटानी शरणार्थी काण्ड उजागार भएको छ ।
दुबै प्रकरणमा नेपालको राजनीतिक नेतृत्व नै मुछिएको र त्यसमा निजामती अधिकारीहरुले सहयोगीको भूमिका निभाएको कुरा प्रकाशमा आएका छन । यसरी नेपालमा बसेका शरणार्थीहरुलाई आधार बनाएर भ्रष्टाचार जन्य अपराधहरु भटाभट हुन थाले पछि बिदेशीको ध्यान पनि नेपाल तिर आकर्षित भएका छन । त्यसैपनि पश्चिमाहरुले नेपालको मामलामा बारबार हस्तक्षेप गर्दै आएकोमा अब ताजा भ्रष्टाचार काण्डले गर्दा नेपालको राजनीतिमा थप हस्तक्षेप गर्ने अवसर बिदेशीलाई प्राप्त भएको छ ।
भ्रष्टीकरणले कमजोर भइसकेको नेपालको राजनीतिक व्यवस्थाको नीतिकारहरुको नै नैतीकता हराए पछि बिदेशीलाई नेपालको राजनीतिक मामलामा हस्तक्षेप गर्ने सुनौला अवसर प्राप्त भएको छ । उहिले राजपरिवारका सदस्यहरु माथि बिदेशी बैंकमा पैसा लगेर राखी भ्रष्टाचार गरेको आरोप अहिले सत्तासिन दलका नेताहरुले लगाएका थिए । तर सोकुरा दलहरुले फैलाएको भ्रान्ति थियो भन्ने कुरा अहिले सावित भइसकेको छ । बरु उल्टै दलका राजनीतिक नेतृत्व गर्दै आएका शीर्ष नेताहरु माथि उस्तै आरोप नेपाली जनताले लगाउन थालेका छन । बिदेशी बैंकमा पैसा राखी त्यतै लगानी पनि गरेको आरोप दलका शीर्ष नेताहरु माथि लागेको छ ।
नेपालको सन्दर्भमा भ्रष्टाचारको कुरा गर्दा दलका नेताहरुले मात्र होइन पूर्व निजामती हाकिमहरु देखि लिएर ठुला व्यापारीहरु र व्यवसायीहरुले गैरकानुनी तरिकाले नेपालबाट सम्पत्ति बाहिर लगेको र उतै लगानी पनि गरेको केही उदाहरणहरु प्रकाशमा आएकाछन । अमेरिकामा ठुलो संख्यामा पलायन भएको नेपालीहरुले आफ्नो साथमा सम्पत्ति पनि गैरकानुनी तरिकाले लगेर उतै लगानी पनि गरेका छन । अन्य देशमा बसाई सरेका नेपालीहरुले पनि त्यस्तै गर्ने गरेको पाइएको छ ।
नेपालमा मौलाएको राजनीतिक भ्रष्टिकरणले गर्दा आफ्नो सन्ततीहरुको भविष्य नेपालमा नदेखेपछि नेपालीहरुले सुरक्षित भविष्यको लागि बाध्य भएर गैरकानुनी बाटो अपनाएका हुन भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । अब यो भ्रष्टाचारको दुष्चक्रबाट बाहिर निस्किनको लागि व्यवस्था नै बदल्नु पर्ने अनुभूति नेपाली जनताले गर्दैछन । राजनीतिक व्यवस्था बदलिए मात्रै नेपाली जनताको अवस्थामा पनि सुधार आउन सक्ने महशुस गरिएको छ ।(तामाकोशीसन्देशबाट)