सभापति देउवा र महामन्त्री थापाबीच कडा टक्कर

राजनीति समाचार

विश्वप्रकाश र शेखर कोइराला चुपचाप
काठमाडौं । नेपाली कांग्रेसभित्र महामन्त्री गगनकुमार थापा र सभापति शेरबहादुर देउवाबीच विगत लामो समयदेखि एकापसमा द्वन्द्व चन्दै आएको थियो । गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनपछि कांग्रेसभित्र संसदीय दलको नेता बन्न सभापति देउवा र महामन्त्री गगन थापाबीच रसाकस्सी भएको थियो । त्यसलाई लिएर संसदीय दलको नेता चुन्न निर्वाचन पनि भयो । संसदीय दलको नेतामा सभापति देउवा नै निर्वाचित भए । त्यसबेला देखिको इगो साँधेर अहिले संसदीय दलको नेता फेर्न महामन्त्री थापा लागिपरेका छन् ।

विगत ११ महिनादेखि स्थगित रहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक हिजोबाट सुरु भएको छ । विभिन्न १० एजेन्डामा छलफल हुने गरी थालिएको कांग्रेस केन्द्रीय समिति बैठक एक हप्तासम्म चल्ने बताइएको छ । सभापति देउवाले बैठकमा भएको छलफलको लाइभ गर्ने भनेका थिए । सभापति देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने भनेपछि महामन्त्री गगन थापा र पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विरोध गरेका थिए ।

तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने लाइभ प्रसारण गर्नु सकारात्मक पक्ष भएको बताएका थिए । उता देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका नेता डा. शेखर कोइराला भने यस विषयमा केही बोलेका छैनन् । त्यति हुँदाहुँदै पनि अहिलेसम्म नेपालको राजनीतिक इतिहासमा यसरी कुनै पनि पार्टीले आफ्नो पार्टीको बैठकमा भएका एजेन्डागत छलफल लाइभ गरेको यो पहिलो हो । अन्य मुलुकहरुमा चाहीं राजनीतिक दलका बैठकहरु लाइभ गर्ने गरिएका उदाहरणहरु छन् । यसै विषयलाई लिएर कांग्रेसभित्र विवाद चर्किइरहेको छ । त्योसँगै महामन्त्री गगन थापाले संसदीय दलको नेता पनि परिवर्तन गर्ने कसरत गरिरहेका छन् ।

थापा संसदीय दलको नेता सकेसम्म आफू बन्ने त्यो भएन भने आफूले चाहेको अन्य कसैलाई बनाउने योजनामा लागिपरेका छन् । त्योसँगै अहिले भइरहेको गठबन्धन सरकारलाई भत्काउने प्रयास पनि महामन्त्री थापाले गरिरहेका छन् । कांग्रेसभित्र सभापति देउवा र महामन्त्री थापाबीच मनमुटाव भइरहँदा अहिलेको केन्द्रीय समिति बैठकले कस्तो निष्कर्ष निकाल्छ त्यो भने एकिन भइसकेको छैन । अहिले पार्टी सभापतिविरुद्ध महामन्त्री गगन थापाबाहेक अन्य नेताहरु चुपचाप अवस्थामा बसेको पाइन्छ ।

कांग्रेस नेता बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेपछि पार्टीबाट निलम्वित गर्नुपर्छ भनेर महामन्त्री थापाले विज्ञप्ति नै प्रकाशित गरेका थिए । त्यस विषयमा सभापति देउवाले भने सुनेको नसुने भैंm गरेर बसेका थिए । नेता खाँड नक्कली भुटानी शरणार्थी काण्डमा दोषी ठहरिएर जेल चलान हुँदा पनि सभापति देउवाले उनी दोषी भइसकेका छैनन् अभियुक्त मात्र हुन् भन्ने गरेका छन् । त्यसकारण पनि सभापति देउवा खाँडलाई जोगाउन लालिपरहेको देखिन्छ । सभापतिको यस्तो क्रियाकलाप देखेर कांग्रेसभित्र विवाद सिर्जना भएको छ । यसै विषयलाई टेकेर महामन्त्री गगन थापा र सभापति देउवाबीच झन् दुरी बढ्दै जाने देखिन्छ । तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *