रामचन्द्र बस्नेत
राजनीतिक दलका शीर्ष नेताहरुले राष्ट्रियताको कुरा गरिरहँदा उनीहरुले नै राष्ट्रघाट गरिराखेका छन् । नेताहरुले भन्ने गरेको राष्ट्रवाद भनेको के हो ? नेताहरु चुनाववैपिच्छे राष्ट्रवादकै कुरा गरिरहन्छन् । राष्ट्रियताका कुरा संविधानमा उल्लेख भए तापनि संविधान निर्माताहरुकै कारण त्यसको उल्लंघन भइरहेको छ । संविधान निर्माताहरु नै विदेशीको इसारामा नाच्ने गरेका छन् । आफू राष्ट्रियताको कुरा उठाउने र आफ्ना छोराछोरीलाई विदेशीको गुलाम बनाउन पठाउने काम नेताहरुले नै गरिराखेका छन् ।
अहिले अधिकांश ठूला नेताहरुका छोराछोरी विदेशमै छन् । यता तिनै नेताहरुले अधिकांश सर्वसाधारण जनता र तिनका छोराछोरीलाई राष्ट्रियताको नाममा भँजाइरहेका छन् । तिनै सर्वसाधारण जनतालाई भँजाएर सत्तामा पुगिरहेका छन् । देशको प्रतिष्ठित व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, प्रधानसेनापति, प्रहरी प्रमुख, अख्तियार प्रमुख, मुख्य सचिवदेखि विभिन्न तहमा बसेका विशिष्ट श्रेणीका छोराछोरीहरु पनि विदेशमै छन् । गैरसरकारी संघसंस्थाहरुमा आबद्ध भएका व्यक्तिदेखि मानवअधिकारवादी, विभिन्न ठूला घरानाका व्यापारी, न्यायाधीश र आफूलाई ठूला बौद्धिक भनेर दावी गर्ने पत्रकारहरुका छोराछोरीहरु पनि विदेशमै छन् । नेताहरु स्वदेशमा बसेर राष्ट्रको ढुकुटी दोहन गर्ने छोराछोरीलाई मोटो रकममा विदेश पठाउने अनि गरिव जनताको अगाडि गएर राष्ट्रियताको कुरा गर्ने यिनको नैतिकता कहाँ छ ?
कुनैपनि मुलुकका राष्ट्र प्रमुखका सन्तानहरुले राष्ट्रको माया गदैनन् भने त्यो देशको हविगत कस्तो होला ? अहिले नेपालको हविगत त्यस्तै भएको छ । किनभने राष्ट्रिय धुकुटीबाट घरघडेरी जोड्ने, छोराछोरी पढाउने, उमेर हुनुन्जेल जागिर खाने, बाचुन्जेल पेन्सन सुविधा लिने, विभिन्न सरकारी सुविधाहरु प्रयोग गर्ने, सरकारी आम्दानीबाट घर बनाउने, स्वास्थ्य उपचार विदेशमा गराउने, छोराछोरीलाई विदेश पठाउन राज्यको सम्पत्ति प्रयोग गर्नेजस्ता व्यक्तिले राष्ट्रियताको खोक्रो नारा दिने गरेका छन् । पछिल्लो समय देशमा आर्थिक संकट थपिएको छ । यी र यस्तै माथिल्लो पदमा आशिन व्यक्तिको कारणले भएको देखिन्छ ।
उनीहरु यो देशबाट सम्पक्ति आर्जन गर्छन् अनि त्यो सम्पक्तिको आडमा विदेश घुम्ने, मोजमोस्ती गर्ने, अध्ययानको नाममा विभिन्न अवैध धन्दादेखि सुन तस्करी र लागूपदार्थ ओसारपसार कारोबारमा संलग्न हुने गरेको पाइन्छ । बाबुआमा अथवा अभिभावक राज्यको उच्च ओहोदामा बस्ने र तीनका छोराछोरीहरुले राजनीतिक शक्तिको आँडमा विभिन्न धन्दा सञ्चालन गर्ने जस्ता कामहरु गर्दै आएका छन् ।
रानीतिक दलका नेताहरुले सम्पूर्ण नेपाली जनताको समान हकअधिकार र न्याय स्थापित गर्ने भनेर २०७२ सालमा संविधान जारी गरेका थिए । उनीहरुले नेपाली युवायुवतीहरुले नेपालमै बसेर देश र जनताको उन्नतीको काम गर्नुपर्छ भनेर सर्वसाधारण नेपाली जनताका छोराछोरीलाई सिकाउने काम गर्दै आएका थिए । तर सोही संविधान जारी गर्ने तत्कालीन नेतादेखि हालका नेताहरुले त्यसको कार्यान्वयन गरेको पाइँदैन । उल्टै संविधानसभा अध्यक्ष सुभास नेम्वाङको असामयिक निधन भएपछि उनका छोराहरुले समेत बाबुको अन्तिममा मुख हेर्न हम्मे हम्मे प¥यो । उनीहरुको लागि आफ्नो बाबुले बनाएको संविधानले आफ्नो देशमा बस्ने वातावरण सिर्जना गर्न सकेन ।
नेपालका सर्वसाधारण जनताले आफ्नो भविष्य सुनिश्चित छ भनेर कसरी विश्वास गर्ने ? प्रतिष्ठित पदमा बसेका व्यक्तिहरुका छोराछोरीले समेत नेपालमा उद्योगधन्दा, व्यापार व्यवसाय सञ्चान गर्ने वातावरण नदेखेपछि अन्य सर्वसाधारणले कसरी देख्ने ? नेपालमा युवायुवतीको भविष्य छ भनेर । नेताहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा भट्टाउने गरेका छन् । तर व्यवहारमा त्यो भनाइ अहिलेसम्म लागू हुन सकेको छैन । यदि यस्तै भइरहने हो भने नेपाल पनि भोलिका दिनमा हाइटी, कंगो, इथियोपिया जस्तो नहोला भन्न सकिँदैन ।
अहिले पनि दिनमा झन्डै १५ सयभन्दा बढी युवायुवतीहरु विदेसिने गरेका छन् । त्यसरी विदेश जानेमा केही अध्ययन भिसामा गएका छन् भने अधिकांश भिजिट भिसा र वर्किङ भिसामा जाने गर्दछन् । त्यसकारण अधिकांश गाउँवस्तीहरु वृद्धाश्रममा परिणत हुन थालेको छ । त्यसकारण सरकारले आर्थिक उन्नतीको लागि युवा लक्षित कार्यक्रम ल्याएर स्वदेशमै रोजगार उपलब्ध गराउनुपर्ने अवस्था देखिन्छ । (तामाकोशीसन्देशबाट)