काठमाडौं । सरकारले आजबाट एकवर्षे कार्यकाल पुरा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफलतापूर्वक एकवर्षे कार्यकाल पुरा गरेको उपलक्ष्यमा हिजो राष्ट्रको नाममा सम्वोधन पनि गरे । प्रधानमन्त्री प्रचण्डले आफ्नो एकवर्षे कार्यकाल सफलतापूर्वक पुरा भएको भनेर गौरव गरिरहँदा अन्य प्रधानमन्त्रीको तुलनामा केही सकारात्मक काम गरेको देखिन्छ ।
प्रचण्ड प्रधानमन्त्री भएपछि नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटर काण्ड, सुनतस्करी काण्ड र जलवायु परिवर्तनले नेपाललाई पारेको असरप्रति कोपमा आवाज उठाएर नयाँ काम गरे । तर, प्रधानमन्त्री प्रचण्डले केही सकारात्मक काम गरे तापनि उनको सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो दुनो सोझ्याउने र आसेपासेलाई पोस्ने बाहेक राम्रो काम गर्न सकेका छैनन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही गर्न खोजे तापनि सरकारमा सहभागी दलहरुले अगाडि बढ्न दिएनन् ।
त्यस्तै अर्थमन्त्री प्रकाश शरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पनि स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न सकेनन् । मन्त्री बस्नेत देशको स्वास्थ्य क्षेत्र सुधार्ने भन्दा पनि आफ्नो गृहजिल्लामा सस्तो लोकप्रियत देखाउनमै व्यस्त छन् । श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीले पनि नेपाली युवायुवतीलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा विभिन्न नयाँ देशमा श्रम सम्झौता गर्ने नाममा श्रमिकले जम्मा गरेको पैसामा विदेश घुमेर एकवर्षे कार्यकाल विताएका छन् । उता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्यालाले पनि विकास निर्माणमा जोड दिनुपर्नेमा त्यो नगरी कर्मचारी सरुवा गरी पार्टीलाई चन्दा उठाउने र आफू विदेश घुमेर रमाउनेभन्दा अर्को काम गर्न सकेनन् ।
त्यस्तै कृषि तथा सहकारी मन्त्री बेदुराम भुसालले पनि कृषि क्षेत्रलाई चलायमान बनाएर देशलाई आत्मनिर्भर बनानुपर्नेमा त्यो नगरी उल्टै खेतीको सिजनमा बीउविजन र मल अभाव बनाएर कसिमन खानमै व्यस्त रहे । त्यसकै परिणाम स्वरुप चाडपर्वमा सधैं चिनी, तेल, दाल, चामलगायत खाद्य सामग्री अभाव गराउने व्यापारी र विचौलियासँग मिलेर कमिसन खाने काम गरेर एकवर्षे कार्यकाल बिताए । सहरी विकास मन्त्री सीता गुरुङले पनि आफ्नो एकवर्षे कार्यकालमा विकास निर्माणभन्दा पनि कमिसन खाने, देश विदेश घुम्ने, आफ्ना नातागोता, आसेपासेलाई जागिर खुवाउने, सेवानिवृत्त सचिवलाई रातिराति अफिसमा बोलाएर काम गराउने र कमिसन बाँडेर कमाउधन्दा बाहेक अन्य काम गर्न सकेकी छैनन् ।
त्यसैगरी नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराँतीले अनावसेक विदेश नघुम्ने मितव्ययिता अपनाएर मन्त्रालय सञ्चालन गर्ने भनिरहँदा क्रिस्चियन धर्मको नाममा विवादित बनेका छन् । मन्त्री किरातीले जतिसुकै राम्रो काम गर्छु भने पनि उनको भनाइ नारामै सीमित भयो । रक्षामन्त्री पूर्णबहादुर खड्का सेनाभित्रको विकृति र विसंगतिमा मुछिएर बद्नाम भएका छन् । मन्त्री खड्काको निकम्मापनको कारण उल्टै प्रधानसेनापतिले संसदलाई चुनौति दिएका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पनि आफ्नो एकवर्षे कार्यकालमा माखो मार्न सकेका छैनन् । उद्योग क्षेत्रमा राम्रो काम गर्नुपर्नेमा उल्टै कार्यकर्ता र आसेपासेलाई पाल्ने र उठ्तीपुठ्तीमा व्यस्त रहे । अर्का कानुनमन्त्री धनराज गुरुङले न्याय क्षेत्रभित्रको विकृति, विसंगति हटाउनुपर्नेमा त्यो नगरी उल्टै प्रतिस्पर्धामा फेल भएकालाई न्यायाधीश बनाउने र आफू निकटका व्यक्तिलाई भविष्यमा न्यायाधीश बनाउन बाटो खोल्ने काम गरे ।
यस्ता विकृतिजन्य कामलाई सघाएर आगामी चुनावी खर्च जुटाउनमै व्यस्त रहे । उता, शिक्षामन्त्री अशोक राईको त कुरै नगरौं, गुमनाम जस्तै छन् । काम गरेको भए पो चर्चापरिचर्चा हुन्थ्यो, तर राईले कामै गरेका छैनन् । मन्त्री राईले नत शिक्षा ऐन ल्याउन सके, नत देशभरिका शिक्षकले गरेको आन्दोलनको सम्वोधन गर्न सके ।
प्रचण्ड सरकारमा सामेल अन्य मन्त्रीहरुको त कुन चरीको नाम हो त्यो नेपाली जनतालाई थाहा नै छैन । ती मन्त्रीहरु आफन्त र आसेपासेलाई जागिर खुवाउने, पार्टीलाई चन्दाको व्यवस्था गर्ने, विदेश घुम्ने, मन्त्रालयको बजेटमा मोजमस्ती गर्ने, विभिन्न सेमिनार, गोष्ठी गरेर रकम सिध्याउने, मन्त्रालयभित्र फर्निचर परिवर्तन र साजसज्जा गरेर कमिसन खाने, मन्त्रालयको गाडी र इन्धन दुरुपयोग गर्ने, सरकारी सेवासुविधामा आफ्नो पार्टीको प्रचार गर्ने, आफूनिकट कर्मचारीहरुलाई मालदार अड्डामा सरुवा गर्ने, सरकारी साधनस्रोतमा आफ्नो चुनावी क्षेत्र धाउने बाहेक अन्य देश र जनताको काम कुनै पनि मन्त्रीले माखो मार्ने काम गरेका छैनन् ।