नेताविरुद्ध युवाहरुको आक्रोश किन ?

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका नेताहरुसँग युवापुस्ताहरु रुष्ट हुँदै गएका छन् । नेताहरुको गतिविधिकै कारण युवाहरु राजनीतिक नेतृत्वप्रति वितृष्णा जाग्दै आएको हो । त्यसैकारण गत हप्ता टुडिखेलमा आयोजित गौरापर्व कार्यक्रममा आमन्त्रण गरिएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध युवाहरुले नारावाजी गरेका थिए । सो नारावाजीमा संलग्न युवाहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएपछि उनीहरुलाई जनही ९ हजार धरौटीमा रिहा गरिएको थियो । ती युवाहरुलाई डाक्टर, इन्जिनियर, प्रोफेसर जस्ता व्यक्तिहरुको साथ रहेको आँकलन गरिन्छ । युवाहरुको त्यो विरोधलाई नेताहरुले नजरान्दाज गर्ने हो भने भोलिका दिनमा ठूलो विद्रोह नहोला भन्न सकिँदैन ।

युवाहरु एकाएक आक्रोशित हुनुमा विकृति, विसंगती र बेथिति बढ्दै जानु, भ्रष्टाचार, महंगी र बेरोजगारी बढ्दै जानु, सुशासन नहुनु, स्वास्थ्य र शिक्षामा व्यापारीकरण मौलाउनु, अन्याय, अत्याचार र आपराधिक गतिविधिहरु बढ्दै जानुजस्ता विषय प्रमुख छन् । यी विषयमा सरकारले समस्या पहिचान गरी सम्बोधन गर्नुपर्ने देखिन्छ । यदि राजनीतिक दलका शीर्ष नेताहरुले युवाहरुको आक्रोशलाई साम्य पार्न सकेनन् भने देश ठूलै दूर्घटनातिर जाने सम्भावना छ ।

एकातिर दक्ष युवाहरुको ठूलो संख्या विदेश पलायन भएको छ अर्कोतिर नेपालमा केही गरौं भन्ने सोच लिएर काम गर्न खोज्ने युवाहरुलाई राज्यले विभिन्न झन्झट दिएर निरुत्साहित बनाउने काम गर्दै आएको छ । शिक्षा र स्वास्थ्यमा व्यापक राजनीतिकरण र व्यापारीकरण भएको छ । धनीले पढ्ने शिक्षा र गरीवले पढ्ने शिक्षा छुट्टाछुट्टै भएको छ । स्वास्थ्य क्षेत्र पनि धनीले पाउने उपचार र गरीवले पाउने उपचार फरक भएको छ । सर्वसाधारण परिवारको एकजना बिरामी परेको खण्डमा जाहेजेथा बेचबिखन गरी उपचार गर्नुपर्ने हुन्छ । त्यसप्रति सरकार र सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *