काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाले प्रसारण लाइनको केन्द्रबिन्दु वरपर फोहोर फाल्ने, टावर एवं संरचनाहरु छुने, आगो बाल्ने लगायतका गतिविधिहरु रोक्न अनुरोध गरेको छ ।
भोटेकोशी जलविद्युत आयोजनाले एक विज्ञप्ती जारी गर्दै प्रसारण लाइन चार्ज गरी ऊर्जाकरण गरिने हुँदा सो लाइनहरुमा विद्युत् प्रवाह भई उच्च भोल्टेज सञ्चालन हुने भएकोले उक्त प्रसारण लाइन अवस्थित क्षेत्रहरुमा बसोबास गर्ने सिन्धुपाल्चोक जिल्लाबासीलाई यस्तो अनुरोध गरेको हो । साथै त्यस क्षेत्र आसपासका अन्य नगरपालिकाबासीहरुलाई पनि विशेष जानकारी गराउँदै सो स्थान उच्च भोल्टेज सञ्चालन हुँदा असुरक्षित भएकोले नेपाल विद्युत् प्राधिकरणले लाइनको केन्द्रबिन्दुबाट दायाँ–बायाँ ४०० के.भी. लाइनका लागि २३/२३ मिटर र २२० के.भी. लाइनका लागि १५/१५ मिटर राइट अफ वे भित्र जाने ठाउँमा यस्ता किसिमका असुरक्षित गतिविधिहरु नगर्न अनुरोध गरेको छ ।
यदि यस्ता असुरक्षित गतिविधिहरु गर्ने/गराउने देखिएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित आयोजनाका प्राविधिक कर्मचारीहरुलाई मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको वेबसाइट www.mbjcl.com.np मा गई सम्पर्क गर्न सकिने जनाएको छ ।
आयोजना निर्माण कार्यमा सबै पक्षले हातेमालो गरी आवश्यक सहयोग पुर्याईं ऊर्जासंकट समाधानको राष्ट्रिय अभियानमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

