रामचन्द्र बस्नेत
यतिबेला नेपालमा सर्वसाधारण नागरिक नभएर सबै जनता कुनै न कुनै पार्टीको अन्धभक्त कार्यकर्ताको भीड बन्न पुगेका छन् । भीडमा कोही नेपाली कांग्रेसका कार्यकर्ता छन्, कोही नेकपा एमालेका कार्यकर्ता छन् कोही नेकपा माओवादी केन्द्रका कार्यकर्ता छन् त कोही अन्य साना दलका कार्यकर्ता बनेका छन् । त्यस्तै कोही रास्वपाका अन्धभक्त कार्यकर्ता बनेका छन् । टिपिकल पार्टीबाट बाहिर रहेका व्यक्तिहरु पनि हर्क साङपाङ र बालेनका कार्यकर्ता बनेका छन् । यिनै कार्यकर्ताको आडमा कानुनको धज्जी उडाउँदै सबै पार्टीका नेताहरुले भ्रष्टाचार, अनियमितता, अराजकता, कुशासन, दण्डहीनता र राज्यआतंक मच्चाउने काम गर्दै आएका छन् । नेताहरुले जतिसुकै भ्रष्टाचार र अनियमितता गरे तापनि कारबाही गर्न खोज्दा कार्यकर्ताहरु अन्धभक्त भएर ती भ्रष्टाचार अनियमितता गर्ने नेतालाई जोगाउन सकड आन्दोलन गर्दै आएका छन् ।
त्यस्तो कामले मुलुक दिनप्रतिदिन दण्डहीनतातिर धकेलिँदै गएको छ । त्यसको गतिलो उदाहरण बनेका छन् यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने । रवि लामिछानेलाई लामो समयदेखि दोहोरो नागरिकता र पासपोर्ट अपचलन गरेको, सञ्चारकर्मी हुँदा सहकर्मीलाई आत्महत्या गर्न वाध्य बनाएको, रिपोर्टिङका क्रममा विभिन्न व्यापारी, उद्योगीहरुसँग बार्गेनिङ गरेको र विभिन्न सहकारीबाट करोडौं गठी गरेको समाचार विभिन्न सञ्चारमाध्यममा लामो समयदेखि आइरहेका थिए ।
हाल रविलाई सहकारी ठगी र संगठित अपराध गरेको आरोपमा छानविनको लागि पक्राउ गरिएको छ । तर, रविले सहकारी ठगी र संगठित अपराध गरेको हो कि होइन भनेर छानविन गर्न पक्राउ गर्दा रास्वपाका कार्यकर्ता छानविनलाई प्रभावित बनाउन सडक आन्दोलनमा उत्रिएका छन् । यदि सुरक्षा निकाय र न्यायालयले यो भीडलाई हेरेर रविलाई छानविन नगरी छाड्ने काम ग¥यो भने देशमा संगठित अपराध र भ्रष्टाचार झन् मौलाउँदै जाने देखिन्छ ।
सकडको भीड हेरेर रविलाई छाडिरहँदा अन्य दलका नेता कार्यकर्ताहरुले पनि भोलिका दिनमा यसैगरी भ्रष्टाचार, अनियमितता र अपराध गर्ने र कार्यकर्ताले आन्दोलन गरेर जोगाउने नजिर बन्ने छ । त्यसकारण जुनसुकै पार्टीका नेता, कार्यकर्ता भए तापनि अपराध गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यदि सडकको भीड हेरेर अपराधीलाई छाड्ने हो भने न्यायालय र सुरक्षा निकायको के काम ?