काठमाडौं । एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका राजकुमार गुप्ताले मन्त्रालय चलायमान बनाउन सकेका छैनन् । मन्त्री गुप्ताले मात्रै होइन तत्कालीन मन्त्रीहरुले पनि संघीय मन्त्रालयलाई राम्रोसँग चलाउन सकेका थिएनन् । हालका मन्त्री गुप्ताले पनि संघीय मन्त्रालय चलायमान बनाउनेभन्दा असुली धन्दा चलाइरहेका छन् । सचिव र मन्त्रीको टसलले संघीय मन्त्रालय चलायमान हुन नसकेको बताइन्छ । संघीय मन्त्रालयमा २० जना उपसचिवहरु कामबिहीन भएर बरन्डामा थन्किएका छन् । उता स्थानीय तहले कार्यकारी प्रशासकीय अधिकृत नपाएर केन्द्र सरकारसँग कर्मचारी पठाउन हारगुहार गरिराखेको छ । मन्त्री गुप्ताका निजी सचिव अमित ढुंगाना छन् भने स्वकीय सचिव शिव कट्टेल रहेका छन् ।
मन्त्रीका निजी सचिव ढुंगाना सचिव भरतमणि सुवेदी र एमाले निकट कर्मचारी संगठनका नेता वामदेव वलीको मिलेमतोमा मोटो रकम लिएर कर्मचारी सरुवा, बढुवा गर्दै आएका छन् । त्यसमा मन्त्री र स्वकीय सचिव कट्टेल मुकदर्शक बनेर बसिरहेका छन् । सचिव भरतमणि पहिला माओवादी निकट थिए, त्यसपछि कांग्रेस भए, अहिले फेरि एमालेका भक्त भएर काम गरिरहेका छन् । सचिव सुवेदीलाई एमाले नेता शंकर पोखरेलले संघीय मन्त्रालयमा ल्याएका थिए । राष्ट्रिय किताब खानामा रहेकी मिरा आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार शाखामा ल्याउन जोडबल गरिएको थियो । तर, सचिव भरतमणिले उनको फाइल फिर्ता गरिदिए ।
अहिले सचिव सुवेदी पत्थरीको अप्रेसन गरेर विदामा बसेका छन् । सचिव विदामा बसेको बेला मिरा आचार्यको फाइल सह–सचिव कालीप्रसाद पराजुलीले सदर गरी आचार्यलाई सामान्यमा भित्र्याइएको छ । सचिवको निर्णय उल्टाएर मनोमानी ढंगले काम गर्दा पनि मन्त्री गुप्ता रमिते बनेर बसिरहेका छन् । एमाले सत्तामा गएपछि सधैं घुमाइफिराइ संघीय मन्त्रालय हात पार्ने गर्दछ । जब संघीय मन्त्रालयमा एमाले प्रवेश गर्छ अनि कर्मचारी सरुवा, बढुवामा भद्रगोल हुन्छ । मन्त्री गुप्ताले न त संघीय निजामती ऐन ल्याउन सकेका छन् न त न्यायोचित ढंगले कर्मचारी सरुवा, बढुवा नै गरेका छन् । संघीय मन्त्रालयमा मन्त्रीका निजी सचिव ढंगाना र वलीको हालीमुहाली चलेको छ । त्यसमा मन्त्री मुकदर्शक बनेका छन् ।