काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको हो ।
एक सय दुई मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिँउदमा माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यभोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् मध्यभोटेकोशी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाष कुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसनको अनुगमन भ्रमण गरी निर्माण प्रगतिका विषयमा जानकारी लिएको छ ।
मध्यभोटकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाह हुने तामाकोशी-काठमाडौं केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको चार सय केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरु खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ ।
चार सय केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल दुई सय केभीमा सञ्चालन (चार्ज)मा ल्याएर मध्यभोटेकोसीको विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ । लाइनलाई दुई सय केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

