काठमाडौं । सरकारी कागजातको दुरुपयोग गरी पर्साको साविक बेल्व गाविसको युवा स्पोर्टस् क्लब व्यक्तिको नाममा रहेको पाइएको छ ।
युवा स्पोर्टस् क्लबको जमिन गैरकानूनी रुपमा वीरगञ्ज महानगरपालिकाका शेष सफि अहमदको नाममा रहेको अख्तियारले ठहर गरेको हो । भ्रष्टाचारको मुद्दामा भूमि, सुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख कमोद तिवारीसहित ६ जना संलग्न रहेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही हुनुपर्ने माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
तर विशेष अदालतले २०८१ साल जेठ १६ गतेको फैसलामा तिवारीसहित ६ जनाले सफाई पाएका थिए । त्यसप्रति असन्तुष्ट अख्तियारले विशेष अदालतको फैसला बदर हुनुपर्ने मागसहित सर्वोच्चमा पुनरावेदन गरेको छ ।

