काठमाडौं । सरकार पक्ष दलनिकट कर्मचारीहरुले सरुवा, बढुवामा मनपरी गरेको भन्दै प्रतिपक्षी दल निकट कर्मचारीहरुले आरोप लगाइरहेका छन् । कांग्रेस निकट निजामती कर्मचारी युनियनले अधिवेशन पनि गर्न नसकेर भौतारिरहेको छ भने एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले अधिवेशन सम्पन्न गरी वनभोजमा रमाउँदै छ ।
उता, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरुको संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन भने दुई संगठनबीच पेचुवामा परेर निदाइरहेको छ । संगठनको काममा निदाए तापनि पार्टीलाई देखाउनकै लागि चैत १ गते शनिबार गोदावरीमा वनभोज आयो्जना गरेर हासीमजाक गरिरहेको देखिन्थ्यो ।
त्यसैगरी एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश समितिले चैत १ गते शनिबार गोकर्णको सहीद पार्कमा वनभोज आयोजना गरेर रमाइलो गरिरहेको थियो । सो वनभोज कार्यक्रमको प्रमुख अतिथि रहेका थिए, भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी । त्यसैगरी अतिथिहरुमा संगठनकै पदाधिकारीहरु रहेका थिए ।
सत्ता साझेदार ठूला दलहरु सधैं सत्ता र सम्पत्तिमा लुछाचुँडी गरिरहने कर्मचारीहरु भने कहिले अधिवेशन, कहिले वनभोज, कहिले भेला, गोष्ठी, सेमिनार र देश दौडामा हिड्ने गरेका छन् । नेता, मन्त्री र कर्मचारीहरुको यस्तो रवैयाले गर्दा सर्वसाधारण सेवाग्राहीले मार खेप्नुपरिहेको छ । सेवाग्राहीले मार मात्रै खुप्नुपरेको छैन, करछली, भ्रष्टाचार, विकृति र विसंगति पनि त्यत्तिकै मौलाएर गएको छ । यता, कांग्रेस र एमालेको गठबन्धनमा सरकार बनेको पनि आठ महिना नाघिसकेको छ ।
आठ महिनाको अवधिमा कांग्रेस र एमाले सरकारले सर्वसाधारण जनताले अनुभूति देखिने गरी विकास निर्माण र आर्थिक समृद्धिको लागि एउटा पनि काम नगरेको भन्दै राजावादीको नाममा भुरेटाकुरे पार्टीहरु मिलेर सरकारविरुद्ध सडक तताइरहेका छन् । एकातिर सत्तासिन दलहरुको यस्तो अवस्था छ भने अर्कोति सरकारविरुद्ध जनसमर्थन बढिरहेको छ । त्यसले गर्दा पनि पुराना ठूला दलहरुलाई ‘मिसन ८४’ अफापसिद्ध हुने देखिन्छ । लोकतान्त्रिक दलहरु यसरी दिनप्रतिदिन अलोकप्रिय हुँदै जानुमा शीर्ष नेताहरुको पदलोलुपता प्रमुख रहने गरेको छ ।

