काठमाडौं । सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएकी हुन् । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । सो संवाद कार्यक्रममा जलवायु सम्बन्धी विषय मात्र नभई पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरुमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तीय समानता लगायतका १२ वटा विषयमा छलफल हुने पनि बताइन् ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री देउवाले तीन सय ५० जना सहभागी हुने बताउनुको साथै सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरुसम्मको उपस्थितिमा ‘जलवायु परिवर्तन: हिमाल र मानवताको भविष्य’भन्ने नारासहित सञ्चालन भइरहेको जानकारी गराएकी छिन् । त्यस्तै, चीन र भारतबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु तथा कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिको जलवायुसम्बन्धी प्रतिनिधिले विशेष सम्बोधन गर्नेछन् ।