काठमाडौं । पछिल्लो समय नेपालीहरु नयाँ वर्ष र शनिवार, चैते दशैं, फागुपूर्णिमा, शिवरात्री, माघे संक्रिन्ती, साउने सक्रान्ति, जनैपूर्णिमा, हरितालिका तीज, वैशाखी पूर्णिमा जस्ता सार्वजनिक विदाका दिनहरुमा पर्व मनाउने नाममा प्रशस्त मात्रामा ठूलो धनराशी खर्च गर्ने गर्दछन् । त्यसमा पारिवारिक तथा साथीभाइसँग घुमघाम र वनभोज गरेर रमाउने पनि त्यत्तिकै छन् ।
तर, सरकारले पिकनिकको लागि उपयुक्त स्थान भनेर उपत्यकाभित्र खडा गरिएका रिसोट र पिकनिक स्पटहरुको राम्रो व्यवस्थापन गर्न सकेको छैन । यस्ता ठाउँमा पिकनिकको लागि भने उपभोक्ता समिति गठन गर्ने, पिकनिकमा जानेहरुसँग पैसा असुल्ने तर सरसफाइ, खानेपानी, शौचालयको व्यवस्था गर्न नसकेको पाइन्छ । स्थानीय सरकारले पनि तिनै मठमन्दिर, पार्क, रिसोट र पिकनिक स्पटहरुलाई आम्दानीको स्रोत बनाउने गरेको छ । तर, स्थानीय सरकारले त्यस्ता आम्दानीका स्रोत मानिएका ठाउँहरुको राम्रो व्यवस्थापन गर्न सकेको छैन । घुमघाम र पिकनिकको लागि उपत्यकाभित्रका त्रिभुवन पार्क, बज्रबाराही, गोदावरी, दक्षिणकाली, सुन्दरीजल, भक्तपुरको निलवाराही, बालाजुको बाइसधारा जस्ता ठाउँलाई लिन सकिन्छ ।
तर, स्थानीय सरकारले आन्तरिक पर्टकहरु रमाउने यस्ता महत्वपूर्ण पार्क र पिकनिक स्पटलाई व्यवस्थित र सुरक्षित बनाउन सकेको छैन । त्यसको उदाहरण लिन सकिन्छ धार्मिक महत्वको दृष्टिले उमाकुण्ड भनेर निचिने गोदावरी पार्कलाई । गोदावरी पार्कमा पिकनिक जानेहरुको सधैं भीड लाग्ने गर्छ । धार्मिक महत्वसँगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोदावरी पिकनिक स्पटलाई स्थानीय सरकारले मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सकेको छैन ।
गोदावरी नगरपालिकाले पनि त्यस्ता मनोरन्जनपूर्ण स्थानहरुको संरक्ष, पर्वद्वन र व्यवस्थापन गर्न सकेको छैन । रिसोट र पिकनिक स्पट आसपासमा कतिपय पुराना र अग्ला रुखहरु भएकाले हावाहुरी चलेको खण्डमा त्यसबाट पु¥याउने क्षतिबारे पनि स्थानीय सरकारले ध्यान दिएको छैन । गोदावरी पिकनिक स्पटमा फराकिलो र रमणीय ठाउँ भए तापनि पर्यटकको लागि उपयुक्त खानेपानी, सरसफाइ तथा सौचालयको व्यवस्थापन गर्न सकेको छैन ।
एकातिर यस्तो अवस्था छ भने अर्कोतिर पिकनिकलाई लक्षित गरी व्यवसायीहरुले खाद्यान्नदेखि बालबालिकाको लागि राखिएका मनोरञ्जनको लागि बिक्रि बितरणमा राखिएका विभिन्न सामग्रीहरु महंगो र गुणस्तरहिन हुने गरेको पाइन्छ । व्यापारीहरुलेपनि चर्को मूल्य असुलीरहेका छन् । त्यस्ता सम्वेदनशील विषयमा न त स्थानीय सरकारले ध्यान दिएको छ, न त उपभोक्ता मञ्च, खाद्यगुण नियन्त्रण विभागले नै ध्यान दिएको छ । पिकनिक स्पटमा ध्रुमपान तथा मध्यपान पनि महंगो शुल्कमा विक्रीवितरण गरिएको पाइन्छ । धुम्रपान र मद्यपानहरु कतिपय नक्कली र गुणस्तरहिन विक्रीवितरण गर्ने गरिएको छ । त्यसमा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

