काठमाडौं । पूर्व राजा बोक्दा पनि राप्रपामा लफडा सिर्जना भएको छ । ज्ञानेन्द्रले कमल थापा, राजेन्द्र लिङ्देन भन्दा पञ्चायतका खम्बा नवराज सुवेदीलाई विश्वास गर्दा राप्रपामा लफडा भएको हो । जुन घरमा एकै मुद्दामा एकरूपता छैन, त्यो घरमा शान्ति हुँदैन । राजावादी राप्रपा भित्र गणतन्त्रवादी पनि छन् । संघीयता खारेज गर्ने भनेको छ, तर प्रदेश संसदमा चुनाव लडेको पनि छ । यो राप्रपाभित्र देखिएको द्वैध चरित्र हो । संघीयता खारेज गर्नुपर्छ भन्नेले केन्द्रमा मात्र सांसद उठाउनुपथ्र्यो ।
संविधानको विरोध गर्दा त्यसको भित्री पाटोको ख्याल गर्नुपथ्र्यो । तर राप्रपाले गणतन्त्रभित्र संवैधानिक राजा खोजेको हो । जुन कुरा विद्यमान ऐन कानुनले दिँदैन । सरकारमा जाने मन्त्री पनि हुने तर व्यवस्थाको विरोध गर्दा ख्याल नगर्नेहरुलाई कस्तो प्रशिक्षण दिनुपर्ने हो ? पूर्व राजाले अराजक जत्थाबाट आफ्नो जयजयकार गराउँदा मेरा पछाडि जनता छन् भन्ने सोचेका छन् भने त्यो गल्ती हो ।
किनकि पूर्वपञ्चहरू नै एक ठाउँमा नहुँदा राजा ल्याउने एजेण्डा सफल हुँदैन ।राप्रपाका कमल थापाले गीता छोएर एक बनाएको पार्टी एकता महाधिवेशन सम्पन्न भएपछि फुटेको हो । पशुपति र डा. प्रकाशचन्द्र फरक पार्टीबाट एकीकृत भए । उनीहरूले लिङ्देन निर्वाचित हुँदा साथ दिए । तर कमलले मतदानको कदर गरेनन् । आफूले जित्दा ठिक, अर्काले जित्दा बेठिक ठान्ने घमण्ड कमल थापामा देखियो । त्यसैकारण उनी एमालेको सूर्यमा रमाए । गाई त्यागे, चुनाव जित्न एमालेको सहारा खोजेका कमललाई जस्तै राजेन्द्र, धवल विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, ध्रुव प्रधान, राजेन्द्र सिंह, दीपक बोहरालाई एमालेको साथ थियो ।
आज एमाले दुश्मन भयो, प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा र रास्वपालाई उपप्रधानसहित प्रचण्ड नेतृत्वको सरकारमा पनि पठाएकै हुन् । आज राप्रपा प्रधानमन्त्री ओलीविरुद्ध उभियो । ओलीको तमासाले राप्रपा र राजावादी जागेका हुन् । जो आफ्नै लागि मात्र सोच्छ, त्यसले जनताकै साथ पाउला सहयोग पाउँदैन । आवश्यक अवस्थामा सहयोग हुँदैन भने राप्रपाले पूर्व राजा ज्ञानेन्द्र बोक्नुको अर्थ रहँदैन । राप्रपाको लफडा चम्केर झन् खराब हुन्छ ।

