काठमाडौं । दक्षिण कोरियामा डढेलोमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको जानकारी दिएका छन् । यो डढेलो गत शुक्रबार सान्चेओङ काउन्टीबाट सुरु भएको थियो । हालसम्म यो थप ६ वटा काउन्टीमा फैलिसकेको छ । तीव्र र सुक्खा हावाको कारण यो अझ फैलिरहेको छ ।
बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरेको हेलिकप्टर दुर्घटना हुँदा एक जना पाइलटको निधन भएको थियो । कम्तीमा ३ जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन् । डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ ।
डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठुलो खतरा बनेको छ । उइसोङ सहरमा आगलागीका कारण सन् ६१८ मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ । यो सो प्रान्तको सबैभन्दा ठुलो मन्दिरमध्ये एक थियो ।


