काठमाडौं । यही चैत ७ गतेदेखि देशैभरि एसईईको परीक्षा सुरु भएको छ । सो एसईई परीक्षामा ५ लाख १४ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । पाँच लाखमाथि परीक्षार्थी सहभागि भए तापनि पास कति हुने हुन् भन्ने एकिन छैन । तर, वर्षैपिच्छे राष्ट्रिय परीक्षा बोर्डले लिने इसईई परीक्षाबाट ४ लाखभन्दा बढी विद्यार्थीहरुले एसईई पास गरे तापनि ती एसईई पास भएका अधिकांश विद्यार्थीहरु सरकारी क्याम्पस नपढेर निजी कलेजमा पढ्ने गरेका छन् । निजी कलेजबाट १२ पास भएपछि अधिकांश विद्यार्थीहरु रोजीरोटीसँगै उच्च शिक्षा हासिल गर्नको लागि विदेश पलायन हुने गरेका छन् । सरकारी क्याम्पसमा पढ्ने उपयुक्त वातावरण र देशमा रोजगारीको व्यवस्था सरकारले गर्न नसक्दा अधिकांश विद्यार्थीहरु विदेशिन बाध्य भएका छन् ।
पछिल्लो समय शिक्षा मन्त्रालय शिक्षामा गुणस्तरभन्दा संख्यात्मक वृद्धिलाई ध्यान दिन थालेको छ । त्यसले गर्दा पनि अधिकांश विद्यार्थीको भविष्य अन्धकार भएको छ । एकातिर एसईई पास भएको प्रमाणपत्र दिइएको छ, अर्कोतिर त्यो प्रमाणपत्रले कक्षा ११ मा भर्ना नहुने समस्या त्यत्तिकै छ । सरकारले ल्याएको एसईई दिएका सबै विद्यार्थीलाई पास गराउने नीतिले गर्दा निजी कलेजहरु मालामाल हुने गरेका छन् । किन कि एसईईको रिजल्ट आउनासथ निजी सञ्चालन गर्ने र शैक्षिक माफियाहरुले तामझामका साथ विज्ञापन गरेर विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने गर्दछन् ।
त्यसको लागि विभिन्न व्यक्तिहरुलाई भनसुन गर्ने यो कलेजमा गुणस्तरीय पढाइ हुनुका साथै सुविधायोग्य कलेज भनेर प्रचार गरी नयाँ विद्यार्थी भर्ना गर्दा महंगो शुल्क असुल्ने गर्दछन् । शिक्षा मन्त्रालयले निजी रुपमा सञ्चालित कलेजहरुले बाहिर विज्ञापनमा हल्ला गरेजस्तो गुणस्तरयुक्त शिक्षा र सेवासुविधा दिएका छन् कि छैनन् भनेर अनुगमन गर्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयका कर्मचारीसमेत निजी कलेजका सञ्चालकहरुसँग मिलेमतो गरेर कमाउधन्दा चलाउने गरेका छन् । त्यसतर्फ सरकारले ध्यान दिएको छैन । शिक्षाको नाममा दाताले दिएको सहयोग समेत शिक्षा मन्त्रालय र परीक्षा बोर्डका कर्मचारीहरुले मिलेमतो गरी हिनामिना गरिरहेका छन् ।
एकातिर यस्तो अवस्था छ भनेको अर्कातिर दुरदराजका अधिकांश सरकारी विद्यालयहरुमा विद्यार्थीभन्दा शिक्षक र कर्मचारी बढी हुने गरेका थुप्रै उदाहरण छन् । त्यस्ता विद्यालयहरुबाट एसईई दिने विद्यार्थी पनि एकदमै कम छन् । विद्यार्थी कम भएपछि पढाइ पनि नहुने र शिक्षकहरु पनि राजनीति र अन्य पेशा गरेर दिन बिताउने गर्दछन् । त्यसले गर्दा पढाइ नभएपछि विद्यार्थी सहरबजारका निजी स्कुलमा पढ्न जाने गरेका छन् ।
पहाडी र दूरदराजका अधिकांश विद्यालयहरु विद्यार्थीविहीन हुन थालेका छन् । त्यस्ता विद्यालयका शिक्षकहरु तास खेल्ने, दिउँदै मदिराले लठ्ठिने, तलबभत्ता बुझ्ने, राजनीतिदेखि व्यापार, व्यवसायमा लाग्ने गरेर दिन बिताइरहेका छन् । यसलाई हेर्दा एसईईको परीक्षा शिक्षामा लगानी, बालुवामा पानी भएको आमसर्वसाधारणको बुझाइ छ ।

