स्ववियु निर्वाचनः सत्तापक्षभन्दा प्रतिपक्ष बलियो

English Featured राजनीति समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु) को निर्वाचन चैत ५ गते सम्पन्न भएको थियो । कतिपय क्याम्पसहरुमा विभिन्न दल निकट विद्यार्थीबीच विवाद हुँदा निर्वाचन स्थगित हुन पुगेको थियो । सो स्थगित निर्वाचन विद्यार्थीबीच सहमति भएको खण्डमा चैत १६ गतेसम्म सम्पन्न गर्ने भनिएको छ । २०७९ सालमा ३ सय ५५ क्याम्पसमा निर्वाचन हुँदा अनेरास्ववियुले १ सय ३३ क्याम्पसमा जित हासिल गरेको थियो । त्यसैगरी नेविसंघले ८९ र क्रान्तिकारीले ६५ स्थानमा जित हासिल गरेका थिए ।

तर, २०८१ चैत ५ गते २ सय ९३ क्याम्पसमा निर्वाचन हुँदा नेविसंघले १ सय १३, अनेरा स्व.वि.यु.ले ९१ र क्रान्तिकारीले ८१ स्थानमा जित हासिल गरेका छन् । यो निर्वाचनमा नेविसंघ पहिलो भए तापनि महत्वपूर्ण क्याम्पसहरु हात पार्न सकेको छैन ।

कतिपय क्याम्पसहरुमा ने.वि.सं. र अनेरास्ववियुबीच भागबन्डा नमिल्दा निर्वाचन स्थगित भएको छ । स्थगित भएका क्याम्पसहरुमा चैत १६ गतेसम्ममा निर्वाचन सम्पन्न गर्ने भनिएको छ । यदि स्थगित भएका कम्पसहरुमा १६ गते निर्वाचन सम्पन्न भएको खण्डमा अखिल, नेविसंघ र क्रान्तिकारीमध्ये कसले बढी सिटमा जित हासिल गर्ने हुन् त्यो निश्चित छैन ।

तर, अहिले आएर विगतमा गुमाएका सिटहरु नेविसंघले हात पारेको छ । अनेरास्ववियुले पहिला जितेका केही क्याम्पसहरु गुमाउन पुगेको छ । उता, क्रान्तिकारीले २०७९ सालमा ६५ ठाउँमा जितेको थियो भने यसपटक सयभन्दा बढी क्याम्पसमा जित हासिल गर्ने देखिन्छ । एकातिर कांग्रेस र एमालेको सत्तागठबन्धन अर्कोतिर प्रतिपक्ष दल माओवादी निकट विद्यार्थीहरुको जित बढी हुनुले जनमत सत्ताको विपक्षमा देखिएको छ । त्यस्तै पहिला जितेका विभिन्न ठूला क्याम्पसहरु नेविंघले गुमाउँदै आएको छ ।

अमृत साइन्स क्याम्पसमा २०५३ सालको स्ववियु निर्वाचनमा नेविंघको तर्फबाट प्रदीप पौडेलले सभापति जितेका थिए । त्यसयतादेखि अमृत साइन्स क्याम्पसमा नेविसंघले जित हासिल गर्न सकेको छैन । यसपालिको स्ववियु निर्वाचनमा पनि नेविसंघले बढी सिटमा जित हासिल गरे तापनि ठूला क्याम्पसहरु गुमाउने देखिन्छ । चुनाव स्थगित भएका क्याम्पसहरुमा पनि नेविसंघले जित्ने सम्भावना कम रहेको छ । यसपालिको स्ववियू निर्वाचनमा क्रान्तिकारीलाई भने नाफा हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *