काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी वर्ष नेपाल प्रहरीतर्फको बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन् ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रूपमा बढी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ । उनले यसअघिका वर्षहरूमा ८ देखि ९ महिनासम्मका लागि तलब, पोसाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको बताएका छन् ।
वर्षभरका लागि तलब, पोसाक, रासनको एकमुष्ट बजेट विनियोजन गरिएको उनको दाबी छ । अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय, ल एन्ड अर्डर मेण्टन गर्न, शान्ति सुरक्षा कायम गर्न, आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुन नदिने बताएका छन् ।

