काठमाडौं । ‘कडक चिया क्याफे’मा गैरकानुनी काम हुने गरेको गुनासोपछि छानबिन गर्दा संरचना नै अवैध ढंगले निर्माण भएको पाइएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
बुद्धनगरको सुवर्ण मार्गस्थित ‘कडक चिया क्याफे’मा महानगर प्रहरीले शुक्रबार डोजर चलाएर संरचना भत्काएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० मा पर्ने चिया क्याफेमा पटक पटक झगडाका साथै गैरकानुनी कार्य हुने गरेको बुद्धनगर टोलबासीको गुनासो थियो ।सोही आधारमा १० असारमा क्याफेमा दिउँसै युवाहरूले मादक पदार्थ सेवन गरेर झगडा गर्दा रक्तपातपूर्ण अवस्था बनेपछि वडा सदस्य सतिश तण्डुकारसहितका स्थानीयले प्रहरी बोलासँगै युवाहरू पक्राउ परेका थिए । युवायुवतीको भीड नै लाग्ने गरेको चिया, चुरोट, रक्सी खाने गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ ।
नगर प्रहरीको कमाण्डमा बिस्तृत रुपमा छानबिन गर्दा संरचना नै अवैध ढंगले निर्माण भएको खुलेको महानगरको अनुमति बिना र नक्सा पास बिना नै अस्थायी संरचना बनाएर कडक चिया सञ्चालन हुँदै आएको पाइएको छ ।
त्यसअघि पनि दिउँसैदेखि मध्यरातसम्म युवाहरूले हो–हल्ला गर्ने, झगडा गर्ने जस्ता घटना हुने गरेको स्थानीयको भनाइ छ । पटक पटक स्थानीयबासीलाई डिस्टर्ब गर्ने तथा गैरकानुनी काम हुने गरेको गुनासोपछि वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीसमक्ष बुद्धनगर टोल सुधार समितिका अध्यक्ष प्रियनाथ खनालको टोलीले ११ असारमा शान्ति कायम गर्न माग गर्दै निवेदन दिएका थिए ।

