वैरोमा कर्मचारीको सेटिङ धन्दा फास्टाउँदै

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै वैदेशिक रोजगार विभागमा ठगिका घटनाहरु बढिरहेका छन् । तर, सो ठगीका घटना बढेपछि उजुरी उपरको सुनुवाइ भने भएको पाइँदैन । एकातिर वैदेशिक रोजगार विभागका कर्मचारी, म्यानपावर कम्पनीका सञ्चालक र विचौलियाहरुको मेलेमतोमा ठगीका मुद्दालाई ओझेलमा पार्न सेटिङ हुन्छ भने अर्कोतिर अनुसन्धान अधिकृत र विचौलियाबीचको सेटिङ हुने गर्दछ । कतिपय ठगीका मुद्दाहरु त प्रहरी, अनुसन्धान अकृति र विचौलियाको मिलेमतोमा कमजोर बनाउने गरेको पीडितहरुको गुनासो छ ।

हाल वैदेशिक रोजगारी सम्बन्धी ठगीका मुद्दाहरु देशैभरिबाट ३७ हजारभन्दा बढी रहेका छन् । त्यसमध्य ३६ हजार मुद्दाहरु त वैदेशिक रोजगार विभागमा अलपत्र परिराखेका छन् । त्योसँगै दिनप्रतिदिन ठगीका नयाँ मुद्दा दर्ता गर्नेको भीड त्यत्तिकै लागेको छ । मुद्दा दिनेहरुको भीड बढिरहँदा उनीहरुको सुनुवाई भएको अवस्था छैन । यीमध्य धेरैजसो अनलाइन कारोबारमा ठगिने गरेका छन् । कतिपय विदेशी विचौलियाहरु नेपालमै आएर काठमाडौं, पोखरा, चितवनलगायत विभिन्न जिल्लाहरुमा बसेर अनलाइनबाट नक्कली डिमान्ड लेटर तयार गरी ठग्ने काम गरिरहेका छन् । स्वदेशी तथा विदेशी विचौलियाहरुले सर्वसाधारण नेपालीलाई ठगिरहँदा वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईले कारबाही गर्न सकेका छैनन् ।

उल्टै महानिर्देशक भट्टराई र सचिवको डिजाइन अनुसार शाखा अधिकृत राजकिशोर शाह र निर्देशक टिकाराम ढकालको टिमले म्यानपावरहरुको अनुगमन गर्ने नाममा करोडौं पैसा उठाउँदै आएका छन् । अर्कोतर्फ आर्थिक वर्षको अन्त्य हुन थालेपछि म्यानपावर कम्पनी नवीकरण गर्ने नाममा दर, रेटनै तोकेर असुली धन्दा चलाउन थालेका छन् । विभागका निर्देशक श्रीधर केसीलाई अन्यत्र सरुवा गरेर टिकाराम ढकाल र राजकिशोर शाह महानिर्देशक भट्टराईको मिलेमतोमा अर्बौं पैसा संकलन गर्ने गरेको स्रातले उल्लेख गरेको छ । तर, महानिर्देशक भट्टराईले ठगीका मुद्दामा ध्यान दिएका छैनन् ।

उल्टै अनुसन्धान अधिकृतको कमीले गर्दा वैदेशिक रोजगारीमा हुने ठगीको मुद्दा हेर्न नसकिएको भन्दै पन्छिने काम गरेका छन् । महानिर्देशक भट्टराईले अनुसन्धान अधिकृत र विचौलियाहरुसँग मिलेमतो गरेर ठगीका मुद्दा कमजोर बनाएर कमाउधन्दा चलाउने काम गर्दै आएको पीडितहरुको भनाइ छ । कतिपय म्यानपावर सञ्चालकहरुले त विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्दार गर्नु त परै जाओस् उल्टै म्यानपावरविरुद्ध मुद्दा हालेको खण्डमा विदेशी पार्टरहरुसँग मिलेर जीवन नै बन्धक बनाइदिउँला भनेर नेपालबाट थर्काउने काम गर्दै आएका छन् ।

म्यानपावर सञ्चालकहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई स्वदेश र विदेशमा गेष्ट हाउस सञ्चालन गरेर ठग्ने काम गर्दै आएका छन् । कामदारलाई मात्रै ठगेका छैनन् नेपालको पैसा विदेश लगेर व्यापार गर्ने काम गरिरहेका छन् । म्यानपावर कम्पनीहरुले सर्वसाधारणलाई ठग्नुका साथै राजश्व छली गर्ने काम पनि गर्दै आएका छन् । तर, राज्यका सम्बन्धित निकायहरुले यतातिर ध्यान दिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *