भिजिट भिसा धमिलो पानीमा माछा मार्दै

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री रमेश लेखक भिजिट भिसा काण्डमा मुछिएपछि छानबिनको घेरामा परेका छन् । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् अवरोधलाई निरन्तरता दिएपछि मन्त्री लेखक छानविनको घेरामा परेका हुन् । उनी छानविनको घरामा परे तापनि उन्मुक्ति पाउने देखिन्छ । विगतका गृहमन्त्रीको पालादेखि भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाइँदै आइएको थियो । पहिलादेखि भिजिट भिसामा विदेश पाठउने धन्दा चलिरहे तापनि त्यसलाई गुपचुप पारिने गरिन्थ्यो ।

यसपटक भिजिट भिसा काण्डमा गृहमन्त्री लेखकलाई मात्रै बढी दोषी देखाइएको छ । तर, भिजिट भिसामा नेपालीलाई विदेश पठाउँदा वैदेशिक रोजगार विभाग, म्यानपावर कम्पनी, एयरलाइन्स कम्पनी, अध्यागमन कार्यालय, सुरक्षा निकाय र गृहमन्त्रालयका कर्मचारीहरुको सेटिङ हुने गरेको थियो । यसपटक यी निकायको मिलेमतोमा हुने भिजिट भिसाको सेटिङमा अन्यलाई दोषी नदेखाई खाली गृहमन्त्री लेखकमाथि मात्रै प्रश्न उठाइएको छ । सम्बन्धित निकायका व्यक्तिहरुलाई चोख्याएर गृहमन्त्रीको राजीनामाको रटान दिएर संसद अवरोध गर्नु त्योजति लज्जास्पद विषय अरु केही होइन । उता भिजिट भिसा काण्डमा गृहमन्त्रीसँगै वैदेशिक रोजगार विभाग, एयरलाइन्स कम्पनी, म्यानपावर कम्पनी, एयरपोर्ट अध्यागमन कार्यालयका कर्मचारी, सुरक्षा निकायलगायतका व्यक्तिहरुलाई पनि छानविनको दायरामा ल्याइएको छैन ।

जब कि त्यस्ता निकायका व्यक्तिहरु नेपालको एयरपोर्टबाट नेपालीलाई विदेश पठाउन नपाउँदा भारतबाटसमेत भिजिट भिसामा विदेश पठाउने गरिँदै आइएको थियो । सम्बन्धित निकायका सबै व्यक्तिहरुलाई गृहमन्त्रीसँगै छानविनमा ल्याइएको थियो भने भिजिट भिसा काण्डका वास्तविक दोषीहरु पत्ता लाग्ने थिए । तर, गृहमन्त्री लेखकलाई मात्रै दोषी देखाएर राजीनामाको रटान दिनु भनेको भिजिट भिसामार्फत विेदश पठाउने धन्दा झन् फस्टाउनु हो । उता, भिजिट भिसामा विदेश जानेहरु अलपत्र परेसँगै उनीहरुको पैसा पनि त्यत्तिकै खर्च भइरहेको छ ।

तर, सांसदहरु तलब भत्ता खाएर संसद् अवरुद्ध गरी दिन बिताइरहेका छन् । त्यसैगरी भिजिट भिसामा विदेश पाठउने मानव तस्करहरु भने यहीं मौका छोपेर धमिलो पानीमा ‘माछा’ मार्ने काम गरिरहेका छन् । नेपालबाट सम्भव नहुँदा भारतबाटसमेत भिजिट भिषामा विदेश पठाइरहेका छन् । उता, एयरपोर्ट अध्यागन कार्यालयका कर्मचारीहरु कारबाहीमा परिने डरले अन्यत्र सरुवा भएर जानको लागि शक्तिकेन्द्रमा दौडधूप गरिराखेका छन् । वैदेशिक रोजगार भिवागका कर्मचारी, म्यानपावर कम्पनी, सुरक्षा निकाय र एयरलाइन्सका कर्मचारीहरुले सेटिङमा कमाउधन्दा चलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *