काठमाडौं । म्याग्दीका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको जानकारी दिएको हो । एक हजार दुई सय ८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।
आयोजनामार्फत तीन हजार एक सय १९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन् । प्रदेश सरकारका ३६ वटा योजनाका लागि ६ करोड ९८ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा ६ करोड ७० लाख ९५ हजार रुपैयाँ खर्च भएको छ ।
सङ्घीय सरकारका पाँचवटा योजनाका लागि ५१ लाख बजेट प्राप्त भएकामा तीनवटा योजना कार्यान्वयन र ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

