काठमाडौं । अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको प्यालेस्टाइन सम्बन्धी निर्णयलाई कडा रूपमा अस्वीकार गरेको छ ।
अमेरिकाले म्याक्रोनको निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिन्छ भनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा,‘संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने इमानुएल म्याक्रोनको योजनालाई अमेरिकाले कडा रूपमा अस्वीकार गर्दछ ।’भनि लेखेका छन् ।
उनले अगाडी भनेका छन् ,‘गैरजिम्मेवार निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिन्छ र अशान्ति बढाउनेछ । यो अक्टोबर ७ को आक्रमणका पीडितहरूको अनुहारमा थप्पड जस्तै हो ।’ राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार देशले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने घोषणा गरेका थिए । राष्ट्रपति म्याक्रोनले यसको औपचारिक घोषणा न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिने बताएका छन् ।
प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोनको निर्णयको स्वागत गरे, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै आतंकवादलाई पुरस्कृत गर्नु बराबर भएको टिप्पणी गरेका छन् ।

