साउन महिना लागेसँगै धर्म, विज्ञानका अनुसार अत्यन्तै महत्वपूर्ण महिनाको रुपमा मानिन्छ । साउन महिनालाई हरियो महिनाको साथसाथै शाकाहारी महिना भनेर पनि चिनिन्छ ।
साउन महिनाभरि माछा, मासु लगायतका मांशाहारी खानालाई त्याग्नु पछाडिको कारण भनेको यो महिना पशुहरूको प्रजनन्को समय भएकोले गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हो, भन्ने सदियौंदेखि दन्ते कथाको रुपमा मानिँदै आएको विश्वास रहेकोले विशेषगरि साउन महिना मांसाहारी खाना बार्ने गर्दछन् । अर्कोतर्फ पशु प्रजननको समयमा हामीले जीवलाई नस्ट ग¥यौं भने अर्को वर्षमा उत्पादन घट्छ र बिस्तारै लोप हुने सम्भावना हुन्छ । त्यस्तै हाम्रो नेपाली समाजमा प्रजनन् समयको कुनै पनि जीवजन्तुलाई खाने चलन छैन । खायो भने पाप लाग्ने विश्वास छ । त्यसैले पनि साउन महिनालाई शाकाहारी महिनाको रुपमा मान्दै आइरहेका छौं हामीले ।
साउन भगवान शिवको महिना पनि हो र सोमबार मनपर्ने दिन । यही अवसरमा महादेवका उपासकहरु व्रत बस्ने र चोखो खाने चलन छ । पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाले यसलाई बढी महत्वका रुपमा लिने गर्छन् ।
त्यसैले साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेको छ । विज्ञानको दृष्टिकोणले हेर्ने हो, भने साउन महिना वर्षातको मौसम भएकोले बादल लागेर यतिबेला हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन यसले गर्दा हाम्रो पाचन यन्त्र कमजोर हुनेभएकोले मासुजन्य एवं मसलेदार खानेकुरा सजिलै पच्दैन । त्यस्ता खानेकुरामा संक्रमणको भयपनि रहन्छ ।बर्षातको मौसममा पशुहरूलाई अनेकौं किसिमका संक्रामक रोग लाग्ने गर्छ त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ । त्यही कारण यसबेला सात्विक भोजन एवं हल्का, पच्ने खालको खानेकुरा खानुपर्ने हुन्छ ।
साउन महिनामा प्राय मानिसहरु व्रत बस्ने गर्छन् । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा विशेषगरी खीर लगायत दुधजन्य परिकार बढी खाने गरिन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटो र रात लामो हुन थाल्छन् जुन क्रम माघेसंक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।
साउन महिनालाई पवित्र महिनाका रूपमा लिने सनातन परम्परा छ । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू निकै शुभ मानिन्छन् ।सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ । यीमध्ये पनि नेपालमा साउन महिनालाई धार्मिक क्रियाकलापका लागि अत्युत्तम मान्ने परम्परा रहेको छ ।
साउने सक्रान्तिमा लुतो फाल्ने, खिर खाने चलन छ । यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । वर्षा याम सुरु भएपछि रोपाई गर्दा पानीमा खेल्ने भएकाले पानीजन्य रोग लाग्ने गर्छ । त्यस्तो पानीजन्य रोगबाट मुक्ति मिलोस् भनेर साउने सक्रान्तिमा विभिन्न औषधिजन्य जडीबुटी आगोमा बालेर अगुल्टो बनाई घर वरपर बाल्ने चलन छ । जसलाई लुतो फाल्ने भनिन्थ्यो ।
साउनको महिनामा व्रत बस्नुको कारणः
साउने व्रत हाम्रो स्वास्थ्यको लागि होे एकदमै लाभदायिक मानिन्छ। किनभने वर्षायाममा हाम्रो पाचन प्रणाली कमजोर हुन्छ । विभिन्न खानपानका कारण पेटमा जीवाणु फैलिने र झाडापखालालगात विभिन्न खालका रोगहरु जस्तै हैजा, हेपाटाइटिस, ग्यास्टाइटिस आदि देखा पर्छन् । वर्षा र ओसिलो मौसमका कारण यस समयमा किटाणुहरु दोब्बर फैलिने सम्भावना हुन्छ । यो मौसम वा महिनामा खानपान चाँडै बिग्रने गर्छ । त्यसैले यस समयमा खानपानमा ख्याल गर्नु अति जरुरी छ । फेरि असार र साउन महिनामा नेपाली किसानहरुले अधिक समय खेतबारीमा बिताउने हुँदा शारीरिक श्रम बढी हुन्छ । त्यसैले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यस बेला उपवास बस्दा शरीरलाई फाइदा हुन्छ ।
हामी खेती किसानमा आश्रित छौं । यतिबेला भनेको आन्नबाली लगाउने बेला, घरमा भएको अन्नबाली रित्तिने बेला पनि हो । यसबेला खाद्य संकटलाई पनि मध्यनजर गरेर यो व्रत बस्ने चलन भएको पनि नेपाली समाजले विश्वास गर्दै आइरहेको छ ।
साउने महिनामा मेहेन्दी र रंगको महत्वः
सर्वत्र हरियाली, रंगविरंगी फूल, सप्तरंगी इन्द्रेणीको मौसम पनि हो यो । प्रकृतिको यहि सप्तरंगी पृष्टभूमीसँग मिल्नेगरी महिलाहरु साउनमा हरियो, रातो र पहेंलो रंगको कपडा, चुरामा, यी तीन रंगको मिश्रणले आफु सजिने गर्दछन् ।
साउनमा लगाइने यस्तो रंग अर्थपूर्ण छ । हरियो रंगलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको र पहेंलोलाई पवित्रताको प्रतिक मानिन्छ ।ज्योतिस शास्त्र अनुसार साउनमा हरियो रंग बुधबाट प्रभावित हुने गर्छ । त्यसैले बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्छ भन्ने मान्यता रहेको छ ।
चुरा, पोते, मेहेन्दी लगाउनुको सामाजिक महत्व पनि छ । खासगरी अन्नवाली लगाइसकेपछिको यो फुर्सदिलो समयमा शृंगारको छुटै महत्व हुन्छ । हातमा लगाइने प्राकृतिक मेहेन्दीको औषधीय गुण पनि हुन्छ । यसले हातलाई आकर्षक देखाउने मात्र नभई, वर्षायाम शुरु भएपछि रोपाईं गर्दा पानीमा खेल्ने भएकोले पानीजन्य रोग लाग्ने गर्छ । त्यस्तो पानीजन्य रोगबाट मुक्ति मिलोस् र चोटपटक पनि निको होस् भनेर मेहेन्दी लगाइने गरिन्छ ।

